Friday 19th December 2025

इन्डोनेसियामा भूकम्पको कारण मर्नेको संख्या ८३२ पुग्यो, १ हजार नाग्ने अनुमान


तितोपाटी – इन्डोनेसियाको तटीय क्षेत्रमा गएको शक्तिशाली भूकम्पपछिको सुनामीका कारण मृत्यु हुनेको संख्या ८ सय ३२ पुगेको अधिकारीहरूले जनाएका छन् । इन्डोनेसियाली विपद् व्यवस्थापन निकायले सुरुमा आकलन गरिएको भन्दा निकै ठूलो क्षेत्र प्रभावित भएको जनाएको छ । संस्थाका प्रवक्ता सुटोपो पुर्वो नुग्रोहोले ‘कपितय भग्नावशेषमा अझै ठूलो संख्यामा मानिसहरू फसेको’ जनाएका छन् । इन्डोनेसियाको तटीय क्षेत्रमा शुक्रबार गएको ७.५ म्याग्निच्युडको भूकम्पपछि ६ मिटर अग्ला सुनामीका छालहरूले पालु सहर बगाएको थियो ।

अधिकारीहरूले पालु सहरमा पुरिएका तथा भग्नावशेषमा फसेकाको उद्धार जारी रहेको जनाएका छन् । सुनामीपछि अस्पताल, होटल, किनमेल केन्द्र तथा हजारौं घरहरू क्षतिग्रस्त भएका छन् । अन्तर्राष्ट्रिय रेडक्रसले करिब १६ लाख मानिसहरू प्रत्यक्ष रूपमा प्रभावित भएको जनाएको छ ।

इन्डोनेसियाका उपराष्ट्रपति जुसुफ कल्लाले मृतकको संख्या केही हजार हुन सक्ने जनाए । उनका अनुसार उक्त क्षेत्रमा शक्तिशाली परकम्पहरू गइरहेकाले उद्धारमा कठिनाइ भइरहेको छ ।

राष्ट्रपति जोको विडोडोले पालुले हालसम्मकै विनाशकारी भूकम्प तथा सुनामीको सामना गरेको बताए । उनले मुख्य पर्यटकीय केन्द्र तालिसे सामुद्रिक तट ध्वस्त भएको जनाए ।
सुलावेसी टापु नजिकैको पालु करिब ३ लाख ३५ हजार मानिसहरूको बसोबास रहेको सहर हो । उद्धारकर्मीहरूले हातैले खनेर दुई दर्जन मानिसको उद्धार गरेका जनाइएको छ ।

सुनामीपछि कतिपय स्थानमा अवरुद्ध भएको विद्युत् आपूर्ति जारी नै छ । जसका कारण उद्धार कार्यमा समेत कठिनाइ भएको अधिकारीले जनाएका छन् । पहिरोका कारण पालु सहर जाने मुख्य बाटो अवरुद्ध हुनुका साथै पुलसमेत ध्वस्त भएको छ ।

सहरका विभिन्न स्थानमा राखिएका टेन्टमा घाइतेहरूको उपचार भइरहेको छ । पालुको मुख्य विमानस्थल बन्द भएको छ भने उद्धार शिविरमा बसिरहेका मानिसहरूलाई सेनाले कार्गो जहाजमार्फत राजधानी जाकार्ताबाट लगिएका उद्धार सामग्री बाँडेको छ ।

पटकपटक भूकम्प तथा सुनामीको चपेटामा पर्दै आएको इन्डोनेसियामा यसअघि लोम्बोक टापुमा शृंखलावद्ध भूकम्प गएका थिए । जसका कारण कम्तीमा ५ सय को ज्यान गएको थियो । त्यसैगरी २००४ मा सुमात्रा द्वीपमा गएको भूकम्पपछिको सुनामीका कारण १ लाख २० हजार इन्डोनेसियालीको मृत्यु भएको थियो ।


सम्बन्धित शीर्षकहरु

नेपालको न्यायपालिका पूर्ण रुपमा गुलामी संबैधानिक सँस्था का रुपमा परिणत भईसकेको छ हो भन्ने कुरा केही बर्षका घटनाहरुले प्रष्ट भईसकेको…

हुथीहरूले विगतका वर्षहरूमा संयुक्त राज्य अमेरिका र इजरायलको लागि जासुसी गरेको आरोप लगाउँदै दर्जनौं संयुक्त राष्ट्र संघका कर्मचारी र सहायताकर्मीहरूलाई…

पुनरावेदन अदालतको दोस्रो सर्किटले लागूऔषध तस्करीको आरोपमा चार इरानी नागरिकलाई मृत्युदण्डको सजाय सुनाउने फौजदारी अदालतको फैसलालाई समर्थन गरेको छ ।…

प्रतिकृयाहरू
...