तितोपाटी – तीन महिना भित्र सबै तहको एकता टुंगो लगाउने निर्णय गरेको नेकपाले चार महिना पुग्दासमेत तल्लो तहको एकता अझै मिलाउन सकेको छैन। एकताका लागि गठन भएका कार्यदलले सहमति जुटाउन नसकेपछि प्रदेश, जिल्ला र जनवर्गीय संगठनहरूको एकता थप जटिल र ढिलाइ हुँदै गइरहेको छ। तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रको आन्तरिक विवादका कारण अधिकांश ठाउँमा कार्यदलले सर्वसम्मत रिपोर्ट बुझाउन सकेका छैनन्। अहिले पनि प्रमुख जनवर्गीय संगठनले प्रतिवेदन नै बुझाउन सकेका छैनन्।
एकताका लागि गठन भएका कार्यदलले अधिकांश विवाद मिलाउने र बाँकी कतिपय विषयलाई सचिवालयमार्फत टुंग्याउन सकिने ठानेको नेकपाले सबैतिर विवाद देखिएपछि सचिवालय बैठकमार्फत विवाद टुंग्याउने प्रयास गरेको थियो। सुरुमा भदौ पहिलो साता कार्यदललाई प्रतिवेदन पेश गर्न अन्तिम मिति तोके पनि कार्यदलहरूले प्रतिवेदन बुझाउन नसकेपछि नेकपाले भदौ ८ र ९ गतेका लागि तोकेको स्थायी समिति बैठकसमेत भदौ १८ र १९ लाई तोकेको थियो। त्यसबीचमा पनि सहमति जुटन नसकेपछि स्थायी समिति बैठक बस्न सकेन । एकता प्रक्रियामा सहमति जुटन नसकेपछि अध्यक्ष दाहाल चार दिने भारत भ्रमणमा निस्किए।
दाहाल भारत भ्रमणबाट फर्किएपछि गत बुधबार आन्तरिक विवाद मिलाउन भन्दै सचिवालय बैठक बस्यो । बुधबारको बैठकले निर्णय गर्न नसकेपछि विहिबारका लागि सचिवालय बैठक राखिएको थियो। बिहीबारको बैठकले पनि ठोस निर्णय गर्न नसकेपछि आन्तरिक एकिकरण मिलाउने जिम्मा दुई अध्यक्षलाई दिइएको थियो। एकता टुंग्याउन शुक्रबार दुई अध्यक्ष नयाँ माफदण्ड तयार पार्ने र एकतालाई अन्तिमरूप दिने भने पनि शुक्रबार बैठक नै बसेन।
बिहीबार बसको बैठकले दुई अध्यक्ष बसेर विवादित विषयको टुंगो लगाउने र आवश्यक परे कार्यदलमा रहेका नेताहरूलाई पनि छलफलमा बोलाएर सचिवालयमार्फत विवाद टुंगो लगाउने निर्णय गरेको थियो।
तर दुई अध्यक्षकाबीचमा कुरा हुन नपाउँदै एक जना अध्यक्ष पुष्पकमल दाहाल चार दिने चीन भ्रमणमा गएपछि तत्काललाई एकताको विषय थाती नै रहेको छ। यसबीचमा सचिवालय सदस्य एवं पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठसमेत चीन भ्रमणमा छन् । दाहाल चीनबाट फर्किएलगत्तै प्रधानमन्त्री केपी शर्मा ओली अमेरिका प्रस्थान गर्दैछन्। प्रधानमन्त्री ओली राष्ट्रसंघ महासभामा सहभागी हुन एक साता लामो भ्रमणका लागि अमेरिका जाँन लागेका हुन्। एकता टुंग्याउन धौ धौ परिरहेका बेला शीर्ष नेताको विदेश भ्रमणले एकता प्रक्रिया थप लम्बिने संकेत देखिएको छ।
एकतामा सहमति हुन नसक्नुमा पार्टीका प्रदेश, जिल्ला र जनवर्गीय संगठनमा रहेको पदिय भागबण्डा मुख्य रहेको छ । त्यसै गरि प्रवासमा रहेका अधिकांश वर्गीय संगठनमा एक पक्षले अर्को पक्षलार्इ संकिर्ण नजरले हेर्नु, नेतृत्व गरेका प्रतिनीधिको निर्णायक क्षमता कमजोर हुनु, एउटै पार्टीको कार्यकर्ता हुँ भन्ने भावनाको विकास नहुनु, अापसी समहमति तर्फ लाग्नु भन्दा एकले अर्काको विरूद्धमा लाग्नु जस्ता कारणले सांगठनिक एकतामा ढिलार्इ भएको प्रष्टै बुझ्न सकिन्छ ।
-नागरिकन्यूजबाट