Tuesday 5th May 2026

भदाैरे बाढीले लमजुङमा ३ जनाको ज्यान लियो, ४ अझै बेपत्ता


तितोपाटी – बुधबार दिउँसोको अविरल वर्षापछिको आएको बाढीपहिरोमा परेर लमजुङमा ३ जनाको मृत्यु भएको छ । ४ जना बेपत्ता भएका छन् ।

मर्स्याङ्दी गाउँपालिका–३, तरापु पल्लोटारीमा घर माथिबाट आएको पहिरोबाट जोगिएर भाग्ने क्रममा ६० वर्षीया अतिरुपा थापा र १० वर्षीया सिरस थापाको मृत्यु भएको प्रहरीले जनाएको छ । गम्भीर घाइते उनीहरुलाई उपचारको लागि खुदीस्थित स्वास्थ्य संस्थामा ल्याउने क्रममा बुधबार साँझ ६ बजेतिर निधन भएको डीएसपी यादव ढकालले बताए ।

बाख्रा चराउने क्रममा पहिरोबाट खसेको ढुंगाले लागेर मर्स्याङ्दी गाउँपालिका–४, श्रीचौरकी अन्दाजी ४० वर्षीय विष्णुकली गुरुङको मृत्यु भएको छ । गम्भीर घाइते उनलाई गाउँलेले घर ल्याएको र साँझ ७ बजेतिर मृत्यु भएको स्थानीय पूर्णबहादुर गुरुङले बताए ।

प्रहरीका अनुसार मर्स्याङ्दीमा एक्कासी बढेको बहाबले बगाउँदा बेंसीसहर नगरपालिका ११, रामचोकबेंसीस्थित दोर्दीखोला जलविद्युत आयोजनाको पावरहाउस निर्माणमा खटिएका २ जना युवकलाई मर्स्याङ्दीले बगाएको छ । ठेकेदार कम्पनी रसुवा कन्ट्रक्सन प्रालिमार्फत पावर हाउसको काममा कार्यरत बर्दियाका अन्दाजी ३० वर्षीय बलिराम चौधरी र अन्दाजी २२ वर्षीय लक्ष्मण थारुलाई मर्स्याङ्दीले बगाएको प्रहरीले बताएको छ । बाढीले निर्माणाधिन जलविद्युत आयोजनाहरुमा पनि क्षति पुर्‍याएको प्रवद्र्धक कम्पनीहरुले बताएको छ ।

यस्तै, बेंसीसहर–चामे सडक खण्डको अर्खलेबेंसीदेखि च्याम्चेसम्म पहिरोले अर्खलेबेंसीमा २ जनालाई बगाएको स्थानीयले बताएका छन् । मर्स्याङ्दी गाउँपालिका ३ को अर्खलेबेंसीमा पहिरोले बगाएर घरमा रहेका अन्दाजी ७० वर्षको ललितामाया गुरुङ र जगतगाउँ घर भएका लामा भनिने नामथर खुल्न नसकेका एक वृद्धलाई बाढीले बगाएको स्थानीय जगत गुरुङले बताए ।

उनका अनुसार लामा बाटोमा हिँडिरहेका थिए । उनका अनुसार उक्त ठाउँमा ४ घर रहेकोमा पहिरोले ३ घर बगाएको छ । आमा ७० वर्षीय फूलमाया गुरुङको पहिरोमा परेर खुट्टा भाँचिएको जगतले बताए । बुवा बलराम गुरुङ पनि घाइते छन् । मर्स्याङ्दी गाउँपालिका–४ का वडाअध्यक्ष सुमन गुरुङका अनुसार भारी वर्षाका कारण बेंसीसहर–चामे सडकको अर्खलेबेंसी, काप्रेभीर, रामबजार, स्याँगे लगायत क्षेत्रमा पहिरो जाँदा करीब आधा दर्जन घर बगाएको छ । बीचबीचमा पर्यटक तथा स्थानीय अलपत्र परेको छ ।

स्याँगेस्थित खुसीराम परियारको १५ वटा बाख्रा बगाएको छ । रामबजारमा २ घर बगाएको छ । एउटा ट्रयाक्टर र ३ वटा मोटरसाइकल बगाएको छ । मर्स्याङ्दी गाउँपालिका–६, बाहुनडाँडामा स्थानीयका ४ घर बगाएको प्रहरीले जनाएको छ । अर्खलेबेंसीदेखि स्याँगेसम्म ३ वटा जीप पहिरोमा पुरिएको स्थानीयले बताएका छन् । च्याम्चे नजिकै पहिरो चलेपछि बेंसीसहर आउँदै गरेका मनाङका समानुपातिक संघीय सांसद कर्म घले रोकिएका छन् ।

बेंसीसहरबाट मनाङको चामे जाँदै गरेको अवस्थामा बाढी र पहिरोले अलपत्र परेका चामे गाउँपालिका अध्यक्ष लोकेन्द्र घलेका अनुसार ठाउँठाउँमा बाढी र पहिरोले चक्रीय पदमार्ग घुम्न गएका पर्यटक समेत बाढी र पहिरोले अलपत्र परेका छन् । दायाँबायाँ बाढी र पहिरो चलेपछि उनीहरु बीचमै रोकिएका छन् ।

मर्स्याङ्दी गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले खुदी र मर्स्याङ्दीमा अस्वभाविक रुपमा पानीको बहाव बढेको छ । ५० मेगावाटको माथिल्लो मर्स्याङ्दी ‘ए’ ले ड्यामको ३ वटै ढोका खोलेको स्थानीयले बताएका छन् । प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले एक्कासी आएको बर्षापछिको बाढीपहिरोले लमजुङको विभिन्न ठाउँमा बाढी पहिरो भएको र धनजनको क्षति भएको खबर आएको बताए ।

‘हामी स्थानीयको उद्धारमा खटिएका छौं,’ उनले भने । ठाउँठाउँमा पहिरो गएपछि बेंसीसहर–चामे सडक पूर्णरुपमा अवरुद्ध भएको स्थानीय प्रशासनले जनाएको छ ।


सम्बन्धित शीर्षकहरु

Yaniv Dover को नयाँ अनुसन्धानले आधुनिक डिजिटल युगको एउटा गहिरो वास्तविकता उजागर गर्छ— आजको संसारमा मानिसहरू केवल आफ्नै अनुभवबाट होइन,…

सरकारले अघि बढाएको ‘केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३’ राष्ट्रपतिबाट जारी भएसँगै निजामती सेवाभित्र रहेको ट्रेड युनियन व्यवस्थाको औपचारिक…

नेपाली दूतावास कुवेतले हिँजो २ मे २०२६ शनिबारका दिन दूतावासको सभा हलमा "श्रम तथा वित्तीय सचेतना" विषयक छलफल  कार्यक्रम सम्पन्न…

प्रतिकृयाहरू
...