Friday 19th June 2026

पोखराको बेगनासमा तीजको दर खान गएकाहरू चढेको डुंगा डुब्यो, ८ जनाको ज्यान गयो, २ को उद्दार


तितोपाटी – बेगनासतालमा शनिबार डुंगा दुर्घटना हुँदा बेपत्ता भएका ६ जनाको शव भेटिएको छ । यससँगै दुर्घटनामा मृत्यु हुनेको संख्या ८ पुगेको छ । बेगनासा कमलनाथ कँडेलको घरमा तीजको दर खान गएका आफन्तहरु चढेको डुंगा डुबेको थियो ।

बेपत्ता ५ वर्षीय प्राचीन पौडेल, १७ वर्षीया मनिशा बजगाईं, ८ वर्षीय शिव खनाल, ७ वर्षीय शंकर खनाल र ४ वर्षीय रञ्जित गैरको शव आइतबार बिहान भेटिएको हो । ३२ वर्षीय रवी खनालको आइतबार दिउँसो शव फेला परेको छ ।

घटनापछि उद्दार गरि उपचार गर्न पठाइएका पोखरा–२८ की कृष्णकुमारी बजगाईंको लेखनाथ सामुदायिक अस्पतालमा र तनहुँ भीमादकी जमुना गैरेको पश्चिमाञ्चलकी क्षेत्रीय अस्पताल पोखरामा शनिबारै उपचारको क्रममा निधन भएको थियो ।

बेपत्ता सबैको शव भेटिएको कास्की प्रहरी प्रवक्ता डीएसपी रवीन्द्रमान गुरुङले जानकारी दिए ।

सपना खनाल र निशा पौडेलको उद्दार गरिएको छ । दिलकुमारी जलारी र उनका छोरा १७ वर्षीय कुमारले २ जनाको उद्दार गरी ज्यान बचाएका थिए । तर, सपनाले श्रीमान र छोरा गुमाएकी छन् भने निशाको छोराको पनि डुंगा दुर्घटनामा मृत्यु भएको छ ।

लाइफ ज्याकेट नलगाउँदा ज्यान गयो

डुंगामा सवार कसैले पनि लाइफ ज्याकेट लगाएका थिएनन् भने डुंगा पनि चुहिनो थियो । लाइफ ज्यागेट नलगाएकै कारण उनीहरुको ज्यान गएको प्रहरीको भनाइ छ ।

बेगनासमा व्यावसायिक डुंगामा लाइफ ज्याकेट अनिवार्य छ तर घरायासी प्रयोगमा रहेका डुंगामा सवारले लाइफ ज्याकेट नलगाउँदा दुखद् घटना घटेको प्रहरी बताउँछ ।

बेगनास गाउँ शोकमा

हरितालिका तीज नजिकिँदै गर्दा भएको दुर्घटनापछि सिंगो बेगनास गाउँ शोकमा डुबेको छ ।

स्थानीय कमलराज कडेंलको घरमा दर खान जाने क्रममा मन्धारे पार्कबाट लिब्दी टुँडा जाँदै गर्दा डुंगा डुबेको थियो । घटनाले परिवारलाई त बिक्षिप्त बनाएकै छ तर, सिंगो गाउँ शोकमा डुबेको स्थानीय श्रीराम कडेंलले जानकारी दिए ।

‘तीजको मुखमा गएको घटनाले सिंगो गाउँ शोकमा डुबेको छ,’ स्थानीय कडेंलले भने, ‘एकैपटक ८ जनाको ज्यान जाने गरी भएको घटनाले सिंगो गाउँलाई आसुँमा डुबाएको छ ।’

पोखरा महानगराका मेयर मानबहादुर जिसीले डुंगा दुर्घटनाप्रति दुख व्यक्त गरेका छन् । जिसीले विज्ञप्ति जारी गरी घटनामा निधन भएकाको अमर आत्माको चिरशान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन् ।

‘डुंगामा यात्रा गर्दा अपनाउनु पर्ने सावधानी नपनाउँदा वर्षेनी यस्ता दुर्घटना पटकपटक भएका छन्’, मेयर जिसीको विज्ञप्तिमा भनिएको छ, ‘दुर्घटनाप्रति महानगरको ध्यानाकर्षण भएको र जलयात्रामा अपनाउनुपर्ने सावधानी अपनाएर मात्र यात्रा गर्न आम नगरबासी र सबैमा अनुरोध गर्दछु ।’


सम्बन्धित शीर्षकहरु

अमेरिका र इरानबीच शान्ति सम्झौताका लागि प्रारम्भिक समझ्दारी पत्रमा हस्ताक्षर भएको छ, जसले तुरुन्तै युद्ध रोक्ने, हर्मुज जलडमरूमध्य पुनः खोल्ने…

चारदिने औपचारिक चीन भ्रमण सम्पन्न गरी स्वदेश फर्किएका परराष्ट्रमन्त्री शिशिर खनालले भ्रमणले नेपाल–चीन सम्बन्धलाई थप सुदृढ बनाउनुका साथै आर्थिक तथा…

संयुक्त राज्य अमेरिका र इरानबीच द्विपक्षीय तनाव अन्त्य गर्ने, होर्मुज जलमार्ग पुनः सञ्चालन गर्ने तथा आणविक कार्यक्रम र आर्थिक प्रतिबन्धसम्बन्धी…

प्रतिकृयाहरू
...