Wednesday 2nd September 2026

सिन्धुपाल्चोकमा पहिरोको कारण सयाैं घर जोखिममा


तितोपाटी – भूकम्पले घर भत्केपछि तीन वर्ष अस्थायी टहरोमा बसेर हालै नयाँ घरमा सरेका चौतारा साँगाचोकगढी नगरपालिका-१ रिमलाल विश्वकर्माको त्यो घर पनि पहिरोले पुरियो ।

बालबच्चा र आफ्नो ज्यानसमेत बल्लबल्ल बचाए । घरमा भएको केही सामग्री पनि निकाल्न पाएनन् । उनको परिवार फेरि अस्थायी टहरोमा नै बस्न बाध्य भएका छन् ।

भोटेकोशी गाउँपालिका-५ का पासाङ नर्बु शेर्पाको भोटेकोशी नदी छेउमै रहेको घर पनि बाढी र पहिरोले बगाएको छ । घर पहिरोले लगेपछि यतिबेला उनी आफन्तको बसिरहेका छन् । चौतारा साँगाचोकगढी नगरपालिका-५ का कारसाङ तामाङको पनि भूकम्पपछि भर्खरै निर्माण सम्पन्न भएको पक्की घर पहिरोले बगाएपछि उनी पनि टहरोमा बस्न बाध्य भएका छन् ।

विगत केही दिनदेखि परेको अविरल वर्षापछि आएको पहिरोले सिन्धुपाल्चोक जिल्लाको विभिन्न स्थानमा सयौं घर जोखिममा परेको छ ।
भूकम्पले थिलथिलो पारेको बस्तीहरुमा उच्च वर्षापछि पहिरो जान सुरु गरेको छ । पहिरोले शैक्षिक संस्था, सिञ्चाई, खानेपानी लगायतका भौतिक संरचनामा समेत क्षति पुर्‍याएको छ ।

बाढी पहिरोले हालसम्म स्थानीयको मृत्यु नभए पनि घर जग्गामा भने व्यापक रुपमा क्षति पुर्‍याएको जिल्ला प्रहरी कार्यालयका डीएसपी विमलराज कँडेलले जानकारी दिए ।

भूकम्पपछि ऋणधन गरेर निर्माण गरेको घर पहिरोले लगेपछि स्थानीय झनै समस्यामा परेका छन् । पहिरोबाट सबैभन्दा बढी चौतारा साँगाचोकगढी नगरपालिका अन्र्तगत साँगाचोकका स्थानीय समस्यामा परेका छन् ।

त्यस्तै सुनकोशी गाउँपालिकाका कालिक, ठोकर्पालगायतका बस्तीहरुमा पहिरोले स्थानीयको घरमा क्षति पुर्‍याएको प्रहरीले जानकारी दिएको छ । अविरल वर्षापछि आएको पहिरोले सुनकोशी गाउँपालिका-१ मा रहेको बाघभैरव माविमा समेत क्षति पुर्‍याएको प्रधानाध्यापक विष्णुप्रसाद न्यौपानेले जानकारी दिए । कालिकामा मात्रै ७२ भन्दा बढी घरमा पहिरोले क्षति पुर्‍याएको वडा अध्यक्ष रामहरि खड्काले बताए ।

पहिरोले हालसम्म ३० भन्दा बढी घरहरु पूर्ण रुपमा क्षति भएका छन् भने १ सय बढी घरहरुमा आंशिक क्षति पुगेको डीएसपी कँडेलले जानकारी दिए । त्यस्तै विभिन्न स्थानमा गएको पहिरोले दुई दर्जन बढी चौपायासमेत मरेका छन् ।

-अनलाइनखबरबाट


सम्बन्धित शीर्षकहरु

इजरायली सेनाले अधिकृत पश्चिम किनाराका विभिन्न क्षेत्रमा प्यालेस्टिनीहरूको घर भत्काउने अभियान जारी राखेको छ। रामल्लाह र नाब्लुस क्षेत्रमा केही घरहरू…

किर्गिस्तानको राजधानी बिश्केकमा आयोजित शाङ्घाई सहयोग संगठन (एससीओ) शिखर सम्मेलनमा चीनका राष्ट्रपति सी चिनफिङ, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र भारतीय…

भारतको अर्थतन्त्र चालु आर्थिक वर्षको पहिलो तीन महिनामा ७.८ प्रतिशतले बढेको छ। उत्पादन, सेवा, लगानी र निर्यातमा सुधार आउँदा आर्थिक…

प्रतिकृयाहरू
...