Wednesday 12th March 2025

नक्कली ‘ नो अब्जेक्सन लेटर’ कै भरमा नेपाली कामदार खाडीमा


तितोपाटी – चार नेपाली महिला भारतको चन्डीगढ एयरपोर्टबाट पक्राउ । अर्का एक नेपाली युवा नयाँदिल्लीस्थित इन्दिरा गान्धी विमानस्थलबाट पक्राउ । यी दुवै घटना एक दिन (१५ साउन) का हुन् र पक्राउ पर्नुको कारण पनि एउटै– नक्कली ‘नो अब्जेक्सन लेटर’ (एनओसी) ।

दुई साताअघि कुवेत जान हिँडेका दुई नेपाली युवतीलाई पनि एनओसी नक्कली भएको भन्दै दिल्ली विमानस्थलका अधिकारीले केहीबेर नियन्त्रणमा लिएर फिर्ता पठाएका थिए ।

यी घटनाले भारतीय विमानस्थल अधिकारीहरूले वैदेशिक रोजगारीमा जाने नेपालीसँग नेपाली दूतावासबाट जारी हुने एनओसी माग्न थालेपछि नक्कली एनओसीको नयाँ खेल सुरु भएको पुष्टि हुन्छ । हेर्दा सक्कली झैं लाग्ने ती एनओसीमा दूतावासको नक्कली लेटरप्याड र स्ट्याम्प प्रयोग गरिएका छन् ।

नक्कली एनओसीका घटनालाई गम्भीरतासाथ लिएको दूतावासका प्रवक्ता हरि ओडारीले बताए । ‘पछिल्लो समय नक्कली एनओसीका घटना बढेको छ, यस सम्बन्धमा हामी पनि अनुसन्धान गर्दै छौं,’ उनले भने, ‘भारतीय भूमिमै यस किसिमको गलत काम भइरहेको जानकारी आएकाले भारतीय प्रहरीलाई पनि यी गतिविधि रोक्न अनुरोध गर्ने तयारीमा छौं ।’

दूतावासले जारी गरेको एनओसीको विवरण सोही दिन एयरपोर्ट अथोरिटी, अध्यागमन कार्यालय र परराष्ट्र मन्त्रालयलाई पठाउने गरेको हुँदा एयरपोर्टका अधिकारीले कडाइ गरेको खण्डमा नक्कली एनओसीबाट उडाउन सम्भव नहुने प्रवक्ता ओडारीले बताए ।

‘दूतावासबाट कुन–कुन एनओसी जारी भए भन्ने कुराको जानकारी भारतीय अध्यागमन, एयरपोर्ट अथोरिटी र भारतको विदेश मन्त्रालयलाई प्रत्येक दिने गरिएको छ, त्यसबाहेकलाई मान्यता नदिन पत्राचार गरिसकेका छौं,’ उनले भने । दूतावासले पछिल्ला घटनालाई आधार बनाएर एउटा समग्र प्रतिवेदन परराष्ट्र मन्त्रालयलाई बुझाउने तयारी पनि गरेको छ ।

भारतको बाटो हुँदै अवैध रूपमा वैदेशिक रोजगारीमा जाने क्रम बढेपछि सरकारले असोज २०६६ मा मन्त्रीस्तरीय निर्णय गर्दै साधारण राहदानी वाहकलाई साउदी अरेबिया, ओमान, बहराइन, कतार, कुवेत, यूएई, मलेसिया र लेबनान जान रोक लगाएको थियो ।

परराष्ट्र मन्त्रालयको त्यही निर्णयका आधारमा नयाँदिल्लीस्थित नेपाली दूतावासले भारतको परराष्ट्र मन्त्रालयलाई यहाँको अध्यागन कार्यालय, एयरपोर्ट अथोरिटी, एफआरआरओलगायत निकायलाई पत्राचार गरेको थियो । उक्त पत्रमा ती आठ मुलुक जान खोज्ने नेपाली नागरिकलाई दूतावासको एनओसीबिना भ्रमण अनुमति नदिन आग्रह गरिएको छ ।

भारतीय विमानस्थल अधिकारीहरूले एनओसी खोज्न थालेपछि ‘नक्कली एनओसी’ बनाउने धन्दा सुरु भएको जानकारहरू बताउँछन् । दिल्ली र आसपासका सहरमा केही कडाइ गरिए
पनि लखनउ, बैंगलोर, कोलकाता, चेन्नई र हैदरावादलगायत विमानस्थल हुँदै नेपाली उडाउने गरिएको स्रोतको दाबी छ ।

अघिल्लो साता दिल्लीको मुर्निकास्थित एक घरमा बन्धक बनाएर राखिएका १६ नेपाली युवतीको उद्धार गरेपछि नक्कली एनओसीको खुलासा भएको थियो । ती १६ जनामध्ये दुईजनालाई दिल्लीस्थित विमानस्थलका अधिकारीले शंका लागेर सोधपुछ गर्दा नक्कली एनओसी रहेको खुलेको थियो । त्यसपछि ती दुई जनाको पासपोर्ट नियन्त्रणमा लिएर फर्काइएको थियो । अरू ७ नेपाली युवती भने त्यसको अघिल्लो साता नै कुवेत र इराकका लागि उडेका थिए ।

स्रोतका अनुसार उनीहरूसँग ती खाडी मुलुक जाने कुनै पनि वैधानिक कागजात थिएन । नेपाली दूतावासका अनुसार गत वर्ष भारतीय विमानस्थल हुँदै वैदेशिक रोजगारीका लागि खाडीलगायतका मुलुक पठाउन लागिएका ६० महिलाको उद्धार गरिएको थियो ।

-कान्तिपुरबाट


सम्बन्धित शीर्षकहरु

फिलिपिन्सका पूर्व राष्ट्रपति रोड्रिगो दुतेर्ते पक्राउ परेका छन् । मानवताविरुद्ध अपराधको आरोपमा उनलाई फिलिपिन्सको प्रहरीले मंगलबार नियन्त्रणमा लिएको हो ।…

गुलाम नवि मन्सूर/कुवेत- नेपालमा पछिल्लो समय राजसंस्थाप्रतिको समर्थन पुनः बढ्दै गएको देखिन्छ। यसको पछिल्लो उदाहरण फाल्गुन २५ गते त्रिभुवन अन्तर्राष्ट्रिय…

ईन्डिया टुडे मा नेपालको राजतन्त्र समर्थक आन्दोलबारे चर्चा गरिएको छ । त्यस त प्राय विश्वभरीका प्रमुख सञ्चार माध्यामले पनि चर्चा…

प्रतिकृयाहरू
...