Sunday 23rd August 2026

बलात्कारीलार्इ मृत्युदण्ड दिने कानून बनाउन काँग्रेसको माग


तितोपाटी – नेपाली कांग्रेसले बलात्कारीलाई मृत्युदण्डको कानून बनाउन माग गरेको छ । आइतबार संसदको शून्य समयमा बोल्दै कांग्रेस नेतृ उमा रेग्मीले भारत र अमेरिकामा पनि बलात्कारीलाई मृत्युदण्डको सजायको व्यवस्था रहेको जानकारी दिँदै नेपालमा पनि त्यस्तै व्यवस्था गर्नुपर्ने बताइन् ।

कञ्चनपुरको भिमदत्तनगरमा १३ वर्षीया बालिका निर्मला पन्तको हत्या भएको प्रसंग उठाउँदै रेग्मीले भनिन्, ‘७७ वर्षीया वृद्धादेखि साढे दुई वर्षीया बालिकासम्म श्रृंखलावद्ध बलात्कृत भइरहेका छन् । यसै सिलसिलामा निर्मला पन्तको बलात्कार भएको छ । कानुन संशोधन गरेर मृत्युदण्डकोसम्म कारवाही गर्नुपर्छ बलात्कारीलाई ।’

उनले सरकारले बलात्कारीलाई खोजेर कारवाही गर्नुको साटो स्थानीय जनतालाई कारवाही गरेको भन्दै उनले आक्रोश पोखिन् । उनले लासको राजनीति गर्न खोजेको भनेर कांग्रेसलाई लागेको आरोपको खण्डनसमेत गरिन् ।

रेग्मीअघि बोलेकी नेकपाकी सांसद निरुदेवी पालले निर्मलाको लासमाथि कतिपय दलले राजनीति गर्न खोजेको बताएकी थिइन् ।

त्यसैको प्रतिउत्तरमा रेग्मीले भनिन्, ‘बलात्कारको विरोधमा उत्रिएका जनतामाथि लाठी बर्साएको छ । धरपकड गरेको छ । यहाँ चाहिँ लासमाथि राजनीति नगर भन्ने ? लासको राजनीति गर्ने पार्टी नेपाली कांग्रेस होइन ।’

आजको शून्य र विशेष समयमा बोल्ने सांसदहरुले कञ्चनपुरको भीमदत्त नगरपालिकाकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्यारा तत्काल पत्ता लगाई कडा कार्वाही गर्न सरकारसँग माग गरेका छन् । कतिपय सांसदले यस विषयमा गृहमन्त्रीको जवाफसमेत मागेका छन् ।
टयूसन पढ्न गएकी पन्तको उखुबारीमा शव भेटिएको थियो ।

संसद बैठकमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडुले घटनाको निन्दा र भत्सर्ना गर्दै हत्यारालाई पक्राउ गरी कार्वाही गर्न सरकारसँग माग गरे ।

कांग्रेसकी अर्का सांसद डिला संग्रौलाले सरकार हत्यारालाई पत्ता लगाउनु साटो पीडित परिवारलाई दमन गर्न उद्धत रहेको आरोप लगाइन् ।

यसैगरी नेकपाकी निरुदेवी पालले पन्तको हत्यामा संलग्नलाई सर्वस्वसहित जन्मकैदको माग गरिन् । उनले पन्तको लासमाथि कतिपय दलले राजनीति गर्न खोजेको भन्दै त्यसो नगर्न सचेत गराइन् ।

सांसद संगिता गिरीले पन्तको हत्याबारे गृहमन्त्रीसँग जवाफ मागिन् । केहि व्यक्ति पक्राउ गरिएको भएपनि सार्वजनिक नगरिएकोमा उनको असन्तुष्टी छ ।
‘बालिकाले लगाएको सुरुवाल पखालेर प्रमाण मेटाउने काम भएको छ । यसबारे गृहमन्त्रीसँग माग गर्दछु,’ उनले भनिन् ।

सांसद लक्ष्मी परियारले हत्यारा खोजीको माग गर्दै गरिएको प्रदर्शनमा प्रहरीले लाठीचार्ज गरेको भन्दै सरकारको आलोचना गरिन् ।


सम्बन्धित शीर्षकहरु

नेपालमा जापानी इन्सेफ्लाइटिस (जेई) संक्रमण बढ्दै गएपछि सरकारले सबैभन्दा बढी प्रभावित झापा जिल्लाबाट वयस्क लक्षित खोप अभियान सुरु गर्ने तयारी…

रुसमा अगस्ट महिनालाई "ब्ल्याक अगस्ट" अर्थात् दुर्भाग्यपूर्ण महिना मान्ने परम्परा फेरि चर्चामा आएको छ। विगतमा सोभियत संघको विघटन, आर्थिक संकट,…

हिन्दू, इस्लाम, यहूदी, बौद्ध र ख्रीष्टियन परम्पराले “ब्रह्माण्ड कसरी आयो?” भन्ने प्रश्नको एउटै उत्तर दिँदैनन्। कतै सृष्टिकर्ता परमेश्वर केन्द्रमा हुनुहुन्छ,…

प्रतिकृयाहरू
...