Saturday 21st March 2026

विद्यार्थी संगठनद्वारा सबै मेडिकल कलेजहरूलार्इ राष्ट्रियकरण गर्न सरकारसँग माग


तितोपाटी – सत्तारुढ दल नेकपाका युवा र विद्यार्थी संगठनले सम्पूर्ण निजी मेडिकल कलेजहरुलाई अविलम्ब राष्ट्रियकरण वा गैर नाफामुखी ट्रष्टमा रुपान्तरण गर्न सरकारसँग माग गरेका छन् । पूर्व एमाले निकट युवा संघ नेपाल र अनेरास्ववियु तथा पूर्व माओवादी केन्द्र निकट वाइसिएल नेपाल र अनेरास्ववियु (क्रान्तिकारी) विज्ञप्तिमार्फत मागबारे जानकारी गराएका हुन् ।

संविधानको प्रस्तावनामै ‘समाजवाद उन्मुख’भनिएकाे र शिक्षा, स्वास्थ्यलाई नागरिकको मौलिक हककोरूपमा ग्यारेन्टी गरिएकाले तत्काल राष्ट्रियकरण गर्न माग गरेका हुन् ।

त्यस्तै, चिकित्सा शिक्षा भित्रको छात्रवृत्तिलाई न्युन आय, गरिब र लक्षित समुदाय आधारित बनाई पारदर्शिता ढंगले वितरण गरिनुपर्ने, जनताको जीवनसँग खेलवाड गरी स्वास्थ्य जस्तो अत्यन्तै संवेदनशील क्षेत्रमा बन्द, हड्तालका कार्ग गर्न पूर्णरूपमा प्रतिवन्ध लगाउनु पर्ने, जनताको करबाट उठेको तलब भत्ता खाई स्वास्थ्य जस्तो संवेदनशील पेशामा रहेर जनतालाई निर्वाध सेवा नदिने अधिकारीलाई तत्काल कारबाही गर्नुपर्ने लगायतका ९ बुँदे माग सरकारसँग युवा र विद्यार्थी संगठनले राखेका छन् ।

यस्तो छ प्रेस विज्ञप्ति

संयुक्त प्रेस विज्ञप्ति मुलुकमा चिकित्सा शिक्षाको क्षेत्रमा देखिएका समस्या उपर हामी प्रमुख युवा विद्यार्थी संगठनहरुको गम्भीर ध्यानाकर्षण भएको छ। संसदमा पेश भएको चिकित्सा शिक्षा विधेयक, डा. गोविन्द केसीको आन्दोलन र त्यसले सृजना गरेको अन्यौलताको सन्दर्भमा नेपाल सरकार लगायतका सबै सम्वद्ध निकायमा तपशिलका विषयमा हाम्रो धारणा र माग स्पष्ट गर्न चाहन्छौँ।

१) नेपालको संविधानको प्रस्तावनामा उल्लेखित समाजवादउन्मुख ब्यवस्थाको मर्म एवम् शिक्षा र स्वास्थ्यलाई नागरिकको मौलिक हकको रुपमा गरिएको संवैधानिक ग्यारेन्टीको प्रावधान अनुसार निजी क्षेत्रवाट सञ्चालित सम्पूर्ण मेडिकल कलेजहरुलाई अविलम्ब राष्ट्रियकरण वा गैर नाफामुखी ट्रष्टमा रुपान्तरण गरियोस् ।

२) सबै प्रदेशमा एक सुविधा सम्पन्न सरकारी शिक्षण हस्पिटल सञ्चालनको प्रक्रिया अविलम्ब सुरु गरियोस् ।

३) चिकित्सा शिक्षा भित्रको छात्रवृत्तिलाई न्युन आय, गरिब र लक्षित समूदाय आधारित बनाई त्यसलाई पारदर्शिता ढंगले वितरण गरियोस् ।

४) आधारभूत तहका जनताको जीवनसंग खेलवाड गर्दै स्वास्थ्य जस्तो अत्यन्तै संवेदनशील क्षेत्रमा बन्द, हड्ताल गर्न पूर्णरूपमा प्रतिवन्ध लगाइयोस् । जनताको करबाट उठेको तलब भत्ता खाई स्वास्थ्य जस्तो संवेदनशील पेशामा रहेर जनतालाई निर्वाध सेवा नदिने अधिकारीलाई तत्काल कारबाही गरियोस् ।

५) स्वास्थ्य शिक्षामा देखिएका सबै समस्या दिर्घकालिन ढंगले समाधान गर्न उच्चस्तरिय चिकित्सा शिक्षा आयोग गठन गरी अविलम्ब काम सुचारू गरियोस् ।

६) चिकित्सा शिक्षा लगायतका जल्दाबल्दा समस्याको समाधानका लागि जनताको लोकप्रिय म्याण्डेट पाएको सार्वभौमसत्ता सम्पन्न संसदलाई छलफल र निकासको साझा थलो बनाइयोस्।

७) राष्ट्रिय चिकित्सा आयोगबाट नै समस्या निरोपण हुने भएकाले जारी गोविन्द केसिको अनसन वार्ताबाट तत्काल अन्त्य गरियोस् ।

८) गोविन्द केसिको आन्दोलनमा भएको राजनीतिक घुसपैठ, अराजकता र दण्डहीनताको तत्काल अन्त्य गरियोस् ।

९ ) अनेकन् प्रलोभनमा पारी मुलुक बाहिर विद्यार्थी बेच्न पल्किएका नेम (NAME), भाईब्रेन्ट जस्ता इन्स्टिच्युटलाई छानबिन गरि कडा कारबाही गरियोस् ।

०७५/०४/०६

रामप्रसाद सापकोटा
अध्यक्ष
वाइसीएल नेपाल

रमेश पौडेल
अध्यक्ष
युवा संघ, नेपाल

नविना लामा
अध्यक्ष
अनेरास्ववियु

रञ्जित तामाङ
अध्यक्ष
अनेरास्ववियू (क्रान्तिकारी)


सम्बन्धित शीर्षकहरु

कुवेत सिटी — कुवेतस्थित नेपाली राजदूतावास र स्थानीय नेपाली संघ–संस्थाका प्रतिनिधिहरूबीच सम्पन्न विशेष बैठकले यहाँ कार्यरत नेपाली नागरिकहरूको सुरक्षा तथा…

क्षेत्रीय तनावको बढ्दो छायाँबीच Kuwait Council of Ministers को पछिल्लो बैठकले स्पष्ट संकेत दिएको छ—कुवेत आफ्नो सुरक्षा, सार्वभौमसत्ता र आन्तरिक…

मध्यपूर्व अहिले फेरि एकपटक अस्थिरताको खतरनाक मोडमा उभिएको छ। हालै International Atomic Energy Agency (IAEA) ले सार्वजनिक गरेको जानकारी अनुसार…

प्रतिकृयाहरू
...