Thursday 2nd July 2026

गरीबीको कारण उपचार नपार्इ ४० वर्षदेखि अोछ्यानमा


तितोपाटी – मध्यविन्दु नगरपालिका–१० अरुणखोलाका कनुवा चौधरी ४० वर्षदेखि अाेछ्यानमै छन् । अतिबिपन्न परिवारका ५२ वर्षीय कनुवा चौधरी २०३५ सालदेखि ओछयानमा थलिएका छन् । उनको हात, खुट्टा बाङ्गिएका छन् भने शरीर सुक्दै गएको छ ।

रोगले थलिएर ४० वर्ष पुगिसक्दा पनि चिकित्सकलाई देखाएको छैन। उनलाई के रोग लागेको हो भन्ने नै थाहा हुन सकेको छैन। ‘१२ वर्षको उमेरसम्म हट्टाकट्टा र फुर्तिलो थियो। ज्वरोले थलियो झारफुक र जडिबुटी खुवाउँदा निको भएन, खुट्टा टेक्न छोड्यो हातखुट्टा बाँगिदै गए, त्यसयता ओछ्यानमै छ,’ उनकी आमा लक्ष्मी चौधरी बताउँछिन।

४० वर्षदेखि कनुवा घरको एउटै ओछ्यानमा छन्। सानो घरको भुइतलाको एउटा खाटमा दाहिनेतिर कोल्टे परेर उनी पल्टिरहन्छन्। उनका हातखुट्टाका औला कुहिएका र सुक्दै गएका छन्। शरीरको तौल करिब २१ किलो छ। दिशापिसाब ओछ्यानमै गराउनु पर्छ। कोल्टे फेर्न समेत सक्दैनन्।

उनको स्मरणशक्ति भने तेज छ। एकपटक आवाज सुनेको ब्यक्तिलाई उनले सजिलै चिन्छन् र नाम पनि भन्न सक्छन्। गतवर्षदेखि उनका आँखा कमजोर भएका छन्। बोल्न भने राम्ररी सक्छन्। ७५ वर्षिया आमा लक्ष्मीले होटलमा भाडा माझ्ने काम गर्छिन्। झारफुक गर्ने कनुवाका बुवाको १५ वर्ष अघि नै मृत्यु भएको थियो। उनका भाई र दुई बहिनी छन्।

गाँउघरमा पटक पटक उनको परिवारलाई राहत दिन आउनेहरुको बाक्लै संख्या हुने गरेपनि कसैले चिकित्सकलाई देखाउने अग्रसरता लिएका छैनन्। अरुणखोला बजारमै स्वास्थ्य संस्था भएपनि भगवानको खेल भन्दै उनलाई औषधि गराइएको छैन। उनको घरबाट ९ सय मिटरको दुरीमा जिल्ला आयुर्वेद अस्पताल र प्राथामिक स्वास्थ्य केन्द्र रहेपनि आजसम्म चिकित्सकलाई देखाएको छैन। एक्ली आमाले स्याहार गर्दै आएकी छन्। भाई पनि मजदुरी गर्दै आफ्नो परिवार पाल्ने गरेका छन्।

मध्यबिन्दु नगरपालिकाले उनलाई अति फरक र जटिल अपांगता भएको भनेर मासिक २ हजार भत्ता घरमै आएर दिने गरेको छ।

उनकी छिमेकी इन्जु कार्की थापाले इजरायलमा कामको रहेकाबाट जुटाएर पठाएको २ लाख ५५ हजार सहयोग बैंकमा राखिदिएकी छन्। उक्त रकमबाट आउने ३ महिनाको ७ हजार ब्याजले चौधरी परिवारलाई हातमुख जोर्न सघाएको छ।

उनलाई बिभिन्न ब्यक्तिले पनि बेलाबेलामा सहयोग गर्दै आएका छन्। कनौवाको स्वास्थ्य बारे स्थानीय देवचुली टेलिभिजनले वृत्तचित्र निर्माण र प्रसारण गरेपछि स्वदेश तथा विदेशबाट सहयोग जुट्दै आएको छ।


सम्बन्धित शीर्षकहरु

United Arab Emirates ले आफ्नो इतिहासमै पहिलोपटक यात्रुवाहक रेल सेवा सञ्चालनमा ल्याएको छ। यससँगै देशको यातायात पूर्वाधारमा एउटा ऐतिहासिक उपलब्धि…

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले दक्षिणी लेबनानमा तैनाथ इजरायली सैनिकहरूको भ्रमणका क्रममा इजरायल र लेबनानले एकअर्कालाई सार्वभौम राष्ट्रका रूपमा स्वीकार गरेको…

जर्मनीको उत्तरी शहर स्टाडेमा रहेको हेरचाह केन्द्रमा सोमबार भएको गोलीकाण्डमा कम्तीमा ६ जनाको मृत्यु भएको छ भने केही घाइते भएका…

प्रतिकृयाहरू
...