Monday 10th August 2026

तनहुँको बन्दीपुरमा पनि केबलकार निर्माण गरिने


तितोपाटी – तनहुँको ऐतिहासिक नगरी बन्दीपुरमा केबुलकार सञ्चालन गरिने भएको छ । आर के बी रियल स्टेट एण्ड कन्सट्रक्सन लिमिटेड र स्थानीय व्यापारी ताराप्रसाद उपाध्यायको लगानीमा बन्दीपुर केबुलकार निर्माण प्रक्रिया अगाडि बढेको हो ।

ठूलढुंगाबाट बराल चोकसम्म सञ्चालन हुने केबुलकार रू ५६ करोडको लागतमा निर्माण हुने उक्त केबुलकारका अध्यक्ष रहनुभएका उपाध्यायले जानकारी दिए ।

केबुलकारका लागि आर के वी रियल स्टेट एण्ड कन्सट्रक्सनले ७० प्रतिशत र आफूले ३० प्रतिशत लगानी व्यहोर्ने उहाँले बताउनुभयो । एक किमी ६०० मिटर लामो उक्त केबुलकारमा सात वटा टावर रहनेछन् । केबुल कार निर्माणका लागि जग्गाजमीन खरीदका साथै सबै क्षेत्रबाट स्वीकृति लिई अन्तिम डिपीआरसमेत तयार भइरहेको अध्यक्ष उपाध्यायले बताए ।

यसैगरी तनहुँको ऐतिहासिक नगरी एवं पुरानो सदरमुकाम बन्दीपुरमा करिव रू ६० करोडको लगानीमा आधा दर्जन होटल बन्न थालेका छन् । बढ्दो पर्यटकलाई ध्यानमा राखी यहाँ सुविधा सम्पन्न होटलहरु थपिने क्रम बढेको हो ।

बन्दीपुर पर्यटन विकास समितिका अध्यक्ष वैश गुरुङले होटलहरु थपिने क्रम तीव्र भइरहेको र आफैँले पनि रू सात करोड ५० लाखको लागतमा होटल बनाइरहेको जानकारी दिनुभयो । यहाँ होटल खोल्न काठमाडौँबाट समेत व्यवसायीहरु आइरहेको बताइएको छ ।

पहाडकी रानी उपनामबाट समेत परिचित बन्दीपुरमा यतिबेला चिनियाँ र स्पेनिस पर्यटकको संख्या बढेको छ । दैनिक करिव १०० विदेशी पर्यटक बन्दीपुर भित्रिने गरेको पर्यटन व्यवसायीको भनाइ छ । आन्तरिक पर्यटकको समेत बन्दीपुर रोजाइ बन्दै गएको छ । गर्मी समयमा चिसो हावा, स्वच्छ हराभरा र त्यहाँबाट देखिने दृश्वालोकनका साथै भक्तपुरे शैलीका ऐतिहासिक घरहरुले बन्दीपुरमा पर्यटकको आकर्षण बढ्दै गए को हो । पर्यटकलाई ध्यानमा राखी सूचना केन्द्र स्थापना गरी पथ प्रदर्शकहरु परिचालन र प्याकेज कार्यक्रमसमेत सञ्चालन गरिएको छ ।

-रासस


सम्बन्धित शीर्षकहरु

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले गाजा, इरान र क्षेत्रीय सुरक्षाबारे कडा धारणा सार्वजनिक गरेका छन्। उनले आफ्नो नेतृत्वमा प्यालेस्टिनी राज्य स्थापना…

आज नेपालसहित विश्वभर ३२ औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवस विभिन्न कार्यक्रमका साथ मनाइँदै छ। नेपालमा पनि आदिवासी जनजाति समुदायहरूले सांस्कृतिक…

नेपालमा नाबालिगको डिम्ब (अण्डाणु) संकलन तथा किनबेचसँग सम्बन्धित प्रकरणले नयाँ मोड लिएको छ। ललितपुरस्थित बीएन्डबी अस्पतालको आईभीएफ सेन्टरमा नाबालिगको डिम्ब…

प्रतिकृयाहरू
...