Tuesday 8th September 2026

कस्तो बिडम्बना ! किशोरावस्थामै विहे, २१ वर्षमै विधवा


तितोपाटी – लीला रोकालाई सानैमा बिहे गर्नु हुँदैन भनेर घरपरिवार र गाउँमा कसैले सल्लाह दिएन । न त गाउँघरमा पढेर ठूलो मान्छे बनेको कोही थिए ।

पढ्नुपर्छ भनेर अर्ती दिने पनि कोही भएनन् । गाउँघरमा रीति नै यस्तै थियो बैंस नआउँदै बिहे गरिहाल्नुपर्ने । आठ कक्षामा पढ्दा १५ वर्षको उमेरमा बिहे गरेकी २१ वर्षीया लीला रोकाको यतिबेला सिन्दूर पुछिएको छ । गत शुक्रबार मुस्ताङमा भएको टिपर दुर्घटनामा उनका २३ वर्षीय पति राष्ट्रे रोका मारिएपछि उनका लागि संसार अँध्यारो बनेको छ । पाँच वर्षीय छोरा साथमा लिएर टोलाइरहेकी छन् लीला।

‘म १५ वर्षकी थिएँ, उहाँ १७ वर्षका हुनुहुन्थ्यो । पढ्दापढ्दै बिहे गरियो । एक वर्षमा छोरो जन्मियो । आयस्रोत केही नाइँ । बुवा, आमा, भाइ, म अनि छोरो पाल्ने सोचमा उहाँ विदेश जानुभो । मलेसिया गएको तीन वर्षमा फर्कनुभो’, लीलाले विगत सुनाइन्, ‘ऋण गरेर विदेश कमाउन गएको उतै बिरामी पर्नु भएछ । पैसा नकमाएरै फर्किनुभो ।’ दुर्घटनामा पतिसहित जेठाजु, देवर र आमाजू गुमाएकी लीलाको काँधमा अब सासूससुरा र पाँच वर्षको छोराको जिम्मेवारी थपिएको छ ।

मजदुरी गरेर कमाएको पैसाले छोरा पढाउने आशा बोकेर मुस्ताङ पुगेका राष्ट्रेले गत वैशाखमा पत्नी लीला र छोरा मौसमलाई दाङ लालमटिया पठाएका थिए । ‘छोरो पढाउने भन्दै वैशाखमा दाङ झर्यौं । लालमटियासिथत बोर्डिङमा भर्ना गरेका थियौं । मजदुरी गरेर पैसा कमाउँछु र आफूले नपढे पनि छोरालाई पढाउँछु भन्नुहुन्थ्यो,’ भक्कानिँदै लीलाले सुनाइन् । उनका अनुसार मलेसिया जाँदा लिएको ऋण तिर्नै बाँकी छ ।पतिको लास लुंग्री किनारमा जल्दै गर्दा अर्धचेत् बनेकी लीला अहिले न खुलेर रुन सक्छिन् न त आँसु लुकाएर बस्न सक्छिन् । सासूससुरा र छोरालाई सम्हाल्न आँसुसमेत लुकेर झार्नुपर्ने बाध्यता छ उनलाई । पलपल तड्पिरहेकी लीला आफ्नो भन्दा पनि छोराको भविष्यबारे चिन्तामा छिन् ।

-न्यूज२४ बाट

 


सम्बन्धित शीर्षकहरु

नयाँ सर्वेक्षणले इजरायलमा पश्चिम किनाराबाट हमासको ७ अक्टोबर २०२३ को आक्रमणजस्तै ठूलो हमला हुन सक्ने विषयमा व्यापक सुरक्षा चिन्ता रहेको…

यमनमा अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त सरकारप्रति वफादार सेनाले हुथी विद्रोहीविरुद्ध ठूलो प्रत्याक्रमण सुरु गर्दै राजधानी सानाआ पुनः कब्जा गर्ने लक्ष्य…

एक वर्षअघि सडकमा उत्रिएका १९ जना नवयुवाले ज्यान गुमाएको घटनाको वार्षिकीमा नयाँ सरकारको एक वर्षे कार्यकालबारे विभिन्न कोणबाट मूल्याङ्कन हुन…

प्रतिकृयाहरू
...