Tuesday 8th September 2026

रामेछापमा खानेपानीको अभावमा बस्ति नै विस्थापित


तितोपाटी – रामेछाप जिल्लाको मन्थली नगरपालिका–७ मा खानेपानीको समस्या भएपछि वस्ति नै विस्थापित भएको छ। मन्थली नगरपालिका–७ स्थित पहरेपानी, पोखरी र टुनिबोटेका ३८ घर परिवार खानेपानीको समस्याको कारण गाउँ छोडेर स्थानीय भटौली खोला किनारमा बसाइँ सरेका छन्।

पहरेपानी, पोखरी र टुनिबोटे टोलमा रहेको ९० घरधुरीमध्ये ३८ घर परिवारले घरमा ताल्चा लगाएर खोला किनारमा बसोबास गर्न थालेका छन् भने गाउँमा बस्दै आएकाहरू पनि बसाइँसराइँको तयारीमा छन्।

खानेपानी समस्याकै कारण गाउँ छोडेर आफूहरू खोला किनारमा झर्न बाध्य भएको र खोला किनारको बसाइँ पनि सुरक्षित नभएको स्थानीय शिवबहादुर कार्कीले बताए। कार्कीले भने–‘खोनेपानीको समस्याको कारण बाध्य भएर हामी खोला किनारमा झरेका हौँ, खेतीपाती गाउँमै छ। खोलाको किनार भएकाले यहाँ पनि खोलाले बगाउँला भन्ने डर छ, गाउँमा जाँदा पानी खान नपाएर मरिने अवस्था छ।’

खोला किनार पनि सर्वजनिक जग्गा भएकाले नगरपालिकाले हटाए भने कहाँ जाने भन्नेमा समेत आफूहरू चिन्तित रहेको छत्रबहादुर मग्रातीले बताए। खानेपानीको समस्या रहेको बस्तीको लागि बृहत खानेपानी योजनामार्फत पानी पुर्‍याउने योजना भए पनि तत्कालै खानेपानीको ब्यवस्था गर्न सकिने अवस्था नरहेको वडा अध्यक्ष सुदर्शन प्रसाइले बताए। बृहत खानेपानी योजनाबाट खानेपानीको व्यवस्था नभएसम्मका लागि खानेपानी ब्यवस्थाको लागि सहयोग गर्ने कुनै संघसंस्था आएमा वडाको तर्फबाट पनि सहयोग गर्ने वडा अध्यक्ष प्रसाइको भनाई छ।

२०७२ सालको भूकम्पपछि पानीको स्थानीय मुहानहरू सुकेपछि त्यहाँका स्थानीय बसाइँ सर्न बाध्य भएका हुन्। भूकम्पको कारण सुकेको मुहानहरूमा अहिलेसम्म पानीको मूल नफुटेको स्थानीय कालु सार्कीले बताए। पानीको समस्याको कारण त्यस क्षेत्रमा पुनःनिर्माणको कामसमेत प्रभावित भएको छ।


सम्बन्धित शीर्षकहरु

नयाँ सर्वेक्षणले इजरायलमा पश्चिम किनाराबाट हमासको ७ अक्टोबर २०२३ को आक्रमणजस्तै ठूलो हमला हुन सक्ने विषयमा व्यापक सुरक्षा चिन्ता रहेको…

यमनमा अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त सरकारप्रति वफादार सेनाले हुथी विद्रोहीविरुद्ध ठूलो प्रत्याक्रमण सुरु गर्दै राजधानी सानाआ पुनः कब्जा गर्ने लक्ष्य…

एक वर्षअघि सडकमा उत्रिएका १९ जना नवयुवाले ज्यान गुमाएको घटनाको वार्षिकीमा नयाँ सरकारको एक वर्षे कार्यकालबारे विभिन्न कोणबाट मूल्याङ्कन हुन…

प्रतिकृयाहरू
...