Monday 12th January 2026

सर्वोच्च अदालतद्वारा दोहोरो नागरिकता दिन नमिल्ने अादेश


तितोपाटी – सर्वोच्च अदालतले गैरआवासीय नेपालीलाई सम्बन्धित देशको नागरिकता त्याग नगरेको अवस्थामा नेपाली नागरिकता दिन नमिल्ने आदेश गरेको छ । नागरिकता ऐन २०६३ को दफा १० को प्रावधान बदरको माग गर्दै दायर रिट सर्वोच्च अदालतले खारेज गरेको हो ।  दोहोरो नागरिकताको मागलाई सर्वोच्चले अस्वीकार गरेको हो । कायम मुकायम प्रधानन्यायाधीश दीपकराज जोशी र न्यायाधीशहरू ओमप्रकाश मिश्र, चोलेन्द्रशमशेर जबरा, दीपकुमार कार्की र केदारप्रसाद चालिसेको पूर्ण इजलासले निवेदकको मागदाबी अनुसार रिट जारी नपर्ने भन्दै रिट खारेज गरेको हो ।

सर्वोच्च अदालतका सहायक प्रवक्ता नगेन्द्र कालाखेतीले रिट निवेदन खारेज भएको बताउनुभयो । कालाखेतीले भन्नुभयो, ‘निवेदकको मागदाबी अनुसार आदेश जारी गर्नु नपर्ने ठहर भएको छ । आधार र कारण पूर्णपाठमा सार्वजनिक हुनेछ ।’

रिट खारेजसँगै सम्बन्धित देशको नागरिकता त्याग नगरेको अवस्थामा नागरिकता पाउने विकल्प बन्द भएको छ । गैरआवसीय नेपालीका रुपमा बेलायतमा बसोबास गर्दै आउनुभएका गोविन्द बेल्वासेसहितले सर्वोच्चमा रिट दायर गरेका थिए ।

निवेदक बेल्वासेले नेपालको संविधानले कुनै पनि नागरिकलाई नागरिकताविहीन नबनाउने विषय उल्लेख गरे पनि नागरिता ऐनको विषय बाधक बनेको भन्दै रिट जारी हुनुपर्ने माग गरेका थिए । ऐनको दफा १० ले नेपालको कुनै नागरिकले आपूmखुशी कुनै विदेशी मुलुकको नागरिकता प्राप्त गरेपछि नेपाली नागरिकता कायम नरहने व्यवस्था गरेको छ । सो व्यवस्था संविधानको मौलिक हकसँग बाझिएकाले बदर हुनुपर्ने निवेदकको मागदाबी थियो ।

नागरिकता ऐनको दफा १० अनुसार कुनै नागरिकले एकैपटक नागरिकता प्राप्त गर्ने अवस्था बनेमा पनि बालिग भएको दुई वर्षभित्र एक देशको नागरिकता त्याग गर्नुपर्ने व्यवस्था छ ।

विदेशी नागरिकता त्यागेको अवस्थामा भने नागरिकता त्यागेको निस्सा नेपालका सम्बन्धित अधिकारीलाई दिएपछि पुनः नागरिकता प्राप्त हुने अवस्था छ । तर, अन्य देशको नागरिकता बहाल रहेको अवस्थामा भने नागरिकता प्राप्त हुँदैन ।

नेपालको संविधानले सार्क बाहेकका देशमा बसोबास गर्ने गैरआवसीय नेपालीका लागि राजनीतिक बाहेकका अधिकार उपयोग गर्न पाउने गरी नागरिकता दिने व्यवस्था गरेको छ । आर्थिक सामाजिक र सांस्कृतिक अधिकार उपभोग गर्न पाउने गरी नागरिकता दिने व्यवस्था संविधानले गरेको छ । तर, त्यसका लागि सङ्घीय कानुन भने निर्माण भएको छैन ।


सम्बन्धित शीर्षकहरु

इरानको राजधानी तेहरानमा जारी विरोध प्रदर्शनका क्रममा २० भन्दा बढी मस्जिद, बैंक र सार्वजनिक संरचनामा आगजनी तथा तोडफोड भएको इरानी…

निरेम प्रोडक्सन तथा अल मुल्ला एक्सचेन्जको संयुक्त प्रस्तुतिमा आयोजना गरिएको “Nirem Musical Event 2026” का अवसरमा नेपालबाट आमन्त्रित चर्चित गायक…

ईरानी राजा को वापसी को नारा तेहरान का सडकहरुमा गुन्जन थालेका छन । त्यहाँका राष्ट्रपति ले ईरानमा भईरहेको आन्दोलन सरकारको…

प्रतिकृयाहरू
...