Friday 18th October 2024

बाढी पहिरोमा परि देशका विभिन्न ठाउँमा दर्जन बढीको मृत्यु


तितोपाटी – अविरल वर्षासँगै आएको बाढीपहिरोमा परी देशभरिबाट कम्तीमा १२ को ज्यान गएको छ भने एक जना बेपत्ता भएका छन्। सिंगै तराई–मधेस क्षेत्र बाढीसँगै डुबानमा परेको छ। पहाडी क्षेत्रमा ठाउँठाउँमा पहिरो खसेको छ।

तराईका झापादेखि बर्दियासम्मको भूभाग डुबानमा परेको छ। जिल्लास्थित अन्नपूर्णकर्मीहरूले दिएको जानकारीअनुसार प्रदेश ५ मा मात्र आठ जनाको ज्यान गएको छ। त्यसमध्ये बाँकेमा चार जनाले ज्यान गुमाएका छन् भने रोल्पामा तीन जनाको मृत्यु भएको छ। दाङमा एक जनाको मृत्यु भएको छ।

प्रदेश २ को पर्सा जिल्लामा बाढीले बगाउँदा एक जना विद्यार्थीको मृत्यु भएको छ भने एक जना बेपत्ता छन्। प्रदेश ७ को कैलालीमा घर भत्किएर एक जनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन्।

राजधानी काठमाडौंमा एक जनाको मृत्यु भएको छ भने सिन्धुलीमा खोलामा डुबी एक जनाको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ।

राजधानी जोड्ने पृथ्वी राजमार्गको ठाउँ–ठाउँमा पहिरो खसेको छ। कर्णाली राजमार्ग पनि बन्द भएको छ। काठमाडौं उपत्यकासहित देशका प्रमुख सहरहरू पूर्वको विराटनगर, इटहरी, जनकपुर क्षेत्र, वीरगञ्ज, बुटवल, नेपालगञ्जको जनजीवन भारी वर्षाका कारण प्रभावित भएका छन्।

गृह मन्त्रालयले भने सोमबार साँझ ११ जनाको मृत्यु भएको र दुई जना बेपत्ता रहेको पुष्टि गरेको छ।

बाँकेमा सबैभन्दा बढी जनको क्षति भएको छ। नेपालगञ्जस्थित अन्नपूर्णकर्मी शंकर खनालका अनुसार बाँके जिल्लामा बाढीबाट दुई बालबालिकासहित चार जनाको मृत्यु भएको छ। दुई दिनदेखि परेको अविरल वर्षाबाट आएको बाढीमा परी बैजनाथ गाउँपालिकामा दुई, कोहलपुर नगरपालिका र डुडुवा गाउँपालिकामा एक÷एक जनाको मृत्यु भएको हो।

बाँके प्रहरी प्रमुख टेकबहादुर तामाङका अनुसार जेठी खोलाले बगाएर बैजनाथ गाउँपालिका–३ का ६५ वर्षीय तुलाराम बुढा र ज्वालीपुर नालाले बगाएर बैजनाथ–५ का ३५ वर्षीय लोकबहादुर सुनारको मृत्यु भएको हो। बिहान बाढीमा बगेर बेपत्ता भएका बुढाको शव दिउँसो मात्र भेटिएको थियो।

त्यसैगरी कोहलपुर नगरपालिका–४ गौवागाउँ निवासी ४ वर्षीय बालक रञ्जित पासीको घर नजिकैको खाल्डोमा परी र डुडुवा गाउँपालिका–२ निवासी ४ वर्षीया रिमाकुमारी यादवको पनि घरअगाडि जमेको पानीमा परेर मृत्यु भएको हो।

बाढीले नेपालगञ्ज उपमहानगरपालिकाको न्यूरोडस्थित सेतु विक चोक र घरवासी टोलक्षेत्र भने डुबानमा परेका छन्। नेपालगञ्जमा बाटो र नालाको काम जारी रहेकै बेला पानी निकास हुन नपाएर डुबान भएको हो।

घर भत्किँदा तीनको मृत्यु

उता, रोल्पा सहकर्मी खेमबहादुर बुढाका अनुसार जिल्लाको दक्षिणी भेगको सैबाङ गाउँमा पानीले गलेर पुरानो पर्खाल भत्किँदा १८ महिने शिशुसहित तीन जनाको मृत्यु भएको हो। भान्छाकोठामा आगो तापेर बसिरहेका सुत्केरीसहित तीनजना पुरिएर मृत्यु भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुदर्शन पन्थीका अनुसार मृत्यु हुनेमा रुन्टीगढी गाउँपालिका–५ सैबाङकी १८ दिनकी सुत्केरी २२ वर्षीया कमला विश्कर्मा, उनकी १८ दिनकी छोरी र जेठाजुको १५ वर्षीया छोरी चित्रा विश्वकर्मा रहेका छन्।

माथिल्लो घरआँगनको गाह्रो भत्किएर विश्वकर्माको घर पुरिएको हो। सुत्केरीलाई प्राथमिक स्वास्थ्य केन्द्र होलेरी लैजाँदै गर्दा मृत्यु भएको हो भने शिशुसहित दुईको घटनास्थलमै मृत्यु भएको थियो। अर्को कोठामा मृतकका पति राजकुमार विश्वकर्मा र सासू भने सुरक्षित छन्। उनीहरू अचेत अवस्थामा छन्। भत्किएको घरमुनिको अर्को घर पनि जोखिममा छ।

विद्यार्थीको मृत्यु, एक बेपत्ता

वीरगञ्ज सहकर्मी क्रान्ति शाहका अनुसार पर्सा जिल्लाको पर्सागढी नगरपालिकामा रहेको फन्ठी नदीमा आएको बाढीले बगाउँदा एक जना स्कुले छात्राको मृत्यु भएको छ। अर्का एक जना विद्यार्थी बेपत्ता भएका छन्। दुई विद्यार्थीको भने सकुशल उद्धार गरिएको छ।

बाढीले बगाएर पर्सागढी नगरपालिका वडा नम्बर ४ का जादोलाल रामकी छोरी १५ वर्षीया छोरी प्रतीमाकुमारी रामको मृत्यु भएको हो। बाढीले बगाएको उनको शव बगरमा भेटिएको थियो। बाढीले बगाएका पर्सागढी ८ का १५ वर्षीय सुरेन्द्र महतोको अवस्था भने अज्ञात छ।

यस्तै बाढीले बगाएका त्यही गाउँकी १५ वर्षीया संगीता चौरसिया र सोही उमेरका सुमन पासवानको भने स्थानीयले उद्धार गरे। विद्यालयबाट एकै साथ घर फर्किने क्रममा प्रतिमालाई बाढीले बगाएपछि उनलाई उद्धार गर्न भन्दै अरु तीन जना साथी नदीमा हाम फाल्दा उनीहरूलाई पनि बाढीले बगाएको थियो।

वीरगन्ज महानगरका आधा दर्जनभन्दा बढी टोलहरू डुबानमा परेका छन्। वीरगन्जको श्रीपुर, पानीट्यांकी, रानीघाट, नगवाको नयाँबस्ती, रामगढवा, तेजारथ टोललगायत क्षेत्रहरू डुबानमा परेका हुन्।

तुलसीपुर सहकर्मी गोपाल शर्माका अनुसार दाङको बबई गाँउपालिका वार्ड नम्बर ५ बस्ने सेतुराम वली खेतमा मृत फेला परेका छन्। उनको मृत्युको कारण भने खुलेको छैन। त्यस्तै, ट्वाङ खोलाले यात्रुवाहक बस बगाए पनि मानवीय क्षति भएको छैन।

धनगढी सहकर्मी शिवराज भट्टका अनुसार कैलालीमा घर भत्किएर एक जनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय कैलालीले दिएको जानकारी अनुसार अविरल वर्षाका कारण कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ९ धनचौरीकी ६२ वर्षीया दुथा रानाको मृत्यु भएको छ भने उनका श्रीमान् ६५ वर्षीय कडेवा राना घाइते भएका छन्। शनिबार रातिदेखि परेको अविरल वर्षाले रानाको कच्ची घर भत्किएको हो।

सबै जिल्लालाई गृहको सर्कुलर

गृह मन्त्रालयले सोमबार ७७ जिल्लाकै प्रमुख जिल्ला अधिकारी (सिडिओ) र प्रहरी प्रमुखलाई जिल्ला नछोड्न सर्कुलर जारी गरेको छ।लगातारको वर्षासँगै देशभरि बाढीपहिरोले जनधनको क्षति भएपछि गृहले सबै जिल्लाका सिडिओ र प्रहरी प्रमुखलाई पत्र लेख्दै जिल्ला नछाड्न कडा सर्कुलर जारी गरेको हो।

गृह प्रवक्ता रामकृष्ण सुवेदीले बाढीपहिरोको विनाश बढ्दै जान थालेको र जिल्लामा उद्धार र राहतमा सक्रियता बढाउनु पर्ने भएकाले सबै जिल्लाका सिडिओ र प्रहरी प्रमुखलाई जिल्ला नछोड्न सर्कुलर गरिएको जानकारी दिए। गृह मन्त्रालयले विपद् प्रभावित क्षेत्र र सम्भावित जोखिमयुक्त जिल्लामा उद्धारका लागि हेलिकप्टर समेत तैनाथ गर्न नेपाली सेनालाई आग्रह गरेको छ।

‘विपद्बाट क्षति हुनासाथ उद्धार र राहत तत्काल पु¥याउन र त्यसमा कुनै कसर बाँकी नराख्न जिल्लामा विशेष निर्देशन दिएका छौं’, प्रवक्ता सुवेदीले भने। अहिले विपद् व्यवस्थापनका लागि केन्द्रमा प्रधानमन्त्रीको अध्यक्षतामा विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद् रहेको छ भने प्रदेशमा मुख्यमन्त्रीको अध्यक्षतामा प्रदेश विपद् व्यवस्थापन समिति र सबै स्थानीय तहमा स्थानीय तहका प्रमुखको अध्यक्षतामा स्थानीय विपद् व्यवस्थापन समिति रहेको छ।

यसैगरी सबै जिल्लामा प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा जिल्ला विपद् व्यवस्थापन समिति रहेको छ।

केन्द्रदेखि प्रदेश, जिल्ला तथा स्थानीय तहमा रहेका विपद् व्यवस्थापन समितिले आपसमा समन्वय गरी विपद् व्यवस्थापन कार्यमा सक्रिय भइरहेको गृह प्रवक्ता सुवेदीले जानकारी दिए।

हाल गृह मन्त्रालयको केन्द्रीय विपद् कोषमा विपद् व्यवस्थापनका लागि झण्डै एक अर्ब रूपैयाँ छ भने प्रत्येक जिल्लामा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहने जिल्ला विपद् व्यवस्थापन कोषमा कम्तीमा ७ लाख रूपैया रहेको छ।

प्रधानमन्त्री मातहतको केन्द्रीय विपद् कोषमा पनि झण्डै ४ अर्ब रूपैयाँ रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ।यसैबीच दैवीप्रकोपको समयमा स्वास्थ्यसँग सम्बन्धित रोग तथा महामारी नियन्त्रणका लागि आवश्यक औषधिसहित स्वास्थ्यकर्मीको टोली तयारी अवस्थामा राखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका चिकित्सा महाशाखा प्रमुख डा.दीपेन्द्ररमण सिंहले जिल्लास्थित सबै स्वास्थ्य संस्थालाई तयारी अवस्थामा रहन निर्देशन दिइएको बताए।

सिंहले भने, ‘औषधिको लागि क्षेत्रीय मेडिकल स्टोरहरूमा पत्राचार गरिसकिएको छ। डोेटी, सुर्खेत, पोखरा र काठमाडौंमा महामारी नियन्त्रणका लागि तयारी अवस्थामा जनशक्ति र औषधिहरू तयारी अवस्थामा राखिएको छ।’


सम्बन्धित शीर्षकहरु

आइडीएफले आफ्ना सैनिकहरूले रफाहमा हमास नेतालाई मारेको पुष्टि गरेपछि प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले भने, हमासका नेता याह्या सिनवारको हत्याले इरानको नेतृत्वमा…

आश्विन शुक्लपक्ष चतुर्दशी र पूर्णिमा पनि आजै परेकाले मान्यजनबाट आशीर्वादस्वरुप नवदुर्गाको प्रसादका रुपमा यस वर्षको बडादशैंको टीका र जमरा लगाउने…

सियोल: उत्तर कोरियाले मङ्गलबार दुई कोरियाबीचको कडा सुदृढ सिमानाको आफ्नो छेउमा रहेको अन्तर-कोरियाली सडक र रेल लाइनका भागहरू विस्फोट गराएको…

प्रतिकृयाहरू
...