Wednesday 24th April 2024

हैट ! देख्दै रिङटा लाग्ने भिरबाट भारी बोकेर कसरी हिँड्छन् मान्छे ?


एउटा अक्करे भीर, दुहुनो गाई बन्न सक्छ ? धौलागिरि गाउँपालिका-४ मुदीको नाउरा भीर र पञ्चायत, बहुदल, माओवादी विद्रोह हुँदै गणतन्त्र र स्थानीय सरकारलाई भोट माग्ने र कमाउने भाँडो बन्यो । पञ्चायतदेखि बहुदलकालभरी हरेक वर्ष नाउराको भीरमा गोरेटो बाटो खन्न बजेट छुट्टिन्थ्यो । खासै प्रगति भएन । माओवादीले विद्रोहकालमा गाउँगाउँबाट मान्छे अपहरण गरी नाउरा भीर फोड्न श्रम शिविरमा राखे । र, धौलागिरि पदयात्रामा आएका पर्यटकबाट लाखौं चन्दा असुले ।


०६२/०६३ को जनआन्दोलनपछि साविक जिविसले केही विस्फोटन गरी डोरो निकालेपछि डोरीमा झुण्डिएर यात्रा गर्नु पर्ने अवस्था अन्त्य भएको हो । तर, अझै गोरेटो साँघुरो र डिलमा बार नहुँदा जोखिम उस्तै छ ।


स्थानीय, स्वदेशी र विदेशी गरी धेरै पदयात्रीले ज्यान गुमाए नाउरा भीरमा । ज्यानमारा नाउरा भीरमा धेरै राजनीति गरिएको र बजेट खर्च भएको छ । धौलागिरि गाउँपालिका-४ मुदीको मुख्य बस्ती मुदीसमेत नेरवाङ, खिवाङ, बगरा सबै बस्तीमा पुग्न भीरको बाटो हिँड्नै पर्छ । मुदीवासीको यो अनिवार्य बाध्यता । म्याग्दी खोलाको सिरान र धौलागिरि हिमालको फेदीमा पर्ने नाउरा भीरको बाटो भएर धौलागिरि आरोहण गर्न र फन्को लगाउन विदेशी पर्यटक आउने गरेका छन् ।

‘दैलोबाट खेतमा पुग्न पनि भीर उक्लनु पर्छ । हामी दु:खी छौं । धेरै हाम्रा आफन्त यिनै भीरबाट लडेर मृत्यु भए, हामी पालो पर्खेका छौं’ धौलागिरि गापा-४ मुदी बगरा घर भई धौलागिरि आधार शिविरमा होटल सञ्चालन गर्ने हरिबहादुर तिलिजाले भने, ‘नाउरा भीरको कथा भनेर धेरै नेता माथि पुगे तर हाम्रो कथा-व्यथा उस्तै छ ।’

नाउरा भीरपछि सबैभन्दा बढी अप्ठ्यारो र राजनीति भएको बाटो हो, दग्नाम–दर्मिजाको अजिङ्गर भीर । रघुगंगा गाउँपालिका-४ मा पर्ने अजिङ्गर भीरको नाम नै डरलाग्दो बाटो झन् डरलाग्दो । दुई दर्जन बढी यात्रुको मृत्यु भइसकेको ज्यानमारा अजिङ्गर भीरमा पनि अहिलेसम्म अर्ब बढी रकम खर्च भइसकेको छ । तर, अवस्था उस्तै छ । दर्मिजा, चिम्खोला, मंगले, ध्याँसीखर्कवासी हिँड्ने एक मात्र बाध्यता हो । अजिङ्गर भीर देखाएर पञ्चायतकालदेखि नै गोरेटो, घोडेटोको सपना पूरा नहुँदै हिजोआज नेताहरु मोटर बाटोको सपना बनाउँदै भोट माग्ने गरेका छन् ।

-कान्तिपुरबाट


सम्बन्धित शीर्षकहरु

गर्मी मौसममा मानिसहरु राहत पाउन विभिन्न प्रकारका तरल पदार्थको सेवन गर्छन् । यसै सन्दर्भमा आज हामी तपाईलाई ५ प्रकारका जुसको…

एजेन्सि-दक्षिण चीनमा भारी वर्षा र बाढीका कारण एक लाखभन्दा बढी मानिसलाई विस्थापित गरिएको छ । सरकारले प्रभावित क्षेत्रमा मंगलबार र…

राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा कतारका अमिर शेख तमिम बिन हमाद अल थानीले आज दुईदिने नेपालको राजकीय भ्रमणका क्रममा काठमाडौँ आइपुगेका…

प्रतिकृयाहरू
...