Tuesday 12th May 2026

सन १९७२ पछि चन्द्रमामा पुनः अमेरिकि वैज्ञानिक जाँदै


तितोपाटी – ‘मानवताको लागि एक सानो पाइला, सिङ्गै मानवजातिको लागि ठूलो छलाङ साबित हुनेछ,’ चन्द्रमामा पहिलो पाइला राख्ने मानवले यसो भनेका थिए ।

त्यो दिन थियो २१ जुलाई १९६९, जुन दिन नील आर्मस्ट्रङले चन्द्रमामा पाइला टेकेर इतिहास रचिदिएका थिए । यसपछि थप पाँच अमेरिकी अन्तरिक्ष अभियान चन्द्रमामा पठाइयो । सन् १९७२ मा चन्द्रमा पुग्ने युजिन सेरसन आजसम्मका अन्तिम अन्तरिक्षयात्री हुन्, उनपछि आजसम्म कोही मानिस चन्द्रमा पुगेका छैनन् ।

तर, करिब आधा शताब्दीपछि अमेरिकाले पुनः चन्द्रमामा मानिससहितको यान पठाइने उद्घोष गरेको छ । राष्ट्रपति ट्रम्पले यस मामलासँग सम्बन्धित एक प्रस्तावमा हालै हस्ताक्षर गरेका छन् । यस अमेरिकी तदारुकतासँगै प्रश्न उठेको छ– अमेरिका या अन्य कुनै पनि देशले आधा शताब्दीसम्म किन चन्द्रमामा अन्तरिक्षयात्री पठाएनन् होला त ?

यो प्रश्नको जवाफ खोज्दै जाँदा आर्थिक मामला जोडिएर आउँछ । अर्थात्, बजेट नै प्रमुख बाधक रहेको देखिन्छ । किनकि, चन्द्रमामा मानिस पठाउनु भनेको अति महँगो काम हो । लसएन्जेलसस्थित क्यालिफोर्निया युनिभर्सिटीमा खगोल विज्ञानका प्रोफेसर माइकल रिच भन्छन्, ‘चन्द्रमामा मानिस पठाउँदा अकल्पनीय धनराशि खर्च भएको थियो, तर त्यसअनुसार वैज्ञानिक फाइदा भने हासिल भएन ।’

विज्ञहरूका अनुसार उक्त मिसन वैज्ञानिक उपलब्धि हासिल गर्नेभन्दा पनि राजनीतिक अभीष्टका लागि भएको थियो, अन्तरिक्ष नियन्त्रण गरेर आफूलाई महाशक्ति दर्शाउने होडबाजीमा त्यतिबेला ठूलो खर्चको भार उठाएरै पनि अन्तरिक्ष मिसन पठाइएको थियो ।

अमेरिकाकै सन्दर्भमा चर्चा गर्नुपर्दा सन् २००४ मा तत्कालीन राष्ट्रपति डब्लू जर्ज बुशले पनि हालका ट्रम्पले जस्तै मानवसहितको मिसन पठाउने प्रस्ताव पेस गरेका थिए । त्यसका लागि एक लाख चार हजार मिलियन डलरको अनुमानित बजेट बनाइएको थियो । तर, त्यो विशाल राशिको बजेटकै कारण त्यतिबेला उक्त अभियानले हावा खान पुग्यो । सम्बन्धित विज्ञहरूले अहिले पनि यस्तै आशङ्का जनाएका छन् । किनकि, राष्ट्रपति ट्रम्पले यस महत्वाकाङ्क्षी प्रस्तावमा हस्ताक्षर गर्नुअघि सिनेटमा परामर्शसम्म पनि गरेनन् । यस्तो खर्चिलो मिसनको वैज्ञानिक–लाभ कम हुने हुनाले मिसनको लागि काङ्ग्रेसको स्वीकृति हासिल हुनु जटिल कुरा मानिएको छ ।

नासाले वर्षौंदेखि एक अर्को प्रोजेक्ट सम्पन्न गर्न लागिरहेको अवस्था छ । हालका वर्षमा नासाले कैयन नयाँ उपग्रह, वृहस्पतिमाथि खोज–अनुसन्धान, अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसनलाई कक्षमा लन्च, अन्य आकाशगंगा एवम् ग्रहहरूमाथि शोध गरेको छ । वर्षौंदेखि नासाले चन्द्रमामा दोहोऱ्याएर मानवसहितको मिसन पठाउने कुराको वकालत गर्दै आएको छ । यसमा कैयन वैज्ञानिक कारण रहेको उसको जिकिर छ । आजको परिवेशमा फेरि मानिस चन्द्रमामा पुग्न सके चन्द्रमाबारे निकै नयाँ जानकारी हासिल हुने नासाको तर्क छ । पछिल्ला वर्षमा चन्द्रमा प्रति मानव–जिज्ञासा वा रुचि बढेर गएको निचोडमा पुगेको छ नासा ।

सरकारी तथा प्राइभेट तवरले विभिन्न कोसिस पहिले पनि भएका हुन्, जहाँ चन्द्रमा पुग्ने घोषणा गरिएको मात्र नभई त्यहाँ मानव बस्ती नै बसाउनेसम्मका महत्वाकाङ्क्षी योजना पेस गरिएको थियो । ती योजना कम खर्चवाला प्रविधि तथा स्पेसक्राफ्ट निर्माणमा आधारित छन् । चीनले २०१८ भित्रै र रुसले सन् २०३१ सम्ममा चन्द्रमा पुग्ने योजना बनाएको सन्दर्भ यहाँ उल्लेख गर्नु सान्दर्भिक हुनेछ । यसैबीच कतिपय प्राइभेट परियोजनाअन्तर्गत स्पेस बिनेस मोडलको कुरा सार्वजनिक भएका छन् । यस्ता योजनाअन्तर्गत चन्द्रमामा खनिजहरूको उत्खनन गर्ने तथा चन्द्रमाबाट पत्थर ल्याई बहुमूल्यमा बेच्ने योजनासमेत रहेका छन् । अन्तरिक्ष अभियानको यस दौडमा अमेरिका कोहीभन्दा पछि हुन चाहँदैन भन्ने त सबैले बुझेकै कुरा हो ।


सम्बन्धित शीर्षकहरु

इजरायलको संसद (Knesset) ले सन् २०२३ अक्टोबर ७ मा भएको हमास नेतृत्वको आक्रमणमा संलग्न पक्राउ परेका व्यक्तिहरूलाई विशेष सैन्य अदालतमार्फत…

राष्ट्रपति रामचन्द्र पौडेलद्धारा संघीय संसदमा प्रस्तुत सरकारको नीति तथा कार्यक्रममा केही यस्ता बुँदाहरू समावेश भएका छन्, जसले दीर्घकालीन रूपमा मुलुकमा आशा…

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय ले सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी, मर्यादित र वातावरणमैत्री बनाउने उद्देश्यसहित देशव्यापी रूपमा “सरसफाइ सप्ताह २०८३” घोषणा…

प्रतिकृयाहरू
...