Saturday 11th April 2026

३३५ जना नेपाली विदेशी जेलमा, कुवेतका जेलमा भएकाको विवरण अाएन


तितोपाटी – विभिन्न देशको जेलमा ३ सय ३५ नेपाली रहेको सरकारले बताएको छ । २० जना भने विदेशस्थित विभिन्न अस्पतालको कोमामा छन् ।

परराष्ट्र मन्त्रालयको विनियोजित बजेटमाथि सांसदहरुले उठाएको प्रश्न दिँदै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले विदेशका जेलमा रहेका नेपालीहरुबारे जानकारी दिएका हुन् ।

उनका अनुसार सबैभन्दा धेरै साउदी अरेबियाको जेलमा २१९ नेपाली जेलमा छन् । यस्तै यूएईमा ६३ र बैंककमा ३९ जना नेपाली जेलमा छन् । बहराइनमा ९, सिंगापुरमा ४, चीनमा ३, इजरायल र ओमानमा २/२ तथा कम्बोडिया र लेबनानको जेलमा १-१ जना नेपाली रहेको मन्त्री ज्ञवालीले जानकारी दिए ।

मृत्युदण्ड पाएकाहरुको सजायलाई आजीवन कैद र गलत आरोपमा जेल परेकाहरुलाई आममाफी दिएर छुटाउन सरकारले पहल गरिरहेको उनले जानकारी दिए ।

यूएईमा रहेका अमरबहादुर बमको मृत्युदण्ड हटाउन सरकारले पहल गरेको तर, ठोस उपलब्धि भइनसकेको उनले जानकारी दिए । राष्ट्रपति विद्या भण्डारीको भ्रमणका क्रममा यसबारे गम्भीर कुरा उठाएको र आफू परराष्ट्रमन्त्री भएपछि पनि नेपाली राजदूतलाई बोलाएर यसबारे जानकारी लिएको उनले बताए ।

यसैगरी २० जना नेपाली विदेशस्थित कोमामा छन् । सबैभन्दा धेरै कतारमा ११ जना छन् । यस्तै साउदी अरेबियामा ५, बहराइन र यूएईमा २-२ जना छन् ।

सम्बन्धित देशमा रहेका नेपाली दूतावासहरुले उनीहरुको उपचारबारे चासो राख्दै आएको उनले बताए ।

परराष्ट्र मन्त्रीले गराएको जानकारीमा कुवेतको जेलमा रहेका नेपालीहरू गणना भए नभएको जानकारी छैन। साउदी अरेवियामा रहेका २१९ जना देखि लिएर लेबनानमा रहेका १ जना नेपाली सम्मको विवरण अाउँदा कुवेतको विवरण नअाउनुमा नेपाली राजदूतावास कुवेतले परराष्ट्र मन्त्रालयलार्इ विवरण उपलब्ध नगराएको हो वा कुवेतको जेलमा १ जना नेपाली पनि नभएको हो यस बारेमा केही पनि बताइएको छैन ।


सम्बन्धित शीर्षकहरु

इजरायली सेनाले दक्षिण लेबनानमा हिज्बुल्लाहका “सैन्य ठेगाना” र रकेट लन्च साइटहरूलाई लक्षित गर्दै ठूलो हवाई हमला गरेको जनाएको छ। इजरायलले…

अन्तर्राष्ट्रिय स्रोतहरूका अनुसार, इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्ले पाकिस्तानमार्फत वाशिंगटनलाई १०-बुँदे प्रस्ताव पठाएको छ र अप्रिल १० मा इस्लामाबादमा प्रत्यक्ष…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि भइरहेको बमबारी र आक्रमणको अभियानलाई स्थगित गर्ने घोषणा गरेका छन् । इरानले पठाएको १० बुँदे…

प्रतिकृयाहरू
...