Monday 13th April 2026

झण्डै ४१ लाख ब्लडमनी तिरेपछि थानेश्वर स्वदेश फर्किए


तितोपाटी – ६ वर्षदेखि साउदी अरबको जेद्दास्थित धावन जेलमा रहेका मध्यविन्दु–४, नवलपरासीका ३५ वर्षीय थानेश्वर भुसाल शुक्रबार राति स्वदेश फर्केका छन् । साउदी अदालतले माग गरेको एक लाख ५० हजार रियाल (४० लाख ९८ हजार रुपैयाँ) ब्लडमनी बुझाएपछि उनी जेलबाट मुक्त भई स्वदेश फर्केका हुन् ।

भुसालको उद्धारका लागि प्रवासी नेपाली समन्वय समिति (पीएनसीसी) ले २५ लाख ४८ हजार र गैरआवासीय नेपाली संघले १५ लाख ५० हजार गरी ४० लाख ९८ हजार रुपैयाँ परराष्ट्र मन्त्रालयलाई बुझाएको थियो । पीएनसीसीले चन्दा संकलन गरी रकम जुटाएको थियो ।

भुसाल ब्लडमनी तिर्न नसक्दा ६ फेब्रुअरी २०१४ देखि जेलमा थिए । २७ सेप्टेम्बर २०११ मा इनोभेटिक म्यानपावरबाट साउदी अरब गएका उनी साउदीमा गाडी चलाउँथे । ५ जुन २०१२ मा उनी गाडीसहित सडकमा थिए । ‘रोकिराखेको गाडीलाई पछाडिबाट एक भारतीय चालकले चलाएको गाडीले ठक्कर दियो’, थानेश्वर भन्छन्, ‘मेरो गाडी हुत्तिएर अगाडि रोकिराखेको अर्काे गाडीलाई ठक्कर दिन पुग्यो । त्यो दुर्घटनामा ठक्कर दिने भारतीय चालक इशम साहिब र ठक्कर खाने गाडीका चालक साउदी नागरिक रद जमान अलजदानी दुवैको ज्यान गयो ।’

जेद्दा प्रान्तमा अपराध हेर्ने न्यायालयका न्यायाधीश अब्दुलरहिम विन इब्राहिम अन्मुतेहेफले भुसाल र साहिब शतप्रतिशत दोषी रहेको फैसला गरिदिए । र, अलजदानीको परिवारलाई ३ लाख रियाल ब्लडमनी बुझाउन आदेश दिए । आदेशअनुसारको रकम दुई चालकका परिवारले आधाआधा जम्मा गर्नुपर्ने भयो । भुसाल परिवार त्यत्रो रकम बुझाउन सक्ने हैसियतमा थिएन । जेद्दास्थित नेपाली कन्सुलेटले ब्लडमनी मिनाहा गर्न आग्रह गरे पनि अलजदानी परिवारले मानेन । निजी कानुनमा परिवारलाई निर्णय गर्न छुट छ । तर, परिवारले अस्वीकार गरेपछि ब्लडमनी नबुझाएसम्म जेलमुक्त गर्न सकिन्न ।

भुसालले सबैको साथबाट आफू स्वदेश फर्कन सम्भव भएको बताए । उनका ६५ वर्षीया आमा यमकुमारीले छोरा फर्काउन सहयोग गर्नेहरूलाई धन्यवाद दिएकी छन् । ‘हामीलाई सहयोग गर्नेलाई कुन शब्दले धन्यवाद दिऊँ’, उनले भनिन्, ‘हामीसँग धन्यवाद दिने शब्द नै छैन ।’


सम्बन्धित शीर्षकहरु

जन सम्पर्क समिति कुवेतका संरक्षक राजेन्द्र विरहीले एक नेपाली महिला श्रमिकलाइ स्वदेश फर्कन सहयोग गरेका छन् । नेपाली कांग्रेस महासमिति…

खोटाङ कुवेत सम्पर्क मञ्चको पूर्व निर्धारित दोश्रो सांगीतिक कार्यक्रम स्थगित भएको छ । खोटाङ कुवेत सम्पर्क मञ्च कुवेतले अागामी मिती…

इस्लामाबादमा अमेरिका र ईरानबीच जारी उच्चस्तरीय वार्ता निर्णायक मोडमा पुगेको छ। ईरानी सरकारी टेलिभिजन IRINN ले स्पष्ट चेतावनी दिँदै आफ्ना…

प्रतिकृयाहरू
...