Thursday 1st January 2026

थाइल्याण्डको लायन एयर र ओमानको सलाम एयरले नेपालमा उडान शुरू गर्ने


तितोपाटी – नेपाली आकाशमा दुईवटा अन्तर्राष्ट्रिय हवाई कम्पनीले उडान गर्ने भएका छन्। थाइल्याण्डको थाइ लायन एयर र ओमनको सलाम एयरले उडान सुरु गर्न लागेका हुन्।

नागरिक उड्डयन प्राधिकरणका अनुसार थाइल्याण्डको थाइ लायनको ९० प्रतिशत प्रक्रिया पूरा भइसकेको छ। प्राधिकरणका उपनिर्देशक सुबास झाले भने,’थाइ लायनको एक हप्तामा फाइनल इन्सपेक्सन सकिनेछ। एक महिना भित्र थाइ लायनले नेपालमा उडान भर्नेछ।’
एयर कन्जेशन कम गर्नका लागि थाइ लायनले प्राधिकरणलाई दिउँसो १:३० अथवा २:३०को स्लट माग गरेको तर एयरलाइन्सको लागि ५:०० देखि ६:०० बजेको स्लट छुट्टाइएको झाले जानकारी दिए।

थाइ लायन एयरले साप्ताहिक रुपमा सातवटा नियमीत उडान भर्ने प्रस्ताव गरेको छ। थाइ लायनले बैंककको पुरानो विमानस्थल ‘दोन मुयेङ’ बाट नेपाल सीधा उडान गर्ने झाले बताए।

‘यसअघि नेपाल र थाइल्याण्डबीच साताको १० वटा उडान गर्ने सम्झौता थियो। जसमध्ये सातवटा थाइ एयरवेजले उडान भर्ने भनेको थियो। तीनवटा उडान थाइ एयरवेजकै भगिनी कम्पनी थाइ लायनले पाएको छ। चारवटा उडान टेम्पोररी अपरेटिङ परमिट अन्तर्गत पाएको थियो।- उनले भने।
थाइ लायनको एक सय ८९ सिट युक्त बोइङ ७३७-८०० जहाजले दोङ मुयेङदेखि नेपाल सीधा उडान गर्नेछ।

ओमानको सलाम एयरले पनि नेपाल उडानका लागि आवेदन दिएको झाले बताए। उनका अनुसार सलाम एयरले दुई महिना अघि निवेदन पेश गरेपछि सम्पर्कमा भने आएको छैन। सलमान एयरले राती १२ बजेपछि उडान गर्ने प्रस्ताव गरेमा कम्पनीलाई इजाजत दिइने झाले बताए।

हाल सलाम एयरले ओमानको मस्कट, सलल्हा र सोहरबाट आन्तरिक उडान भर्दै आएको छ भने अन्तर्राष्ट्रिय उडान युएइको दुबाइ, साउदी अरेबीयाको जेद्दा, पाकिस्तानको शैलकोट र कराँची, जर्जियाको त्बील्सी र अजरबैजानको बाकुम लगायत क्षेत्रमा गर्दै आएको छ।

कम्पनीले सातवटा गन्तब्यमा साप्ताहिक १ सय १६ वटा उडान भर्दै आएको छ। कम्पनीका अनुसार हालसम्म चार लाख यात्रुले सेवा लिइसकेका छन्।
सलाम एयरले सन् २०१७ ३०जनवरीबाट आफ्नो व्यवसायिक उडान सुरु गरेको हो। कम्पनीले हाल १ सय ७४ सिटयुक्त एयरबस ए३२० उडन गर्दै आएको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राती १२ बजेदेखि तीनबजेसम्म नौ वटासम्म अन्तर्राष्ट्रिय उडान अवतरण हुनसक्ने क्षमता रहेको झाले बताए। हालसम्म कुवेतको वातानिया एयरवेज र कतारको कतार एयरवेजले रात्री उडान भर्नका लागि इच्छा देखाएको उनले जानकारी दिए।

अन्तर्राष्ट्रिय एयरलाइन्स कम्पनीको एयर टिकट छ महिना अघिदेखि बुकिङ भइसक्ने हुनाले संचालनमा आइरहेका एयरलाइन्स कम्पनीले तत्काल राती १२ बजेपछिको उडान भर्न नसक्ने उपनिर्देशक झाको भनाई छ।


सम्बन्धित शीर्षकहरु

गुलाम नवी मन्सुर- कुवेतस्थित नेपाली दूतावासले विगत वर्षहरूमा कुवेतमा विभिन्न कारणले ज्यान गुमाएका तथा कार्यस्थलमा दुर्घटनामा परी घाइते भएका ७८…

साउदी नेतृत्वको गठबन्धनले यमनको हद्रामौतस्थित बन्दरगाह सहर मुकाल्ला मा हवाई आक्रमण गरेको बताएको छ। गठबन्धनका अनुसार युएईको फुजैराह बन्दरगाहबाट आएका…

बंगलादेशकी पूर्वप्रधानमन्त्री तथा बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) प्रमुख बेगम खालिदा जियाको निधन भएको छ । आज बिहान ६ बजे ८०…

प्रतिकृयाहरू
...