Tuesday 30th April 2024

‘सिंहदरबार २’ मा प्रधानमन्त्री बन्दै अभिनेत्री गौरी मल्ल


काठमाडौँ- सर्च फर कमन ग्राउण्ड नेपाल (सर्च) ले टेलिश्रृंखला ‘सिंहदरबार’को दोस्रो सिजन ल्याउने भएको छ । हाल निर्माणको क्रममा रहेको सिंहदरबारको सिजन २ लाई ‘नुमाफुङ’ चलचित्रबाट चर्चामा आएका निर्देशक नवीन सुब्बाले निर्देशन गरिरहेका छन् । शुभ मिडिया होमले निर्माण गरिरहेको टेलिश्रृंखलामा अभिनेत्री गौरी मल्ललाई फेरि पनि प्रधानमन्त्री आशा सिंहका रूपमा देख्न सकिनेछ ।

‘प्रधानमन्त्री आशा सिंहले आफ्नो कार्यभार सम्हालेकी छिन्, र यसपाली उनी गठबन्धन सरकारको नेतृत्व गर्दैछिन्,’ अभिनेत्री गौरी मल्लले प्रधानमन्त्रीको शैलीमा भनिन् ।

आफ्नो भूमिकाकाबारे अझ प्रष्ट्याउँदै उनी भन्छिन्, ‘सिंहदरबारको दोस्रो श्रृंखलाको अंश बन्न पाउँदा म निकै उत्साहित छु, र त्यो पनि देश साँच्चिकै वृहत राजनीतिक परिवर्तनको बाटो भएर अगाडि बढिरहेको बेलामा । निकै राम्रोसँग अध्ययन र अनुसन्धान गरी तयार पारिएको स्क्रिप्टले नागरिक र नेतृत्वकर्ताहरूका लागि सुशासनको रोडम्यापका रूपमा कार्य गर्नेछ ।’

दोस्रो श्रृंखलाले सिंहदरबारको पर्खालभित्र हुने राजनीतिक दृश्यहरूलाई दर्शकसामू ल्याउनेछ र चुनौतीको सामना गर्दै परम्परागत सोच बदलेर सहकार्यात्मक संस्कारमा अगाडि बढ्न चाहने एक महिला प्रधानमन्त्रीको राजनीतिक यात्राका आरोह अवरोहहरूलाई उजागर गर्नेछ ।

सर्चले गरेको पछिल्लो सर्वेक्षणका अनुसार ६६.७० लाख दर्शकले सिंहदरबारको पहिलो श्रृंखला हेरेका छन् र ८६५ भन्दा धेरैले पहिलो श्रृंखला हेरिसकेपछि देशमा महिला प्रधामन्त्रीलाई स्वीकार गर्न आफू तयार रहेको बताएका छन् ।

१३ भागको श्रृंखलाले वर्तमान समयको राजनीतिलाई प्रतिबिम्बित गर्दछ र देशलाई सकारात्मक बाटोतर्फ अगाडि बढाउनका लागि अघि सरेकी देशकी पहिलो महिला प्रधानमन्त्रीले सामना गर्नु परेका चुनौतीहरूलाई केलाउने प्रयत्न गर्नेछ ।

यो श्रृंखलाले संघीयता, असल शासन, नागरिकको मौलिक हक, समावेशीकरण तथा लैङ्गिक अल्पसंख्यकहरूका अधिकार जस्ता महत्वपूर्ण मुद्दाहरूलाई पनि अगाडि सार्नेछ ।

अमेरिकी सहयोग नियोग (युएसएड)को आर्थिक सहयोगमा सर्च फर कमन ग्राउण्ड-नेपालले उत्पादन गरेको यो टेलिश्रृंखला यही असारको अन्तिम साता प्रसारण गर्ने लक्ष्य राखिएको छ ।

श्रृंखलाको दोस्रो सिजनमा कलाकारहरू गौरी मल्ल, रमेश रञ्जन झा, प्रमोद अग्रहरि, हेमन्त चालिसे, आलोक थापा, प्रकाश घिमिरे, बादल भट्ट आदि प्रमुख भूमिकामा देखिनेछन् ।

-अन्नपूर्णपोष्टबाट


सम्बन्धित शीर्षकहरु

उत्तरी पेरुको पहाडी सडकबाट एउटा बस खाल्डोमा खस्दा कम्तीमा २५ जनाको मृत्यु हुनुका साथै एक दर्जनभन्दा बढी घाइते भएको स्थानीय…

७ बुँदे घोषणापत्र जारीगर्दै अन्तराष्ट्रिय झापाली समाजको तेस्रो क्षेत्रीय सम्मेलन युरोपको माल्टामा सम्पन्न भएको छ । अप्रिल २७ देखि सुरुभएको…

एजेन्सी- ६ महिनाको युद्धपछि इजरायल र हमासबीच २४ घण्टामा दोस्रो युद्धविराम हुनसक्ने सम्भावना देखिएको छ। हमास नेता याह्या सिनवारका अनुसार…

प्रतिकृयाहरू
...