तितोपाटी – महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले पाँच किलो सुनसहित बालाजुबाट एकजनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसरको टोलीले सोमबार बेलुका पाँच किलो सुनसहित एकजनालाई पक्राउ गरेको हो ।
पाँच किलो सुनसहित रसुवाका १८ वर्षका सोबहादुर तामाङलाई पक्राउ गरिएको एसएसपी बसन्त लामाले जानकारी दिए । तामाङ रसुवाबाट ५ किलो सुन कम्मरमा बाँधेर लोकल बस चढी काठमाडौं आएका हुन्। उनलाई गोप्य सूचनाको आधारमा नियन्त्रणमा लिई खानतलासी गर्दा सुन भेटिएको प्रहरीले जनाएको छ। बालाजुको तीनपिपलेबाट उनलाई पक्राउ गरिएको हो । प्रहरीले यस सम्बन्धमा बुधबार नै पत्रकार सम्मेलन गर्दैछ ।
घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको एसएसपी लामाले बताए । यसअघि गएको मंगलबार तीन किलो सुनसहित प्रहरीले टोखाबाट दुईजनालाई पक्राउ गरेको थियो ।