तितोपाटी – तपाईंले हुलाकबाट पठाएको पत्र कति दिनभित्र सम्बन्धित स्थानमा पुग्छ ? अवश्य पनि दुई–तीनदेखि एक साता वा पन्ध्र दिनभित्र प्रापकले पाउँछ । तर, भारतमा १० वर्षभन्दा अगाडि पठाइएका पत्र पनि कार्यालयकै भण्डारण कक्षमा भेटिएका छन् ।
वर्षौंदेखि पठाएका पत्र सम्बन्धित व्यक्तिलाई नपठाएको पाइएपछि लापर्बाही गरेको आरोपमा उडिसाको हुलाकका एक कर्मचारी निलम्बनमा परेका छन् । हालसालै खाली गरिएको एउटा हुलाक कार्यालयनजिकको विद्यालयका विद्यार्थीहरूले ठूलो झोलामा पत्र तथा सामग्री फेला पारेपछि हुलाकको लापर्बाही सार्वजनिक भएको थियो ।
विद्यालयनजिकैको चौरमा खेल्ने क्रममा उनीहरूले पत्र राखिएको ठूलो झोला फेला पारेका थिए । झोला खोलेर हेर्दा विभिन्न समयमा पठाइएका पत्र, एटिएम कार्ड, बैंकका पासबुकलगायतका महत्वपूर्ण कागजात भेटिएका थिए । भेटिएको झोलाबारे बालबालिकाले अभिभावकलाई जानकारी गराएपछि स्थानीय अधिकारी तत्काल सो स्थानमा पुगेका थिए ।
हिन्दुस्तान टाइम्स पत्रिकाका अनुसार झोलाभित्र सन् २००४ देखिको मितिका ६ हजार पत्र, प्याकेज र अन्य सामग्री भेटिएका थिए । १५ सय तस्बिर पहिलेकै अवस्थामा भेटिएको थियो भने अन्य बाँकी कागजात च्यातिएको थियो । सो हुलाकको शाखा केही साताअघि अर्को स्थानमा सरेको थियो । शाखाका सहायक पोस्ट मास्टर जगन्नाथ पुहान विगत एक दशकदेखि सो कार्यालयमा मुख्य भूमिकामा थिए । तर, उनले पत्र पठाउन कुनै प्रक्रिया चालेका थिएनन् ।
प्रेषकले मेल ट्र्याक गर्ने आशंकामा रजिस्टर गरिएका पत्रहरू सम्बन्धित ठेगानामा तत्कालै पठाइन्थ्यो । तर, सामान्य पत्रलाई भने वर्षौंदेखि एउटा भण्डारण कक्षमा थन्क्याइएको थियो । हुलाकका जिम्मेवार व्यक्ति किन आफ्नो कर्तव्यप्रति च्यूत भए भन्नेबारेमा केही खुलाइएको छैन । हिन्दुस्तान टाइम्सका अनुसार लामो समयदेखि हिँड्न नसकेकाले पत्र कोठामा थन्किएको भन्दै उनले आफ्नो बचाउ गरेका छन् ।
यति लामो समयसम्म आफ्ना पत्र नपाउँदा पनि स्थानीयले गुनासो नगर्नु आफैँमा विडम्बना भएको लापर्बाहीबारे अनुसन्धान गरिरहेका अधिकारीहरूले बताएका छन् । फेला पारिएका पत्रलाई ढिलै भए पनि सम्बन्धित व्यक्तिलाई पठाइने अधिकारीहरूले बताएका छन् । केही छरपस्ट फालिएका पत्रमा जागिरको आवेदनदेखि एटिएम कार्ड रहेका खामसमेत छन् ।