Tuesday 19th May 2026

रामसहाय यादव उपराष्ट्रपतिमा निर्वाचित


उपराष्ट्रपतिमा जसपाका रामसहाय यादव निर्वाचित भएका छन् । निर्वाचित यादवले पाँच सय १३ मत ल्याउँदा एमालेकी अष्टलक्ष्मी शाक्यले दुई सय ७३ मत ल्याएकी छिन् ।

यादवले प्रदेशतर्फ तीन सय २९ र संघतर्फ एक सय ८४ तथा शाक्यले प्रदेशतर्फ एक सय ६९ र संघतर्फ एक सय चार मत पाएकी छिन् । यादवले कुल ३० हजार तीन सय २८ मतभार पाउँदा शाक्यको मतभार १६ हजार तीन सय २८ छ ।संघीय सांसदको मतभार ७९ र प्रदेश सांसदको ४८ मतभार कायम गरिएको थियो । निर्वाचनमा कुल ५२ हजार ६ सय २८ मतभार कायम छ ।

शुक्रवारको निर्वाचनमा राष्ट्रपति निर्वाचनमा बनेको आठदलीय समीकरणबाट जनता समाजवादी पार्टी-नेपालका यादव उम्मेदवार बनेका थिए।

उनीसँग नेकपा एमालेकी अष्टलक्ष्मी शाक्य र जनमत पार्टीकी ममता झा प्रतिस्पर्धा गरेका थिए।

पछिल्लो आमनिर्वाचनमा बारा-२ बाट प्रतिनिधिसभामा निर्वाचित रामसहायप्रसाद यादव राजनीति सुरु गर्नुअघि शिक्षक थिए।

उनी जसपा नेपालका संसदीय दलका नेता समेत हुन्। उपराष्ट्रपति भएपछि भने उनको दलीय आबद्धता रहनेछैन।

नेपाल सद्भावना पार्टीबाट राजनीति सुरु गरेका उनी खासगरी मधेस आन्दोलनपछि निरन्तर जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव निकट छन्।

यसबीचमा उनी मधेसी जनअधिकार फोरम र सङ्घीय समाजवादी फोरममा आबद्ध भए।

पूर्णकालीन राजनीतिकर्मी हुनुअघि उनले डेढ दशकभन्दा बढी समय शिक्षण गरेका थिए।

विसं २०६४ सालमा उनी स्थायी शिक्षकबाट राजीनामा दिएर राजनीतिमा होमिएका हुन्।

उनी पहिलो संविधानसभामा समानुपातिक प्रणालीमार्फत प्रतिनिधित्व गरेका थिए।

विसं २०७४ सालको आमनिर्वाचनमा भने उनी प्रत्यक्षतर्फको चुनाव जितेका हुन्। उनी वन तथा वातावरण मन्त्रीसमेत बनेका थिए।

विसं २०२७ सालमा जन्मिएका उनी २०४७ सालदेखि राजनीतिक दलसँग आबद्ध भएको संसद् सचिवालयको परिचयात्मक पुस्तिकामा उल्लेख गरेका छन्। उनले बीएस्सी/बीएड सम्मको अध्ययन गरेका छन्।


सम्बन्धित शीर्षकहरु

नेपालका दुई प्रसिद्ध पर्वतारोही गाइडहरूले सगरमाथा आरोहणमा नयाँ इतिहास रचेका छन् । “एभरेस्ट म्यान” भनेर चिनिने कामी रिता शेर्पाले ३२औँ…

नेपालको लोकतान्त्रिक संरचनामा शक्ति पृथकीकरण केवल सैद्धान्तिक विषय होइन, राज्य सञ्चालनको आधारभूत मान्यता हो । कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका—तीनवटै अंगले…

नेपाल र बेलायतलाई कला मार्फत जोड्ने उद्देश्यसहित लन्डनमा बसोबास गर्ने नेपाली कलाकार सूर्य दुदराजले स्थापना गरेको टाइमलेस प्यालेटले आफ्नो पहिलो…

प्रतिकृयाहरू
...