Friday 18th July 2025

चित्रपट पञ्चाङ्ग भाग: ३६


चित्रपट पञ्चाङ्ग
===========
पञ्चाङ्ग सङ्ख्या : १
मिति : २०७९/०७/१०

प्रशिक्षक :
———–
रामराजा के.सी.
नारायण प्रसाद निरौला

भाषा शुद्धीकरण
—————–
चन्द्रवती अधिकारी

चित्र सङ्कलक
——————-
सविता के.सी
गुगल, सामाजिक सञ्जालबाट

समायोजक
—————–
👉️ सविता के.सी.

आदरणीय पञ्चाङ्गका अनुरागी एवम् पञ्चाङ्ग स्रष्टाज्यूहरू हार्दिक नमस्कार ।

हामी साप्ताहिक चित्रपट पञ्चाङ्ग लेखनको छत्तीसौँ शृङ्खलामा छौँ । यस शृङ्खलामा दिइएको चित्र अनुसारको बिम्बात्मक तथा गहन र मौलिक भाव झल्किने आफ्नो मनले देखेको पञ्चाङ्ग आफ्नो नाम र ठेगाना सहित कमेन्ट बक्समा लेख्नु हुन हार्दिक अनुरोध छ ।

नोट : संयोजन गर्न सहज हुने भएकोले कमेन्ट बक्समा नाम र ठेगाना सहित लेखिएका पञ्चाङ्ग मात्र समायोजन गरिने जानकारी गराइन्छ ।

चित्रमा पञ्चाङ्ग
===========
पञ्चाङ्ग १

रङ्गीचङ्गी तिहारमा धेरै फूल गाँसे हूँला
माहुरी र भ्रमराका बागहरू मासे हूँला
यसै गरी बित्ने गर्छन् चाडपर्व नेपालीको
एक अर्काको खुसीमा सप्तरङ्गी टाँसे हूँला
कति पीडा दबाएर मुसुमुसु हाँसे हूँला ।

सविता के.सी., काठमाडौँ ।

पञ्चाङ्ग २

बरफ पग्लेर पानी बन्छ
हृदय भएको दानी बन्छ
चौतर्फी खुसी छ तिहारमा
सिर्जना कलाको खानी बन्छ
संस्कार आँखाको नानी बन्छ ।

– आर्त अकुलीन, कैलाली

पञ्चाङ्ग ३

गर्न हुने नहुने काम छानेर गरौँ
छानी छानी सबै छुट्याई तानेर गरौँ
दिदी भाइ र दाजु बहिनी मिलिजुली
प्रकृतिको पूजा जो आफैँ जानेर गरौँ
रमाइलो गर्दै खुसी पो मानेर गरौँ ।

पूर्णबहादुर श्रेष्ठ “हृदयङकृत”
पनौती न.पा.-३,काभ्रे

पञ्चाङ्ग ४

दरिलो साथमा सौहार्दता राखेर मनाऔँ
मनको मैलो फाली मनैले जागेर मनाऔँ
सन्देश, श्रम, साहसको प्रतिक हो तिहार
मरी लानु केही छैन दिल साटेर मनाऔँ
रमाइलोले मगज बन्छ नाचेर मनाऔँ ।

प्रेम थापा “मन”

पञ्चाङ्ग ५

हुन दिन्न दुर्गन्धित वातावरण हाम्रो काग हाे सहारा
घरबारी रक्षा गर्ने इमान्दार चाम्रो कुकुर यो सहारा
गाई गाेरू जति भएन कुनै जिउने मानिसकाे आधार
भाइ बहिनीको नाता समाज रक्षक काम्रो ठुलो त्याे सहारा
झिलिमिली उत्सव कृतज्ञ हुने राम्रो तिहार भाे सहारा ।

टीकाराम जाेशी, टीकापुर ।

पञ्चाङ्ग ६

निधारमा इन्देणीको टीका लाऊ भाइ
मखमली फूल जस्तै फक्री छाऊ भाइ
यो दिदोको आशिर्वाद शिरोपर गर्दै
बिहानीको लालीसॅगै अघि जाऊ भाइ
सुखशान्ति समृद्धिको गीत गाऊ भाइ ।

घनश्याम पौडेल, पोखरा

पञ्चाङ्ग ७

काग तिहार कुकुर तिहार गाई अनि भाइ तिहार
मनाइन्छ नेपाल हुँदै पश्चिम भारत अनि विहार
लाग्छ सुन्दर पक्ष तिहारको पशुपंक्षी पुजन गर्ने
रमझम नेपालमै भएसी किन चाहियो र पियार
देशमै बसी देश विकास गरेर युवा देश सियार ।

तेजप्रसाद खनाल

पञ्चाङ्ग ८

सप्तरङ्गी टीका लगाई बस भाइ
आफ्नो संस्कृति जगाई बस भाइ
वर्ष दिनमा आउने चाड तिहार हाम्रो
मन्मा कालो द्वेष भगाई बस भाइ
चारै तिर मगमगाई बस भाइ ।

सरस्वती श्रेष्ठ इटहरी

पञ्चाङ्ग ९

गाउँ घर झलमल बत्तीले घेरिएको हेर्ने मन छ
टिका र जमराले अनुहार फेरिएको हेर्ने मन छ
यो वर्ष घर आउन पाएन है दाजुभाई दिदीबहिनी
सबैको साथ देउसी भैलोमा बेरिएको हेर्ने मन छ
तिहारको खुसी सबै घरमा छरिएको हेर्ने मन् छ ।

हेमराज महरा क्षेत्री

पञ्चाङ्ग १०

सबैलाई तिहारै आयो बुझेन मलाई
हर्षमा त आँसुले खायो बुझेन मलाई
आँगनमा आए भैली र देउसी मागन
रमाइलो भो गीत गायो बुझेन मलाई
जडौरी झैँ मागेर लायो बुझेन मलाई ।

सोमनाथ लुइटेल “रवि पाल्पाली”

पञ्चाङ्ग ११

उज्यालोको पर्व हो यो, अन्धकार नास्नु पर्छ
मन भित्रको वैमनस्यता अब मास्नु पर्छ
पशुपन्छीको पनि त महिमा भुल्नु हुदैन
सयपत्रीको माला जस्तै सद्भाव गाँस्नु पर्छ
सप्तरङ्गी टीका झै माइती चेली हाँस्नु पर्छ !

-पशपति राई खोटाङ्ग

पञ्चाङ्ग १२

आशा बोकेर बिसाउने अाओस् तिहार
चेलीमाइती खुसाउने छाओस् तिहार
फुलोस् फूल जस्तै रङ्गी विरङ्गी मनमा
नदुखाई मन कसैको जाओस् तिहार
अमन चैन शान्ति सबै पाओस् तिहार ।

होम प्रसाद नेउपाने
धरान, सुनसरी ।

पञ्चाङ्ग १३

सप्तरङ्गी टीका अनि ओखर किनेको छु उपहार होइन
मखमली फूलको माला उनेको छु दक्षिणाको भार होइन
सद्भावना बढोस् सदैव दाजुभाइ र दिदीबहिनी बीचमा
भेटघाट र मायाको चिनो ठूलो धनको सरोकार होइन
आशिर्वाद छ काफी महङ्गो उपहार चाडको सार होइन ।

निर्मला सुवेदी,बागलुङ ।

पञ्चाङ्ग १४

दिदी – भाइको पवित्र प्रेम तिहार खुसीको
भाग्यमानीले मात्र पाउँछन् पियार खुसीको
काग, कुकुर, गोरु, गाई र भाइ पुज्ने पर्व
सप्तरङ्गी टीकामा सजिने निधार खुसीको
द्यौसी र भैलो खेल्न पाइने संसार खुसीको

श्रीकृष्ण शर्मा पोखरा


सम्बन्धित शीर्षकहरु

तितोपाटी-श्रमिकको न्यूनतम पारिश्रमिक १९ हजार ५५० कायम गर्न सरकारलाई सिफारिस गरिएको छ । नेपाल सरकार, रोजगारदाता र श्रमिक संगठनबीच बिहीबार…

पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानले बुधबार (जुलाई १६) आफ्नो पार्टीका सदस्यहरूलाई पाकिस्तानी सेना प्रमुख असीम मुनीरलाई जेलमा केही भएमा जवाफदेही…

अमेरिकी विदेशमन्त्री मार्को रुबियोले सिरियाको राजधानी दमास्कसमा इजरायलले हालै गरेको आक्रमणको बारेमा वासिङ्टन "धेरै चिन्तित" रहेको बताएका छन्, किनकि युद्धविराम…

प्रतिकृयाहरू
...