तितोपाटी- भीमदत्तनगर, डडेल्धुराकी २२ वर्षीया नन्दिता भट्ट (नाम परिर्वतन)लाई श्रीमान्ले पाँच वर्षदेखि वास्ता गर्न छाडेपछि बिचल्लीमा पर्नुभयो । कलिलो उमेरमै विवाह गर्नुभएकी नन्दिता श्रीमान्ले छाडेपछि मानव बेचबिखनमा संलग्न समूह(दलाल)को फन्दामा पर्नुभयो ।
नन्दिताको अवस्थालाई नजिकबाट नियाल्दै आएका डडेल्धुरा अमरगढी नगरपालिका–८ का रुपेन्द्र पाण्डेयले अनेकौँ प्रलोभनमा पारेर भारत लग्दैगरेको अवस्थामा कञ्चनपुरको पश्चिमी नाका गड्डाचौकीबाट उद्दार गरिएपछि रहस्य खुलेको हो । पाण्डेयले नन्दितालाई कैलालीको धनगढीमा १२ कोठे घर र अन्य सम्पतिसमेत छ भन्दै फकाएर भारत लगिरहेको अवस्थामा प्रहरीको फन्दामा परेका हुन् ।
कञ्चनपुर प्रहरी हिरासतमा रहेका पाण्डेयले नन्दितालाई सामान किन्ने बहानामा दिल्ली लैजाँदै गड्डाचौकीमा पक्राउ परेका हुन् । मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणका लागि गड्डाचौकीमा स्थापना गरिएको ‘थ्री एन्जल्स नेपाल’ संस्थाले गत असार २३ गते नन्दिताको उद्धार गरी आफ्नो संरक्षणमा राखेको छ ।
“नन्दिताका श्रीमान् पनि भारतमै लामो समयदेखि मजदुरी गरिरहेका रहेछन्”, थ्री एन्जल्स नेपाल कञ्चनपुरका इन्चार्ज बेलु नेपालीले रासससित भन्नुभयो । आर्थिक अवस्था निकै कमजोर भएपछि नन्दिता दलाल पाण्डेयको प्रलोभनमा परेकी खुलेको छ । पाण्डेयले नन्दितालाई विवाह गर्ने प्रलोभन दिएको नेपालीले बताउनुभयो । विवाहपछि भारतमै बस्दै आएका नन्दिताको श्रीमान् अहिलेसम्म सम्पर्कमा आएका छैनन् ।
लामो प्रयासपछि मानव बेचबिखनमा सक्रिय पाण्डेयलाई डडेल्धुराको पोखराबाट प्रहरीले पक्राउ गरिएको हो । “नन्दिताको गहनासमेत बेचेर श्रीमती भन्दै भारत लगिरहेको थियो,” थ्री एन्जल्स नेपालकी इन्चार्ज नेपाललीले भन्नुभयो । नन्दितालाई सोधपुछका क्रममा नियन्त्रणमा लिएपछि अभियुक्त पाण्डेय भारतको बनबासातर्फ भागेका थिए । उनी भारतको झुलाघाट हँुदै बैतडीबाट डडेल्धुरा फर्किएका थिए ।
प्रहरीको सहयोगमा पक्राउ गरी अहिले पाण्डेयमाथि कानूनी कारबाही अघि बढाइएको छ । “अनुसन्धानका क्रममा पाण्डेयको घरमा तीनवटी श्रीमती रहेको खुलेको छ,” नेपालीले भन्नुभयो, “दुईवटा श्रीमती घरमै छन्, अर्की श्रीमती बाहिर रहेको पाइएको छ ।”
थ्री एन्जल्सले उद्धारपछि नन्दितालाई आयमूलक सीपका लागि केन्द्रीय कार्यालय पोखरा पठाउने तयारी गरेको छ । “पोखरामा सीप सिकेर केही काम गर्ने योजनामा छु,” नन्दिताले भन्नुभयो । पश्चिमीनाका गड्डाचौकीबाट पछिल्लो समय रोजगारीका लागि तेस्रो मुलुक जाने महिलाको संख्या बढ्दै गएको छ । घरबाट विभिन्न बहना बनाई दलालको सम्पर्कमा आएर सो नाकाबाट महिला सोझै दिल्ली पुग्ने गरेका छन् ।