पाल्पा साहित्य समाजद्वारा प्रकाशित, कथाकार शान्ता शाक्यद्वारा लिखित दुइवटा कथा संग्रहको विमोचन एवं विमर्श कार्यक्रम सम्पन्न भएको छ । पाल्पा साहित्य समाज पाल्पाको आयोजनामा तानसेन टक्सार टोल महाचैत्य बिहारमा आयोजित कार्यक्रममा दुइवटा कथाकृति विमोचन गर्दै प्रमुख अतिथि पत्रकार सेनानी वरिष्ठ पत्रकार मेघराज शर्माले, “शान्ता शाक्य प्राज्ञिक र साहित्यिक व्यक्तित्वको रूपमा स्थापित हुन भएकी पाल्पाली चेलीको यी दुवै कथाकृति दस्तावेजको रूपमा अव्वल रहनेछन्” भनी बताउनु भयो ।
पाल्पा तानसेन टक्सार टोल जन्म भइ काठमाडौंमा कर्म गर्दै आउनु भएकी पाल्पाली चेली शान्ता शाक्य सेवा निवृत सह प्राध्यापक र समीक्षक हुनुहुन्छ । शाक्यले एकैसाथ दुइवटा कथा संग्रह प्रकाशन गर्नु भएको छ । कथा संग्रह ‘बादल फाटेपछि’ को समीक्षा गर्दै त्रिभुवन बहुमुखी क्याम्पस पाल्पाको उप प्राध्यापक अर्चना शाक्यले ,“ संग्रह भित्र १५ वटा कथाहरू रहेको , नारी मनोविश्लेषणात्मक कथाहरू रहेका अधिकांश कथाहरू व्यवहारिक घटना केन्द्रित रहेको” भनी बताउनुभयो ।
यसरी नै अर्को कथा संग्रह “अपराजित योध्दा” को समीक्षा गर्दै पाल्पा साहित्य समाजका सदस्य एवं प्रखर समीक्षक कमल खत्रीले,“अपराजित योद्धाभित्र १६ वटा कथाहरू रहेको, कथाहरू सामाजिक समसामयिक एवं मनोविश्लेषणात्मक दृष्टिकोणले अव्वल रहेको,मनोवाद, निवन्धात्मक, विश्लेषणात्मक ,सम्वादात्मक एवं पत्रात्मक शैलीमा लेखिएका कथाहरूले बौद्धिक खुराक प्रदान गरेका छन्“ भनी बताउनु भयो ।
समाजका संरक्षक एवं अग्रज साहित्यकार राजेन्द्रगोपाल सिहले, “शान्ता शाक्य पाल्पाली चेली हुनु भएको र कर्म काठमाडौ भएतापनि जन्मभूमि पाल्पालाई संझेर घर आँगनमै कृति बिमोचन गर्न आउनु भएको, शिक्षा र साहित्यको क्षेत्रमा कलम चलाउदै सशक्त पाल्पाली नारीको रूपमा स्थापित भएकोमा पाल्पा गौरवान्वित रहेको” भनी बताउनुभयो ।
समाजका अध्यक्ष पुष्कर अथक रेग्मीले, “समीक्षक शान्ता शाक्य अब कथाकारको रूपमा समेत जन्मनु भएको छ । दुवै कथाकृतिमा शाक्य मनोसामाजिक यथार्थवादी कथाकारको रूपमा प्रतिष्ठापित हुनु भएको छ ।पाल्पामा हालसम्म ८ जना नारी स्रष्टाहरूले कथा कृति प्रकाशन गरिसकेको अवस्थामा शान्ता शाक्यको जम्ल्याहा कथाकृतिले स्रष्टा र द्रष्टाहरूलाई
साहित्यिक खुराक सहित अभिप्रेरणा प्रदान गर्नेछ” भन्नु भयो ।
समाजका सल्लाहकार चित्रवली राम सुवालले स्वागत मन्तव्य व्यक्त गर्ने क्रममा, “पाल्पा साहित्य समाजले हालसम्म डेढ दर्जन कृति प्रकाशित गरिसकेको अवस्थामा यी कृति थप दस्तावेज हुने भन्दै समाजले छविलाल नेपाल पाल्पाली पुरस्कार प्रदान गर्दै आएको र अक्षयकोष खडा गरेकोले स्रष्र द्रष्टाहरूसंग समाजले सक्दो सहयोगको अपेक्षा गरेको छ” भनी बताउनुभयो । यही क्रममा कथाकार शान्ता शाक्यद्वारा छविलाल नेपाल पाल्पाली अक्षयकोषमा रू दस हजार प्रदान गर्नुभयो ।
कार्यक्रममा पोखराथोक साहित्य संगमका अध्यक्ष हरि भट्टराई , तानसेन गुठीका अध्यक्ष सुशील प्रधान, त्रिभुवन बहुमुखी क्याम्पस पाल्पाका क्याम्पस प्रमुख साहित्यकार टंक प्रसाद भट्टराईद्वारा शुभकामना मन्तव्य व्यक्त गरिएको थियो । लेखक शान्ता शाक्यले “ जन्मभूमि पाल्पा तानसेन टक्सारमै आएर कृति बिमोचन गर्न पाउँदा अपूर्व खुशी लागेको, छरपस्ट रहेका कथाहरूलाई लकडाउनको समयमा एकत्रित गरी प्रकाशनमा ल्याउन पाउँदा निकैनै आनन्द आएको, माइतीघरको साहित्यमय माया अविस्मरणीय रहेको“ भनी बताउदै पाल्पा तानसेनको सन्दर्भमा लेखिएका केही शीत, षडऋतु र जुनेली कविताहरू समेत वाचन गर्नुभयो ।समाजका अध्यक्ष पुष्कर अथक रेग्मीको अध्यक्षतामा आयोजित कार्यक्रमको संचालन सचिव महेन्द्र पन्थीद्वारा गरिएको थियो । कार्यक्रममा ६१ जनाको सहभागीता/उपस्थिति रहेको थियो ।