Tuesday 15th July 2025

नेपाल टी-२० विश्वकपमा छनोट हुन असफल


तीतोपाटी डटकम-आइसीसी टि-२० विश्वकप छनोट हुनबाट नेपाल चुकेको छ । मंगलबार भएको विश्वकप छनोट ‘ए’को सेमिफाइनल खेलमा युएईसँग ६८ रनले पराजित भएसँगै नेपाल विश्वकप छनोटबाट बाहिरिएको हो ।

युएईले प्रस्तुत गरेको १७६ रनको विशाल विजयी लक्ष्य पछ्याउनेक्रममा निकै खराब सुरुवात गरेको नेपाल १८.४ ओभरमा अलआउट हुँदै १०७ रनमै समेटिएको हो । युएईका बलिङसामू नेपाली खेलाडी क्रिजमा जम्न सकेनन् । नेपालका दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ३८ रन बनाउँदा ज्ञानेन्द्र मल्ल २० रनमा पेभेलियन फर्किए ।

नेपालले तेस्रो ओभरमै तीन विकेट गुमाउँदै संकटमा पुगेको थियो । पहिलो ओभरको चौथो बलमा आसिफ शेख शून्यमा एलबीडब्लूमा आउट हुँदा अर्को बलमा लोकेश बम ठूलो सट खेल्ने धुनमा गोल्डेन डक आउट क्याच भए । नेपाली टिमको आश बोकेका ओपनर कुश भुर्तेसमेत ७ रनमा आउट भए । युएईका कप्तान अहमद राजा एक्लैले ५ विकेट लिए । त्यस्तै, जुनैद सिद्दिकले ३ विकेट लिँदा जाहुर खान र रोहन मुस्तफाले समान १/१ विकेट लिए ।

त्यसअघि ओमान क्रिकेट एकेडेमी ग्राउन्ड–१ मा मंगलबार भएको पहिलो सेमिफाइनल खेलमा टस जितेर पहिला ब्याटिङ रोजेको युएईले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १७५ रन बनाएको थियाे । युएईका लागि ओपनर मुहम्मद वासिमले सर्वाधिक ७० रन जोडे । त्यस्तै, विष्फोटक ब्याटिङ गरेका १९ वर्षिय युवा विकेटकिपर वृत्य अरविन्द २३ बलमा ४६ रन बनाउँदै आउट भए ।

मुहम्मद उष्मानले १७ तथा जवार फरिदले ११ रन जोडे । खेलको सुरुवातमा उच्च लयमा रहेका ओपनर चिराग सुरीलाई ४ रनमा बोल्ड आउट गर्दै नेपालले महत्वपूर्ण सफलता लिएपनि त्यसपछि भने खासै राम्रो प्रदर्शन गर्न सकेको थिएन । नेपालका जितेन्द्र मुखिया र अविनाश बोहराले समान ३-३ विकेट लिँदा कप्तान सन्दीप लामिछानेले १ विकेट लिए ।

योसँगै नेपालले दोस्रो पटक विश्वकपमा पुग्ने अवसर गुमाएको छ । यसअघि नेपाल पहिलो पटक सन् २०१४ मा बंगलादेशमा भएको विश्वकपमा छनोट भएको खबर काठमान्डु पाटीले लेखेको छ ।


सम्बन्धित शीर्षकहरु

तितोपाटी - सुनसरीको हरिनगर गाउँपालिका–६ स्थित महरम चोकमा गोली प्रहार गरेर १८ वर्षीया किशोरीको हत्या भएको छ।सोमबार बिहान साढे २…

कर्नाटकको उत्तरा कन्नडको दुर्गम क्षेत्रमा रहेको गुफामा प्रहरीले एक रुसी महिला र दुई केटीहरू फेला पारेको छ। प्रहरी गस्ती टोलीले…

जुन १५ मा तेहरानमा भएको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्को बैठकमा इजरायली हवाई आक्रमणमा इरानका राष्ट्रपति मसूद पेजेश्कियानलाई सामान्य चोट लागेको…

प्रतिकृयाहरू
...