Saturday 15th August 2026

स्रष्टा परिचयको साथमा एक रचना, भाग – ९


स्रष्टा परिचय
– नाम – रुद्र ज्ञवाली
– जन्ममिती – १ कार्तिक २०२०
– जन्मस्थान- रुरु गा पा २ गुल्मी
– मातापिताको नाम- रुक्माँगत/ टीकादेवी
– हालको स्थाइ / अस्थाई बासस्थान – सिद्धार्थनगर न. पा.-८ रुपन्देही ।

– शिक्षा- स्नातक
– पेशा- निजामती सेवाबाट निवृत
– आवद्ध साहित्यिक क्षेत्र- सिद्धार्थ साहित्य परिषद, प्र ले स, जनमत लगायत एक दर्जन जति

– पाएका सम्मान तथा पुरस्कार – सम्मान र पुरस्कार गरि दुई दर्जन ।

– लघुकथा लेख्न थालेको मिति – २०४४ देखि
– पहिलो लघुकथा- अस्तित्ववोध
– कुनै पत्रीकामा पहिलोपटक छापिएको लघुकथा पत्रीकाको नाम सहित- अस्तित्ववोध, २०४५ साल ,
मधुपर्क ।
– हालसम्म प्रकाशित कृतिहरू

निर्वासन -कथासंग्रह- २०५८
सपना फुल्ने रातहरू- गजल संग्रह- २०६१
बिबरुका कथाहरू – सहप्रकाशन- २०६६
उन्मुक्त आकाश- मुक्तक संग्रह- २०६६
असल साथी – बालकथा संग्रह- २०७२
पात्रहरू- कथा संग्रह – २०७३
रुझेर अग्निवर्षामा- मुक्तक संग्रह- २०७५

लघुकथा: नर्कवास
रूद्र ज्ञवाली

“हाम्रो हिजोको निणर्यको के प्रतिक्रिया छ त ?” धर्मराजले आफ्ना प्रमुख गुप्तचरसँग जिज्ञाशा राखे ।
“स्वर्ग पठाइएकाहरू सन्तुष्ट हुनु र नर्क पठाएकाहरू असन्तुष्ट हुनु त नियमित र स्वाभाविक प्रक्रिया थियो । तर यसपटक कहिल्यै नभएको विचित्रको घटना घट्यो महाराज । ” प्रमुख गुप्तचरले हात जोड्दै जाहेर गर्‍यो ।
“के भयो त्यस्तो अचम्मको कुरा ? ” धर्मराजले जिज्ञाशा राखे ।
“महाराज नर्क चलान भएका मनुवा मध्ये एकजना नर्कमा दुखित छैन । अति प्रफुल्ल भएर रमाइरहेको छ । ” गुप्तचरले पुनः जाहेर गर्‍यो ।
“मान्छेहरू नर्कको नाम सुन्नासाथ थर्कमान हुन्छन् । त्यो मनुवा नर्कवासमा दुखित हुनुको सट्टा कसरी खुशी हुन सक्यो ? यस वारेमा केही बुझेनौ ?? ” धर्मराजले सोधे ।
“महाराजको आदेश विना यस विषयमा सोधपुछ गरि हाल्नु मनासिव लागेन महाराज । महाराजबाट मर्जी हुन्छ भने ……. । ” गुप्तचर आदेशको प्रतीक्षामा देखियो ।
“ अँ .. त्यो रहस्यमय मनुवालाई म भेट्न चाहन्छु । त्यसलाई तुरुन्त यहाँ झिकाउ । ” धर्मराजले आदेश दिए ।
“ए ! मनुवा तँलाई नर्कमा बस्नु पर्दा पनि कुनै पश्चाताप, ग्लानी वा दुःख लागेको छैन । ” धर्मराजले आफ्नो अगाडि उभिएको मान्छेसँग प्रश्न गरे ।
“छैन महाराज छैन । यहाँको सबै व्यवस्थाबाट म एकदम सन्तुष्ट छु । सधै नै यत्तिको सुविधाको ग्यारेन्टी हुने हो भने म एक जुनी त के सयौं जुनी नर्कमा बस्न तयार छु । ” त्यो मान्छेले मुसुमुसु हाँस्दै जवाफ दियो ।
“मान्छेहरू नर्क भन्ने वित्तिकै थर्थर काँप्छन् । तर तँ भने नर्कमा रमाउँदैछस् । मेरो जीवनमा तँ जस्तो रहस्यमय मान्छे मैले कहिल्यै देखेको थिएन । यो खुशी किन त मनुवा ? ” धर्मराजले मान्छेसँग सोधे ।
“किनभने जहाँबाट म यहाँ ल्याइएँ त्यहाँको भन्दा यहाँको व्यवस्था सबै किसिमले उच्चकोटीको छ । यहाँ जे हुन्छ कम्तीमा पनि कानुन बमोजिम हुन्छ । म ल्याइएको देशमाजस्तो भनसुन र पहूँचका आधारमा हुँदैन । यहाँ विधि सर्बोच्च छ ” मान्छेले जवाफ दियो ।
“ ए !…. त्यस्तो पो … ? कहाँबाट ल्याएको रे मनुवा तँलाईं ? ” यमराजले अचम्म मान्दै सोधे ।
“ मत्र्य मण्डलको नेपाल भन्ने देशबाट , महाराज । ” मान्छेले जवाफ दियो ।

भैरहवा


सम्बन्धित शीर्षकहरु

नेपाल आदिवासी जनजाति महासंघ, कुवेतको आयोजनामा ३२औँ विश्व आदिवासी दिवस तथा १२औँ वार्षिक उत्सव–२०२६ शुक्रबार, १४ अगस्ट २०२६ का दिन…

लेबनानका प्रधानमन्त्री नवाफ सलामले लेबनानी भूभागबाट इजरायली सेना पूर्ण रूपमा फिर्ता हुने स्पष्ट समयतालिका तय गर्नुपर्ने बताएका छन्। उनले इजरायलले…

इरान युद्धपछि चिनियाँ विद्युतीय गाडीको उछाल : नेपालमा ईभी बजारको भविष्य कता ? इरान युद्ध र होर्मुज जलडमरूमध्यमा आएको अवरोधपछि…

प्रतिकृयाहरू
...