Wednesday 14th October 2026

लघुकथाः बुबा -शेखरकुमार श्रेष्ठ


“अब अति भयो, यौगेश । कि घर छाड् कि घर सम्हाल् । लाठे र भुसतिघ्रे छोरालाई खर्च दिएर अब म पाल्न सक्दिनँ ।”
“होइन बुबा ! किन मलाई बोझ ठान्नुहुन्छ ? किन मलाई घर छाड् भन्नुहुन्छ । मैले पैसा कमाउन नसकेर ? यत्रो घर छ, किन चाहियो, पैसा ?”
“घरमा थेचरेर बस्ने छोरालाई के त्यसोभए म तक्मा दिऊँ ? कि गोडा ढोगेर माफी मागूँ ?”
“हुन्छ, बुबा । माफी माग्नु पर्दैन । तपाईँको आज्ञा मान्दै म आजै र अहिल्यै घर छाडिदिन्छु ।”
बाबु र छोराको चर्काचर्की सुनेकी आमा आएर कराउन थालिन् “होइन, छोरालाई किन गाली गर्नुहुन्छ ? तपाईँलाई अलिकति दया लाग्दैन । गरिहाल्छ नि काम । उसलाई सोच्न दिनुहोस् न ।”
“सोचेर काम बन्दैन । प्रयास गर्नुपर्छ । घरमा काम आउँदैन । खोज्न जानुपर्छ । नभए भारी बोकेर खान जान्नुपर्छ ।”
“बुबा ! आज हजुरले हदैको सीमा नाघ्नुभयो । म तपाईँको घरमा बस्दिनँ । म छाडिदिन्छु । यस घरमा म आउँदिनँ ।”
“हुन्छ, नआइजो । मलाई कोठाको प्वालबाट ननिस्कने मानसिक रोगले ग्रस्त सन्तानबाट केही आशा पनि छैन ।”
यौगेश तुरुन्त झोला बोकी बाहिर निस्कियो । उसले तरक्क आँसु झार्यो । उसले निरीह आमालाई गएर ढोग्यो अनि सरासर अगाडि बढ्यो ।
“यौगेश, तँ साँच्चै जान लागेको ?”, आमाले सोधिन् ।
यौगेश केही नबोली अगाडि बढ्यो । “कति गाली गर्नुभएको ? कहाँ जान्छ, त्यो ? के खान्छ त्यसले ?”, आमाले आँसु झार्दै भनिन् ।
“त्यो कहीँ जाँदैन, रूपा । त्यसले तँ रोगी छेस् । भैपरी आउँदा मलाई गाह्रो हुन्छ भनेर पाएको जागिर खान नजाने सोच बनाएको हो ।”
“हो र ?”
“हो । त्यसले सैनिक सेवामा नाम निकालेको छ । अब जागिर खान जान्छ । हाम्रो एकोहोरो मायामा त्यो बिग्रन खोज्दै थियो । अब भविष्य बनाउँछ ।”


सम्बन्धित शीर्षकहरु

सर्वोच्च अदालतले वैयक्तिक स्वतन्त्रता, बन्दी प्रत्यक्षीकरण र अनुसन्धानका क्रममा हुने थुनाको म्याद थपसम्बन्धी महत्वपूर्ण व्याख्या गरेको छ। अदालतले अनुसन्धानका लागि…

भारत भ्रमणमा रहेका नेपालका गृहमन्त्री सुदन गुरुङले भारतीय समकक्षी अमित शाहसँग द्विपक्षीय भेटवार्ता गरेका छन्। भेटका क्रममा नेपाल र भारतबीचका…

आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपालले घरेलु टोली ओमानमाथि शानदार जित हात पारेको छ। अल अमिरात क्रिकेट मैदानमा भएको…

प्रतिकृयाहरू
...