गाउँ/शहरमा जाडो ह्वात्तै बढेको थियो । सबै जना कठाङ्ग्रिएर लुगलुग काम्दै थिए ।
भेंडागोठालोले भेंडाहरूलाई हेर्यो । भेंडाहरू झ्यापुल्ले भुत्लाहरू भिरेर पनि लुगलुग काम्दै थिए ।
गोठालोले अनुहारमा मिठासता फैलाउँदै बोल्यो – “भेंडाहरू हो, म तिमीहरू सबैलाई एक एकवटा बाक्ला कम्बलहरू बनाइदिन्छु । त्यही कम्बल ओडेर तिमीहरूले यो जाडो भगाउनु पर्छ ।”
सबै भेंडाहरू खुसीले बुर्लुक्क उफ्रिए ।
गोठालोले सबै भेंडाहरूको बाक्लो भुत्लाहरू स्नेहपूर्वक खौरियो । भेंडाहरू सर्वाङ्ग नाङ्गा भए ।
गोठालो भेंडाहरूको भुत्लाहरू बोकेर कम्बल लिन सहर पस्यो । तर अझै फर्किएको छैन । भेंडाहरू जाडोमा लुगलुग काम्दै कम्बल पर्खिरहेका छन् ।
@कुरिलो घर
काठमाडौ ।