Saturday 24th January 2026

गद्य कविता:- प्रकृति र मेरो कलम -शोभा कडरिया कोइराला


प्रकृतिको मनमोहक दृश्यसँगै
अनुकूल वातावरणलाई पछ्याउदै,
बयान गरिरहन्छ मेरो कलम
सिर्जनात्मक कार्यमा समर्पित हुँदै यसरी-

ए प्रकृति !
आफैमा सुसज्जित
अनेक लता, लहरा, खोला, खहरे
सुन्दर बोट- वनस्पति,
चट्टानमा फूल फुलाउने
तिम्रो अद्भुत शक्ति पछ्याउँदै,
उजाड मरुभूमिमा रमाउने
बानी परेको छ मलाई ।

सम्झिन्छु,
वसन्त ऋतुको आगमन,
पल्लवी हरियो मुना,
वनकुञ्ज गुन्जिरहने
कोइलीको मधुर धुन,
वनपाखामा नाचिरहने मयुर
यिनै शक्तिले त मेरो कलम
चलिरहन्छ सधैँ सधैँ ।

तर आजकल यो मनोरम साथको
अभाव महसुस गरिरहेको छ
मेरो कलमले,
प्रश्न गरिरहन्छ-
दशैँको आगमन सम्झाउने
ती मालचरीहरू कहाँ गए?
वर्षा भित्राउने
ती झ्याउँकिरीहरू कता गए?
अनि
सुधापान गराउने प्रकृति जननीको छातीमा,
गोलाबारुद किन वर्षिए ?
किन लुटिएकी छन् प्रकृति,
आफ्नै सन्ततिबाट दिनहुँ ?

मौन छिन जननी,
हो, प्रकृति आफ्नै अनुशासनमा छिन् ।
बिहानको झुल्के घाम,
रात्रीको जुन, नदी र हावा
आफ्नै गतिमा बहेकै छन् ।
सित्तैमा सेवा प्रवाह
गरिरहेकै छिन् प्रकृति ।

यिनैको आड लिएर
प्रकृतिले दान गरेको भेटीलाई
मूल्य तोकी,
बेचिरहेका छन् दलालहरू
मोटाइरहेका छन् स्वार्थीहरू
आफ्नो इज्जत र प्रतिष्ठालाई
तिलाञ्जली दिइरहेका छन् ।
त्यसैले त
कलम स्तब्ध छ आजकल मेरो ।

कसरी सहनु खोइ ?
सेतै हुस्सुले ढाकिएको,
विधवा प्रकृतिको आँखाबाट
तप्प तप्प आँसुका थोपाहरू
खसिरहेका छन् शीत बनी ।
फेरि पनि कलम सान्त्वना दिँदै भन्छ-
प्रकृति हाम्रो प्राण हो
उसलाई जीवन्त राख्नु हाम्रो कर्तव्य हो ।
त्यसैले प्रिय प्रकृति !
म तिमीलाई औधी प्रेम गर्छु ।
जबसम्म लुटिएका तिम्रा
खुशीहरु फिर्ता हुँदैनन्,
तबसम्म मेरो कलम
चलिरहने छ, चलिरहने छ ।।

शोभा कडरिया कोइराला
पाल्पा


सम्बन्धित शीर्षकहरु

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी सैन्य जहाजहरूको "विशाल बेडा" इरानतिर गइरहेको पुष्टि गर्दै उनीहरूले बल प्रयोग गर्नु नपर्ने आशा दोहोर्‍याए।…

पाल्पाको पश्चिमी पहाडमा पर्ने रैनादेवी छहरा गाउँपालिका–२। बिहान सबेरै कुहिरोले ढाकिएको चौर, वरिपरि हरिया डाँडाकाँडा, र सीमित सम्भावनाबीच हुर्कँदै गरेका…

लुलु हाइपरमार्केट कुवेतले बेलायतको कृषि तथा बागवानी विकास बोर्ड (AHDB) र व्यापार तथा व्यापार विभाग (DBT) सँगको सहकार्यमा सुरु गरिएको…

प्रतिकृयाहरू
...