Monday 24th August 2026

लुम्बिनी सांसद ‌ओलीलाई बन्धक बनाइयो भन्नु झूटो आरोप- एमाले


लुम्बिनी प्रदेशसभा सदस्य विमला ओलीले आफूलाई मुख्यमन्त्री निवासमा बन्धक बनाएर राखिएको भन्ने आरोप एमालेले अस्वीकार गरेको छ।६ दिनसम्म सम्पर्कविहीन रहेको भनिएको प्रदेशसभा सदस्य ओलीले बिहीबार दिउँसो माओवादी केन्द्रको संसदीय कार्यालयमा पत्रकार सम्मेलन गर्दै आफूलाई पाँच दिनसम्म मुख्यमन्त्री निवासमा बन्धकजस्तै बनाएर एमालेमा फर्किन दबाब दिएको बताएकी थिइन्।

त्यसलगत्तै पार्टीको संसदीय दलमा पत्रकार सम्मेलन गरी एमालेका प्रमुख सचेतक भूमिश्वर ढकालले सांसद ओलीले मुख्यमन्त्रीलाई भेट्ने बताएपछि आफैंले लिएर आएको उल्लेख गर्दै मुख्यमन्त्री निवासमा बन्धक बनाएर राखिएको भन्नु झूटो रहेको बताए।ढकालले पार्टीको ह्वीप उल्लंघन गरेका कारण पार्टी केन्द्रबाट पठाइएको स्पष्टीकरण लिएर आफू उनको घरमा पुगेको र स्पष्टीकरण पढेपछि मुुख्यमन्त्रीलाई आफैंले भेटेर कुरा गर्न चाहेपछि आफ्नै गाडीमा बुटवल ल्याएको बताए।ओलीले एमालेलाई बद्नाम गराउनको लागि मुख्यमन्त्री निवासमा बन्धक बनाएर राखेको झूटो आरोप लगाइएको ढकालले बताए।ढकालले ओली बुटवल आउँदा एक्लै नभई आफ्नो दिदी र भिनाजुको भाइ समेत सँगै आएको समेत बताए।

‘उहाँ एक्लै आउनुभएको पनि होइन। उहाँसँग उहाँको दिदी र भिनाजुको भाइ पनि हुनुहुन्थ्यो, उहाँहरू पनि तीन दिन मुख्यमन्त्री निवासमै बसेर सोमबारमात्रै फर्किनुभएको हो,’ ढकालले भने।त्यतिबेला पनि ओलीले आफू केही दिन बस्ने भन्दै दिदी र भिनाजुको भाइलाई ओलीले नै पठाएको ढकालले दाबी गरे।

‘सांसदजस्तो व्यक्तिलाई अपहरणको शैलीमा ल्याएर बन्धक बनाएर राख्न सकिन्छ, उहाँलाई त्यस्तो लागेको भए मोबाइल साथमै थियो। अरूलाई फोन गर्न सक्नुहुने थियो, प्रदेश प्रहरी कार्यालयबाट एसपीले फोन गर्दा उहाँ आफैंले कुरा गरेर आफू बुटवलमा सुरक्षित रहेको बताउनुभएको थियो।’ढकालले मुख्यमन्त्रीलाई भेट गरेपछि पनि ओलीलाई अन्यत्र बस्ने व्यवस्था गरिएको भए पनि उनी आफैंले मुख्यमन्त्री शंकर पोखरेल आफ्नै अभिभावक भएको बताएको र त्यहाँ बस्न कुनै समस्या नहुने भनेकोले त्यहीँ बसेको दाबी गरे।

मुख्यमन्त्रीसँगको भेटमा आफू एमालेमै फर्किने भनेपछि उनकै सहमतिमा विज्ञप्ति निकालिएको ढकालले बताए। ‘उहाँले आफ्नो मुद्दा र छोराछोरीको पढाइको विषयमा  कुरा गर्नुभयो, मुख्यमन्त्री ज्यूले ती विषयमा अभिभावकको रूपमा आफूले जिम्मेवारी लिन्छु भनेपछि उहाँ राजीखुसी एमालेमै फर्किनु भएको हो’, ढकालले भने।

-सेतोपाटीबाट


सम्बन्धित शीर्षकहरु

एक महिनाअघि उद्घाटन गरिएको नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सोमबारदेखि निजी सवारीसाधनका लागि पनि सञ्चालनमा ल्याइएको छ। नौ सिटसम्मका कार, जीप र भ्यानलाई…

नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा र पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीको १५औँ महाधिवेशन प्रक्रिया रोक्न माग गर्दै सर्वोच्च अदालतमा छुट्टाछुट्टै…

अमेरिका र इरानबीचको तनाव पुनः तीव्र बनेको छ। अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले वाशिङ्टनले इरानलाई टिकाइराख्ने “हरेक आर्थिक जीवनरेखा काट्ने” नीति…

प्रतिकृयाहरू
...