Saturday 3rd October 2026

‘सिएनएन हिरो’ म्यागीको पहलमा सुर्खेतको वीरेन्द्रनगरमा प्रविधियु्क्त विद्यालय भवन निर्माण


तितोपाटी – ‘सिएनएन हिरो–२०१५’ बाट सम्मानित अमेरिकी नागरिक म्यागी डोयनको पहलमा वीरेन्द्रनगरमा प्रविधियुक्त विद्यालय भवन निर्माण गरिएको छ । कोपिला भ्याली समाजद्वारा सञ्चालित विद्यालयको नवनिर्मित भवनको आइतबार कर्णालीका सामाजिक विकासमन्त्री दल रावलले उद्घाटन गरिन् । म्यागीकै नेतृत्वमा १० वर्षअघि कोपिला भ्याली समाज स्थापना भएको हो । जसले अनाथ, गरीब बालबालिकालाई शिक्षा प्रदान गर्नुका साथै असहाय महिलाका लागि सीप विकासको क्षेत्रमा काम गर्दै आएको छ ।

वीरेन्द्रनगर नगरपालिका–१ धारापानीस्थित आफ्नै जग्गामा निर्माण गरिएको उक्त विद्यालयमा नर्सरीदेखि कक्षा १२ सम्म पढाइ हुँदै आएको छ । विद्यालयका साथै कोपिला भ्याली बालगृह र महिला केन्द्र पनि सञ्चालन हुनेछन् । आफ्नै भवन नहुँदा हालसम्म विद्यालय भाडामा सञ्चालित थियो ।

तीन वर्षअघि निर्माण शुरु गरिएको उक्त भवन रु १२ करोड लागतमा पूरा भएको हो । कोपिला भ्याली समाजकी संस्थापक ३२ वर्षीय म्यागी डोयनले ग्रामीण भेगका अनाथ र असहायको सेवाका लागि आफूले अमेरिका छाडेको बताइन् । कोपिला भ्यालीले हाल सुर्खेतसहित अन्य जिल्लाका ४५० बालबालिकालाई निःशुल्क शिक्षा प्रदान गरिरहेको छ ।

पश्चिम नेपालमा गरेको समाजसेवाको कदरस्वरुप म्यागीलाई अमेरिकाको केबल न्यूज नेटवर्क (सिएनएन) ले ‘हिरो अफ दि इअर–२०१५’ को उपाधिसहित एक लाख १० हजार डलर पुरस्कारबाट सम्मान गरेको थियो । विद्यालयका अर्का संस्थापक टोपबहादुर मल्लले अत्याधुनिक प्रविधिको विद्यालय भवन निर्माणमा ब्लांकनाउ फाउन्डेसन र फार्मर नामक संस्थाले सहयोग गरेको जानकारी दिएका थिए।

विद्यालयमा जडित सौर्य ऊर्जाबाट दैनिक १५० किलोवाटको विद्युत् उत्पादन हुनेछ । उक्त विद्युत् उज्यालोका साथै खाना पकाउने, पानी सञ्चय तथा प्रशोधन गर्ने काममा समेत उपयोग गरिनेछ । सौर्य प्रणालीबाटै खाना पकाउने सोलार कुकर स्थापना गरिएको छ ।


सम्बन्धित शीर्षकहरु

दुबईबाट इजरायलको तेल अभिभ जाँदै गरेको फ्लाइदुबईको उडानमा सहचालकले विमानको नियन्त्रण लिन खोजेको आरोप लागेको छ। संयुक्त अरब इमिरेट्स (यूएई)…

अमेरिकाले ताइवानलाई दुई वटा एफ–१६भी ब्लक ७० लडाकु विमान हस्तान्तरण गरेको छ। यी विमानहरू ताइवानको रक्षा क्षमता बढाउन र चीनबाट…

भारतको राजधानी नयाँ दिल्लीमा निर्वाचन आयोग प्रमुख ज्ञानेश कुमारको राजीनामा माग्दै विरोध प्रदर्शन भएको छ। प्रदर्शनकारीहरूलाई रोक्न सरकारले कडा सुरक्षा…

प्रतिकृयाहरू
...