गत महिना नेपालमा नयाँ प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा युवा सांसदहरूले भरिएको संसद गठन हुँदा बंगलादेशकी युवा कार्यकर्ता उमामा फतेमाले यसलाई टाढाबाट हेरिरहँदा निराशा महसुस गरिन्।
सन् २०२४ मा बंगलादेशमा पनि हजारौं जनरल जेड युवा सडकमा उत्रिएर सरकारविरुद्ध आन्दोलनमा सहभागी भएका थिए। तर करिब दुई वर्ष बितिसक्दा पनि त्यहाँको युवा आन्दोलनले अर्थपूर्ण राजनीतिक शक्ति हासिल गर्न सकेन। पहिलो चुनावमै स्थापित दल ( BNP ) ले बहुमत ल्यायो भने युवा आन्दोलनबाट बनेको नयाँ दल ( NCP ) कमजोर देखियो। यसको विपरीत नेपालमा चार वर्ष पुरानो राष्ट्रिय स्वतन्त्र पार्टी (RSP ) ले ऐतिहासिक सफलता हासिल गर्दै धेरै युवा अनुहारलाई संसदमा पुर्यायो र गठबन्धनमार्फत बालेन्द्र शाह प्रधानमन्त्री बने।
विश्लेषकहरूका अनुसार नेपालको सफलता पछाडि जनताको लामो समयदेखिको असन्तुष्टि, पुराना दलहरूप्रति बढ्दो अविश्वास र युवाहरूको संगठित सन्देश मुख्य कारण बने। आरएसपीले जवाफदेहिता, सुशासन र भ्रष्टाचारविरुद्धको आवाजलाई निरन्तर जनतामाझ पुर्यायो, जसले आन्दोलनलाई केवल विरोधमा सीमित नराखी वैकल्पिक राजनीतिक शक्तिको रूपमा स्थापित गरायो। नेपालमा वर्षौंदेखि गठबन्धन सरकार, अस्थिर नेतृत्व र पुराना दलहरूको आलोचनाले नयाँ शक्तिलाई अवसर दिएको विश्लेषण गरिएको छ।
राजनीतिक विश्लेषकहरूका अनुसार आन्दोलन र चुनावी सफलता दुई फरक कुरा हुन्। नेपालमा युवाहरूले नयाँ पार्टी बनाउनेभन्दा पहिल्यै संगठन, सञ्जाल र राजनीतिक संरचना भएको आरएसपीसँग हात मिलाएका कारण सफलता सम्भव भयो। यही कारण धेरै युवा कार्यकर्ता पनि स्वतन्त्र रूपमा नयाँ दल खोल्नुको सट्टा आरएसपीमा आबद्ध भए। यसले देखाएको छ कि केवल सडक आन्दोलनले मात्र होइन, बलियो संगठन, रणनीति र जनविश्वासले नै राजनीतिक परिवर्तनलाई चुनावी जितमा रूपान्तरण गर्न सक्छ।
युवा आन्दोलनबाट संसदसम्म : नेपाल सफल, बंगलादेश अझै संघर्षमै
२७ वर्षीया युवतीले डिसेम्बरमा राष्ट्रिय स्वतन्त्र पार्टी (RSP) मा आबद्ध हुने निर्णय गरिन्। उनले यसलाई स्थापित दलहरूको विश्वसनीय विकल्पका रूपमा देखिन्, जसको देशभर बलियो संगठनात्मक सञ्जाल थियो र धेरै नयाँ अनुहारहरूलाई अवसर दिइएको थियो। यही निर्णय फलदायी सावित भयो, र गत हप्ता उनी आरएसपीको समानुपातिक सूचीबाट संसद सदस्यका रूपमा शपथ लिन सफल भइन्। विश्लेषकहरूका अनुसार सडक आन्दोलनको ऊर्जा चुनावी सफलतामा रूपान्तरण गर्न केवल उत्साह मात्र पर्याप्त हुँदैन, दीर्घकालीन संगठन, रणनीति र परिचालन आवश्यक पर्छ। नेपालको सन्दर्भमा युवाहरूले यही पक्षलाई प्रभावकारी रूपमा उपयोग गरे।
राजनीतिक विश्लेषक निताशा कौलका अनुसार केवल क्रोध, निराशा वा यथास्थितिविरुद्धको भावनाले आन्दोलनलाई बलियो बनाउन सक्छ, तर चुनाव जित्न बलियो संगठन र स्पष्ट राजनीतिक संरचना अनिवार्य हुन्छ। दक्षिण एसियामा सामाजिक मान्यता, सम्मानको संस्कृति र लैङ्गिक असमानताले युवा आन्दोलनलाई प्रायः कमजोर बनाउने गरेको छ। तर नेपालमा आन्तरिक विभाजन कम हुनु, वैचारिक बहुलतालाई स्थान दिनु र पुराना दलहरू कमजोर अवस्थामा हुनु नयाँ पुस्ताका लागि अवसर बनेको उनले बताएकी छन्।
बंगलादेशमा भने परिस्थिति फरक देखियो। त्यहाँको युवा आन्दोलनको ऊर्जा पुराना स्थापित दलहरूले आफ्नो पक्षमा उपयोग गरे, जसले नयाँ युवा नेतृत्वको दललाई कमजोर बनायो। विशेष गरी गठबन्धनको गलत रणनीति, लामो चुनावी अन्तराल र युवाहरूमा बढ्दो निराशाले आन्दोलनको प्रभाव घटायो। त्यसका बाबजुद नेपाल र बंगलादेश दुवै देशका युवाहरूले परिवर्तनको संघर्ष जारी राख्ने स्पष्ट संकेत दिएका छन्। नेपालको युवा पुस्ता सडकबाट संसदसम्म पुगेको छ भने बंगलादेशमा अझै नयाँ राजनीतिक विकल्प निर्माणको प्रयास जारी रहेको देखिन्छ।![]()
युवा आन्दोलनका नेताहरूले भ्रष्टाचार अन्त्य, राजनीतिक पहुँच र नातावादका आधारमा हुने नियुक्ति रोक्नुलाई आफ्ना मुख्य मागका रूपमा अघि सारेका छन्। उनीहरूले आवश्यक परे आफ्नै पार्टीभित्र पनि यस विषयमा संघर्ष गर्न तयार रहेको स्पष्ट सन्देश दिएका छन्। बंगलादेशमा पनि युवा नेताहरूले नयाँ सरकारले जनमत संग्रहको मर्मअनुसार काम नगरे फेरि सडक आन्दोलनमा फर्किने चेतावनी दिएका छन्। यसले युवा पुस्ता केवल चुनावी राजनीति मात्र नभई निरन्तर जनदबाबमार्फत परिवर्तन खोजिरहेको देखाउँछ।
विश्लेषकहरूका अनुसार दक्षिण एसियामा युवा आन्दोलन अब एकपटकको घटना होइन, पुस्तागत राजनीतिक चेतनाको निरन्तर विस्तार बन्दै गएको छ। बंगलादेशकी युवा कार्यकर्ता उमामा फतेमाले आगामी चरणको आन्दोलन सम्भवतः अझ कान्छो पुस्ता, अर्थात् जेनेरेसन अल्फा, को नेतृत्वमा हुन सक्ने बताएकी छन्। यसले क्षेत्रीय राजनीतिमा नयाँ पुस्ताको हस्तक्षेप अझ सशक्त हुँदै जाने संकेत गरेको छ।
- बिबिसीबाट सम्पादित