Tuesday 21st March 2023

रामसहाय यादव उपराष्ट्रपतिमा निर्वाचित


उपराष्ट्रपतिमा जसपाका रामसहाय यादव निर्वाचित भएका छन् । निर्वाचित यादवले पाँच सय १३ मत ल्याउँदा एमालेकी अष्टलक्ष्मी शाक्यले दुई सय ७३ मत ल्याएकी छिन् ।

यादवले प्रदेशतर्फ तीन सय २९ र संघतर्फ एक सय ८४ तथा शाक्यले प्रदेशतर्फ एक सय ६९ र संघतर्फ एक सय चार मत पाएकी छिन् । यादवले कुल ३० हजार तीन सय २८ मतभार पाउँदा शाक्यको मतभार १६ हजार तीन सय २८ छ ।संघीय सांसदको मतभार ७९ र प्रदेश सांसदको ४८ मतभार कायम गरिएको थियो । निर्वाचनमा कुल ५२ हजार ६ सय २८ मतभार कायम छ ।

शुक्रवारको निर्वाचनमा राष्ट्रपति निर्वाचनमा बनेको आठदलीय समीकरणबाट जनता समाजवादी पार्टी-नेपालका यादव उम्मेदवार बनेका थिए।

उनीसँग नेकपा एमालेकी अष्टलक्ष्मी शाक्य र जनमत पार्टीकी ममता झा प्रतिस्पर्धा गरेका थिए।

पछिल्लो आमनिर्वाचनमा बारा-२ बाट प्रतिनिधिसभामा निर्वाचित रामसहायप्रसाद यादव राजनीति सुरु गर्नुअघि शिक्षक थिए।

उनी जसपा नेपालका संसदीय दलका नेता समेत हुन्। उपराष्ट्रपति भएपछि भने उनको दलीय आबद्धता रहनेछैन।

नेपाल सद्भावना पार्टीबाट राजनीति सुरु गरेका उनी खासगरी मधेस आन्दोलनपछि निरन्तर जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव निकट छन्।

यसबीचमा उनी मधेसी जनअधिकार फोरम र सङ्घीय समाजवादी फोरममा आबद्ध भए।

पूर्णकालीन राजनीतिकर्मी हुनुअघि उनले डेढ दशकभन्दा बढी समय शिक्षण गरेका थिए।

विसं २०६४ सालमा उनी स्थायी शिक्षकबाट राजीनामा दिएर राजनीतिमा होमिएका हुन्।

उनी पहिलो संविधानसभामा समानुपातिक प्रणालीमार्फत प्रतिनिधित्व गरेका थिए।

विसं २०७४ सालको आमनिर्वाचनमा भने उनी प्रत्यक्षतर्फको चुनाव जितेका हुन्। उनी वन तथा वातावरण मन्त्रीसमेत बनेका थिए।

विसं २०२७ सालमा जन्मिएका उनी २०४७ सालदेखि राजनीतिक दलसँग आबद्ध भएको संसद् सचिवालयको परिचयात्मक पुस्तिकामा उल्लेख गरेका छन्। उनले बीएस्सी/बीएड सम्मको अध्ययन गरेका छन्।


सम्बन्धित शीर्षकहरु

नवनिर्वाचित उपराष्ट्रपति रामसहायप्रसाद यादवले आज पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष यादवले राष्ट्रपति भवन शीतल निवासमा…

दक्षिण अमेरिकी मुलुक इक्वेडरमा ६ दशमलव ७ म्याग्निच्युडको भूकम्प गएको छ । शनिबार दिउँसो दक्षिणी इक्वेडरमा गएको ६.८ म्याग्निच्युडको भूकम्पमा…

उपराष्ट्रपतिमा जसपाका रामसहाय यादव निर्वाचित भएका छन् । निर्वाचित यादवले पाँच सय १३ मत ल्याउँदा एमालेकी अष्टलक्ष्मी शाक्यले दुई सय…

प्रतिकृयाहरू
...