Thursday 28th March 2024

पञ्चाङ्ग साहित्य समाज नेपालको पञ्चाङ्ग अभ्यास शृङ्खला : चौसठ्ठीऔँ भाग (६४)


“पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार”
विधा :- पञ्चाङ्ग
अभ्यास गर्ने थलो :- पञ्चाङ्ग साहित्य समाज वर्ष २
मिति:- २०७९/१०/०३
…………………
प्रशिक्षक:-
रामराजा के.सी.
नारायण प्रसाद निरौला

भाषा शुद्धीकरण सुझाव :-
चन्द्रावती अधिकारी

सङ्कलक :- सविता के.सी.

सहजकर्ता :-
(महासचिव)
रामराजा के. सी.
प्रेम थापा “मन”
======================

अनुप्रास : रुँगेको, सुकेको, पुरेको, थुतेको, भुटेको, मुछेको, कुहेको, चुसेको, बुनेको आदि मिल्दो

स्थायी :- आफ्नो पञ्चाङ्गमा मिल्ने खालको ।

अक्षर संख्या :- ५ देखि २५ अक्षरका, पाँचै पद बराबर अक्षर सङ्ख्या भएका

=======
पञ्चाङ्ग सङ्कलन गर्न सजिलो हुने भएकाले कमेन्ट बक्समा नाम ठेगाना सहित राख्नुहुन अनुरोध छ ।

पञ्चाङ्ग १

माकुराले झैँ जालो बुनेको हो तिमीले
जुकाले झैँ नशा चुसेको हो तिमीले
नबन यसरी पानी माथिको ओभानो
जिउँदो मनलाई पुरेको हो तिमीले
अस्तित्व आफ्नो थुत्त थुतेको तिमीले ।

आउँछौ भनी पर्खिएर कुरेको हो मैले
पोल्छ भनी तिम्रै जीवन थुतेको हो मैले
जसरी पनि सम्हाल्नु पर्छ, थाहा छ
मार्न भनी पेटको भोक, भुटेको हो मैले
आउला माखा पार्ला अौँसा रुँगेको हो मैले ।

सविता के.सी., काठमाडौँ ।

पञ्चाङ्ग २

समयलाई फेर्नको लागि नखाई नखाई रुँगेको छु
अनन्त कालमा भएका घटना भित्रैबाट चुसेको छु
असल र खराब बानी छुट्याउन नसके पनि
खाटो घाउ आलै छ र मन बुझाएर पुरेको छु
थालीमा बिहानीको रातो अक्षता त्यसै मुछेको छु ।

अम्विका अधिकारी
झापा विर्तामोड

पञ्चाङ्ग ३

आउनु खान जाडोमा मकै भुटेको छु
कतिखेर आउछौ भनेर रुँगेको छु
आउने वा नआउने थाहा छैन तर
आउने आशा त मनभित्र बुनेको छु
बुझिदेऊ अब कुर्दाकुर्दा सुकेको छु ।

तेजप्रसाद खनाल
लमही दाङ ।

पञ्चाङ्ग ४

जजसले जे भने पनि तिम्रो आँसु पुछेको छु
मेरा मनका दुःख पीडा भित्र भित्रै थुनेको छु
आखिर मरिलानु के छ र जिन्दगीमा हजुर
त्यसैले बाँच्नको लागि राम्रै सपना गुँथेकोछु
घाम पानी पनि नभनी रातो दिन रुझेको छु ।

सरस्वती श्रेष्ठ इटहरी

पञ्चाङ्ग ५

तिम्रै यादमा मीठा सपना बुनेर बसेको छु
मुटुभित्रको धड्कन तिम्रो सुनेर बसेको छु
पानी पिउछु मेटिदैन किन तिर्खा तर पनि
तिमी अाउने समयपल चुँनेर बसेको छु
बर्षेबाढी झै सुस्केराहरु थुनेर बसेको छु ।

होम प्रसाद नेउपाने
धरान,सुनसरी ।

पञ्चाङ्ग ६

लोप्रे आँखा लगाएर जाल बुनेको कुरा के गर्छौ बेइमानी
गवारो किरा जस्तै काण्ड मै घुसेको कुरा के गर्छौ बेइमानी
भो भो अझ भ्रमहरू नछर , तिम्रो कुरा नबुझेको को छर
पीत प्रपञ्च रच्दै कुटील जुरेको कुरा के गर्छौ बेइमानी
तिम्रो अस्तित्व हरणपछि लुकेको कुरा के गर्छौ बेइमानी ?

नहुनु पर्ने बेतुक कुराले मन दुखेको ।बिर्सियौ र
नगर्नु पर्ने काम गरेपछि शीर नुगेको बिर्सियौ र
भोग भोग पराकाष्टहरू , अनि बुझ्दै अझ दुष्टहरू
सहयोगीलाई छोडेर अर्कैलाई चुनेको बिर्सियौ र
बन्दै गरेको आफ्नो इतिहास आफै पुछेको बिर्सियौ र ?

प्रेम थापा “मन”बागलुङ

पञ्चाङ्ग ७
जुकाले जस्तै जनतालाई चुसेका छन्
जवर्जस्ती जता पनि कुर्सिमा घुसेका छन्
देश बनाउने कसैको वास्ता छैन यहाँ
उल्टै देशकै अस्तित्व सबै लुटेका छन्
गरिबका सपना दिनहु भुटेका छन् ।
चेतना पोखरेल
मोरङ

पञ्चाङ्ग ८

तिम्रै यादमा बस्नेहरुले लुटेका छन्
सबैको दिल चोरी मनमा घुसेका छन्
विचार गरौँ सबैले सतर्क होऔँ है
थाहै नदिई कैदी बनाई थुनेका छन्
विरहमा आएर आँसु पो पुछेका छन् ।

-पूर्णबहादुर श्रेष्ठ “हृदयङकृत”
पनौती -३,काभ्रे

पञ्चाङ्ग ९

लाली जोबान त हेर्दाहेर्दै खुरेको देख्छु
नशालु ती आँखा मै तिर घुरेको देख्छु
जे काम पनि समयमा नै गरेको राम्रो
मायाले पनि तिमिलाई नै कुरेको देख्छु
कविता पनि तिम्रै नाममा फुरेको देख्छु ।

पशपती राई
खोटाङ्ग।

पञ्चाङ्ग १०

हाँडीभित्रको मकैजस्तै भुटेको हो उसले
माछी मार्ने ध्ययले जाल बुनेको हो उसले
वर्तमानमा घाँस हाली खुसी पार्यो मलाई
भ्रमर बन्दै पुष्प– रस चुसेको हो उसले
आन्द्राभुँडीसँगै कलेजो थुतेको हो उसले ।

श्रीकृष्ण शर्मा पोखरा

पञ्चाङ्ग ११

सत्तामा पुग्न जनता भुटेको देखियो
घाटी निमोठी मारेर पुरेको देखियो
जंगली जानवर सत्तामा आएका छन्
गरीब जनतालाई थुतेको देखियो
साधारणको पसिना चुसेको देखियो ।

शिव कुमार रेग्मी
पोखराथोक,पाल्पा

पञ्चाङ्ग १२

ऊ बेला मैले पनि कुरेको थिएँ
कति दिन यसरी रूॅगेको थिएँ
दौडिदै ऑउथ्यौ तिमी त्यही बेला
तिम्रा समस्या मैले बुझेको थिएँ
त्यसैले तिमीसङ्ग खुलेको थिएँ

कुकुरको काम भुकेको राम्रो
बेला छॅदै घर पुगेको राम्रो
घरको रक्षार्थ गर्नाका निम्ति
मूल गेट तिर सुतेको राम्रो
जानकारी पाए थुनेको राम्रो ।

घनश्याम पौडेल, पोखरा

पञ्चाङ्ग१३

लाग्छ कसैले मलाई कुरेको छ
प्यास कतै परेलीमा पुरेको छ
संयोग मानौ या प्रयास के भनु
प्रेमील साइत आज जुरेको छ
ओठमा मन्द मुस्कान फुरेको छ ।

रतन बिष्ट
आलिताल डडेल्धुरा

पञ्चाङ्ग १४

आफ्नै सम्झेर मनमा बल्ल थुनेको भएपनि
अनेक बाहनामा सारङ्गी बुनेको भएपनि
चाहिने बेलामा काम नआए भएन त कुनै
मतलब छैन भनि अर्कै चुनेको भएपनि
हावा कुरा नगरेको हुदाँ सुनेको भएपनि ।

जमुना आचार्य
सिन्धुपाल्चोक

पञ्चाङ्ग १५

कोही-कोही मान्छन् विचारधारा जुंछेको यहाँ
तर देखिन्न नि ! आमाको आँसु पुछेको यहाँ
भाइ फूटे गवाँर लुटे भने झैं भएपछि
कसले पो देख्छ र देशलाई लुछेको यहाँ
बारम्बार रगतसँग माटो मुछेको यहाँ ।

डम्बर थामी ‘अनुपम’
कालिन्चोक गा.पा.-६, दोलखा ।

पञ्चाङ्ग १६

सपना सबै मुछेको हुन्छ विस्वास सँग आखिर
साकार नभै छुटेको हुन्छ विस्वास सँग आखिर
विचार गर्ने मानवीय मूल्य निर्धारित हरायो
हौसला बिनै फुटेको हुन्छ विस्वास सँग आखिर
संयोग साथै लुछेको हुन्छ विस्वास सँग आखिर ।

अच्युत घिमिरे-भुटान

पञ्चाङ्ग १७

हातमा भएको थुतेको देखियो ।
अनाथ हृदय भुटेको देखियो ।
मानिस आफैले विनास गरेका,
विचित्रको जाल बुनेको देखियो ।
गुलाफ चुँडेर पुरेको देखियो ।
– आर्त अकुलीन, कैलाली

पञ्चाङ्ग १८

बास्ना मिठो मसला मुछेको तिमीले
प्याज हाली तेलमा भुटेको तिमीले
पेटको आगो बल्दा पनि दनदनी
कुकरको सिटी ती कुरेको तिमीले
अनि रमेर गुदी चुसेको तिमीले ।

टीकाराम जोशी, टिकापुर

पञ्चाङ्ग १९

अनर्थै हुनाले, रूँगेको रहेछ
दियौ दु:ख साथी, कुहेको रहेछ
दुखेको छ भन्दा, खुसी पो मनायौ
त्यसैले जुकाझैँ, चुसेको रहेछ
पत्यारै नलाग्ने, लुटेको रहेछ ।

सुरेश चन्द्र घिमिरे
लमजुङ

पञ्चाङ्ग २०

रुनु कति रुनु फुटेको कर्म यस्तै हो
धुनु कति धुनु चुसेको चर्म यस्तै हो
क्रिम पाउडर भन्नु मात्रै रहेछ नि
पुर्नु कति पुर्नु पुरेको धर्म यस्तै हो
मुछ्नु कति मुछ्नु मुछेको पर्म यस्तै हो ।

धनमाया चौधरी कैलाली


सम्बन्धित शीर्षकहरु

जापानमा कोलेस्ट्रोल कम गर्न प्रयोग गरिने ‘डाइटरी सप्लिमेन्ट’ (औषधीय आहार) का कारण दुई जनाको मृत्यु हुनुका साथै १०० जनाभन्दा बढी…

ग्लोबल आइएमई बैंक र विश्व बैंक समूहको सदस्य अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) बिच जोखिम व्यवस्थापन, जलवायु वित्त तथा लैङ्गिक वित्त…

"पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार" विधा :- पञ्चाङ्ग अभ्यास गर्ने थलो :- पञ्चाङ्ग साहित्य समाज वर्ष ३…

प्रतिकृयाहरू
...