Friday 19th April 2024

सिंहदरबार हाँक्ने प्रचण्ड टिममा नयाँ अनुहारको वर्श्चव


प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मंगलबार मन्त्रिपरिषद्लाई विस्तार गरेका छन्। पुस १० गते प्रचण्डलाई प्रधानमन्त्री बनाउन समर्थन गर्ने ७ मध्ये पाँच दल सरकारमा सहभागी भएका छन्।जनता समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टी भने अहिले सरकारमा सहभागी भएका छैनन्।सत्ता साझेदार दलहरूले यसपालि नयाँ अनुहारलाई मन्त्री बनाएका छन्। नयाँ दलका रूपका आएका राष्ट्रिय स्वतन्त्र पार्टी र जनमत पार्टीले मात्र होइन पुराना दलहरूले पनि नयाँलाई अवसर दिएका छन्।अहिले प्रचण्ड सरकारमा मन्त्री र राज्यमन्त्री बनेका २३ मध्ये १५ जनाले पहिलो पटक मन्त्रालयको काम सम्हाल्ने अवसर पाएका हुन्।

यी हुन् प्रचण्ड सरकारका नयाँ मन्त्री

रवि लामिछाने, उपप्रधान तथा गृहमन्त्री

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेले पुस ११ गते नै उपप्रधान तथा गृहमन्त्रीको शपथ लिएका हुन्। उनी चितवन-२ बाट प्रत्यक्ष निर्वाचित सांसद हुन्।केही महिनाअघि मात्र पार्टी गठन गरेर राजनीतिमा आएका लामिछाने त्यसअघि टेलिभिजन प्रस्तोता थिए। केही वर्ष अमेरिका बसेर उतैको नागरिकता र पासपोर्ट लिएका लामिछाने अहिले नेपाली नागरिकता पुन:प्राप्तिको प्रक्रिया पूरा नगरेको विवादमा मुद्दा खेपिरहेका छन्।उनीविरूद्ध परेको मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासले माघ ११ देखि सुनुवाइ गर्नेछ।

राजेन्द्र लिङ्देन, उपप्रधान तथा ऊर्जा मन्त्री

गत वर्ष राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्ष बनेका लिङ्देन २०७४ मा पहिलो पटक सांसद बनेका थिए। यसपालि उनी नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलालाई हराएर झापा-३ मा निर्वाचित भएका हुन्। उनले जितेका दुबै चुनावमा लिङ्देनलाई नेकपा (एमाले)ले साथ दिएको थियो।

सांसद हुनुअघि उनी झापामा राप्रपाको राजनीति गर्थे। विद्यार्थीकालदेखि नै राप्रपाको राजनीतिमा लागेका लिङ्देन झापा जिल्ला विकास समितिको सभापति भएका थिए।

विमला पौडेल राई, परराष्ट्र मन्त्री

नेकपा (एमाले) का तर्फबाट राष्ट्रिय सभा सदस्य विमला पौडेल राई नेपालको इतिहासमा परराष्ट्र मन्त्री हुने तेस्रो महिला हुन्। यसअघि नेपाली कांग्रेसकी सुजाता कोइराला र नेकपा (एमाले) की सहाना प्रधान परराष्ट्र मन्त्री भएकी थिइन्।२०३६ सालमै कम्युनिष्ट विद्यार्थी राजनीति सुरू गरेकी पौडेलले २०५२ सालदेखि भने विभिन्न राष्ट्रिय,अन्तर्राष्ट्रिय परियोजनामा काम गरिन्।त्यही अनुभवका आधारमा उनी २०७० सालमा राष्ट्रिय योजना आयोगकी सदस्य भइन्।२०७४ सालमा उनी राष्ट्रपतिबाट राष्ट्रिय सभा सदस्यमा मनोनित भएकी हुन्। राष्ट्रिय सभामा उनको कार्यकाल २०८० को फागुनमा सकिन्छ।

शिशिर खनाल, शिक्षा मन्त्री

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री बनेका खनाल काठमाडौं ६ बाट निर्वाचित सांसद हुन्। सुरूमा स्वतन्त्र उम्मेदवारी दिएका उनले पछि राष्ट्रिय स्वतन्त्र पार्टीको चुनाव चिन्ह घन्टी लिएका थिए। खनाल ‘टिच फर नेपाल’का संस्थापक हुन्, उनले लामो समय शिक्षा क्षेत्रमा काम गरेका थिए।

डोलप्रसाद अर्याल, श्रम मन्त्री

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री बनेका डोलप्रसाद अर्याल (डिपी) राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति पनि हुन्। धादिङ घर भएका उनी समानुपातिक तर्फबाट सांसद भएका थिए।अर्याल रेमिट्यान्स व्यवसायी पनि हुन्। उनले केही समय जापानमा रहेर श्रम तथा रोजगारका क्षेत्रमा पनि काम गरेका थिए।

ध्रुवबहादुर प्रधान, कानून मन्त्री

राप्रपाका उपाध्यक्ष ध्रुवबहादुर प्रधान कानुन मन्त्री बनेका छन्। उनी पहिलो पटक सांसद भएको हुन्।२०५३ सालमा प्रधान नेपाल प्रहरीका महानिरीक्षक बनेका थिए। २०५६ मा अवकाश भएपछि उनी राजनीतिमा आएका थिए। त्यसपछि लगातार चुनाव लड्दै आएका उनी यसपालि नवलपरासी पश्चिम-२ बाट निर्वाचित भएका हुन्।

सुदन किराती, पर्यटन मन्त्री

पर्यटन मन्त्री बनेका किराती माओवादी केन्द्र सांसद हुन्। किरातीले भोजपुरबाट चुनाव जितेका हुन्। उनले प्रदेश १ का मुख्यमन्त्री भइसकेका एमाले नेता शेरधन राईलाई हराएका हुन्। किरातीले भोजपुरबाट तेस्रो पटक सांसद जितेका थिए।किराती माओवादी जनयुद्धमा सहभागी थिए भने झण्डै १ वर्ष जेल पनि परेका थिए।

अमनलाल मोदी, सामान्य प्रशासन मन्त्री

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री बनेका मोदी मोरङ-४ बाट निर्वाचित सांसद हुन्। उनी २०७४ मा पनि सोही क्षेत्रबाट निर्वाचित भएका थिए। २०७० सालको निर्वाचनमा उनी समानुपातिक सांसद बनेका थिए। माओवादी जनयुद्धकै समयमा उनी माओवादी मोरङको विद्यार्थी संगठन अध्यक्षसमेत थिए।

पदम गिरी, स्वास्थ्य मन्त्री

स्वास्थ्य मन्त्री बनेका गिरी पर्वतबाट प्रत्यक्षतर्फ निर्वाचित नेकपा (एमाले) का सांसद हुन्। उनी २०७४ मा पनि पर्वतबाटै सांसद चुनिएका थिए। २०४७ सालदेखि राजनीतिमा आवद्ध भएका गिरी पोखरास्थित पृथ्वीनारायण क्याम्पसमा स्ववियू सभापति भएका थिए।

हरि उप्रेती, रक्षा मन्त्री

रक्षा मन्त्री बनेका उप्रेती सर्लाही-३ बाट निर्वाचित भएका एमाले हुन्। उनी २०७० को निर्वाचनमा पनि यही क्षेत्रबाट निर्वाचित भएका थिए। २०७४ मा उनले टिकट पाएका थिएनन्। उनी अहिले एमाले केन्द्रीय सदस्य छन्। २०३७ सालमा अनेरास्ववियूको राजनीति सुरू गरेका उनी २०४४ देखि सक्रिय राजनीतिमा छन्। नेपाली चलचित्र क्षेत्रका चर्चित अभिनेता निखिल उप्रेती उनका भाइ हुन्।

राजेन्द्र राई, भूमि मन्त्री

धनकुटाबाट निर्वाचित एमाले सांसद राईले गत पुस ११ गते नै मन्त्रीको शपथ लिएका थिए। अहिले उनले भूमि सुधार मन्त्रालयको जिम्मेवारी पाएका छन्। राई २०७४ सालमा पनि धनकुटाबाट निर्वाचित भएका थिए। २०७० मा उनले चुनाव हारेका थिए। २०३५ सालदेखि विद्यार्थी राजनीति सुरू गरेका राई २०५१ सालमा धनकुटाको जिविस उपसभापति भएका थिए।

अब्दुल खान, खानेपानी मन्त्री

खानेपानी मन्त्री बनेका खान सिके राउत नेतृत्वको जनमत पार्टीका उपाध्यक्ष हुन्। उनी सुरूदेखि नै राउतको अभियानमा सक्रिय थिए।यसपालि उनी समानुपातिकतर्फ सांसद बनेका हुन्। बर्दियाका खान पार्टीमा प्रशिक्षक थिए। उनले पनि पुस ११ गते नै मन्त्रीको शपथ लिएका थिए।

तोसिमा कार्की, स्वास्थ्य राज्यमन्त्री

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डाक्टर तोसिमा कार्की स्वास्थ्य राज्यमन्त्री भएकी छन्। ललितपुर-३ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित भएकी ३३ वर्षीया कार्की मेडिकल काउन्सिलकी पूर्व सदस्य हुन्। कार्कीले यसअघि पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा काम गरेकी थिइन्।

उनी चिकित्सा शिक्षा सुधारका लागि डाक्टर गोविन्द केसीले गरेको सत्याग्रह अभियानमा सक्रिय थिइन्।

सुशीला श्रीपाली, पर्यटन राज्यमन्त्री

पर्यटन राज्यमन्त्री बनेकी श्रीपाली २०४६ सालदेखि कम्युनिष्ट आन्दोलनमा लागेकी हुन्। २०५४ सालसम्म भारतमै रहेर माओवादी आन्दोलनमा सहभागी भएकी थिइन्। उनी २०५४ भदौदेखि नेपालमै रहेर माओवादी आन्दोलनमा लागेकी हुन्। उनी अहिले माओवादी केन्द्रीय सदस्य छन्। उनका श्रीमान डम्मरसिंह ठकुरी सेना समायोजनमार्फत् नेपाली सेनामा छन्। २०६८ मा उनी दलित आयोगको सदस्य भएकी थिइन्। उनी अहिले समानुपातिक सांसद हुन्। राजधानी बाहिर भएकाले उनले आज शपथ भने लिन पाइनन्।

दीपकबहादुर सिंह, ऊर्जा राज्यमन्त्री

ऊर्जा राज्यमन्त्री बनेका सिंह मकवानपुर-१ बाट निर्वाचित सांसद हुन्। उनले नेकपा (एमाले) को चुनाव चिन्ह लिएर उम्मेदवार बनेका कमल थापा र कांग्रेसका डिना उपाध्यायलाई हराएका हुन्। गत वैशाखको चुनावमा उनी हेटौंडा उपमहानगरको मेयरमा पराजित भएका थिए। मकवानपुरबाट पटक-पटक विभिन्न निर्वाचन लडेका उनी यसपालि पहिलो पटक विजयी भएका हुन्। उनी ज्ञानेन्द्र शासनकालमा मकवानपुरको जिविस सभापति भएका थिए।

सेतोपाटीबाट


सम्बन्धित शीर्षकहरु

रुसी सेनामा आबद्ध नेपालीको जीवनरक्षार्थ अभियानका तर्फबाट पीडितलाई क्षतिपूर्तिलगायतको माग राख्दै सिंहदरबारको दक्षिण गेटमा प्रदर्शनका क्रममा १२ जना पक्राउ परेका…

काठमाडौं महानगरपालिकाले महिलाहरुमा हुने स्तन क्यान्सर,पाठेघरको मुखको क्यान्सर तथा प्रजनन् अवस्थाको परीक्षण सुरु गरेको छ । पाठेघरको मुखको क्यान्सर तथा…

एसिसी प्रिमियर कप ट्वान्टी–२० क्रिकेटको सेमिफाइनल खेल नेपालले संयुक्त अरब इमिरेट्स (युएई)सँग खेल्ने भएको छ। ओमानमा जारी प्रिमियर कपमा नेपाल…

प्रतिकृयाहरू
...