Wednesday 4th March 2026

शैलेन्द्र सकारलाई “शिखर कवि” सम्मान


नारायण कोइराला – प्रयोगवादी काव्यधाराका लेखक तथा सडक कविता, बुटपालिस, अस्वीकृत जमातलगायतका साहित्यिक आन्दोलनका अभियन्ता शैलेन्द्र साकारलाई “शिखर कवि” उपाधिद्वारा सम्मान गरिएको छ । २०७९ पुस ९ गते ज्योति साहित्य प्रतिष्ठानको १९१ औँ कवितायात्रा श्रृङ्खलाको अवसरमा उनलाई सो उपाधिबाट सम्मान गरिएको हो ।

यसै समाराेहमा कवि जनार्दन अधिकारी धड्कनलाई प्रमुख अतिथि शैलेन्द्र साकारकाे बाहुलीबाट साहित्य पदकबाट सम्मान गरियाे । कार्यक्रमको अध्यक्षता ज्योति साहित्य प्रतिष्ठानका अध्यक्ष मणिराज सिंहले गरेका थिए भने विशिष्ट अतिथिमा प्रा.डा गार्गी शर्मा तथा विशेष अतिथिमा पुष्कर लोहनी, विश्वविमोहन श्रेष्ठ, प्रमोद प्रधान, महेश प्रसाईँ, लव गाउँले, राधिका गुरागाईँ रहेका थिए । सो कार्यक्रममा सविता श्रेष्ठ बेहोसी, सरस्वती चिमौरिया, भगीरथ काफ्ले, सङ्गीता ठाकुर, रेणु घिमिरे, सूर्यबहादुर थापा, केशवबहादुर थापा, राजबाबु श्रेष्ठ सागर, भावकेशर बराल, कमला रानी, मानबहादुर भुजेल, राज रजक, जनार्दन धड्कन, उषा आचार्य, पारू तिमिल्सिना, पूर्णमान तपोल, दिल पौडेल, प्रतापसिंह थापा, शम्भु खनाल र शिवप्रसाद अधिकारीको उपस्थिति रहेको थियो । कार्यक्रममा उपस्थित सर्जकबाट कविता, गजल, मुक्तक, खोरिया, हाइकु वाचन गरिएको थियो ।

उक्त कार्यक्रमको सञ्चालन उषा आचार्यबाट भएको थियो भने जनार्दन धड्कनले स्वागत मन्तव्य दिएका थिए । सम्मानित सर्जक शैलेन्द्र साकारको व्यक्तिगत विवरण राजबाबु श्रेष्ठ सागरले प्रस्तुत गरेका थिए । सो कार्यक्रममा बोल्दै कवि महेश प्रसाईँले साहित्य सोझो र एकैपटकमा स्पष्ट बुझिने खालको हुन नहुने, कविता पढ्दा पाठक सोचमग्न बन्नुपर्ने र त्यस्तो कविता शैलेन्द्र साकारले रचना गरेकाले उहाँलाई “शिखर कवि” उपाधि दिनु एकदम उपयुक्त रहेको बताए । उनले साकारसँग जोडिएका आफ्ना अनुभव र समकालीन साहित्यमा शैलेन्द्र साकारको अग्रताबारे स्पष्ट पारे । त्यस्तै कवि तथा आख्यानकार प्रमोद प्रधानले प्रयोगवादी कविताको परम्परा र त्यसमा शैलेन्द्र साकारको भूमिका प्रष्ट्याउँदै नेपाली साहित्यको इतिहास लेख्दा शैलेन्द्र साकारको नाम छुटाउन नहुने बताए । शैलेन्द्र साकारले साहित्यमा दिएको योगदानको उचित मूल्याङ्कन नभएको हुँदा पुनः एकपटक साहित्यिक इतिहास लेख्नुपर्ने र साकारलाई न्याय दिनुपर्ने विचार प्रधानले प्रकट गरे । कार्यक्रममा पुष्कर लोहनी, प्रा डा गार्गी शर्मा, विश्वविमोहन श्रेष्ठ लगायतका व्यक्तिले साकारको योगदानको चर्चा गरे । कार्यक्रमका प्रमुख अतिथि शैलेन्द्र साकारले आफूलाई शिखर कवि उपाधि दिइएकोमा ज्योति साहित्य प्रतिष्ठानप्रति आभार प्रकट गर्दै एउटा कविता वाचन गरी सुनाए भने डा गार्गी शर्माले सो उपाधिलाई राष्ट्रिय पहिचान दिनुपर्ने बताइन् । त्यस्तै प्रतिष्ठानका अध्यक्ष मणिराज सिंहले २०६४ माघ १६ गते स्थापित ज्योति साहित्य प्रतिष्ठानको चिनारी दिँदै यसले साहित्यमा योगदान दिने व्यक्तिलाई सधैँ सम्मान गर्दै जाने बताउँदै वर्तमान १९१औँ सृङ्खलामा कवि शैलेन्द्र साकारलाई “शिखर कवि” को उपाधिद्वारा सम्मान गर्न पाउँदा यो प्रतिष्ठान नै सम्मानित भएको गर्वानुभूति भएको कुरा व्यक्त गरे।


सम्बन्धित शीर्षकहरु

इरानमाथि United States र Israel को आक्रमणपछि सुरु भएको मध्यपूर्वीय द्वन्द्व “अनन्त युद्ध” नहुने तर “केही समय लाग्न सक्ने” इजरायलका…

कुवेती सेनाले सोमबार खाडी देशको सशस्त्र सेनाको "अपरेशन" को क्रममा एक नौसेना सैनिकको मृत्यु भएको बताएको छ। सेनाले सैनिकको मृत्युको…

चीनका विदेशमन्त्री वाङ यीले सोमबार आफ्नो इरानी समकक्षीलाई फोनमा भने कि मध्यपूर्वमा युद्ध फैलिँदै गर्दा बेइजिङले अमेरिका-इजरायली आक्रमणहरू विरुद्ध आफ्नो…

प्रतिकृयाहरू
...