Friday 23rd October 2026

म कैलालीमा छु, काठमाडौंमा रेशमजीले नेताहरूसँग कुरा गरिरहनुभएको छ: रञ्जिता श्रेष्ठ


कैलाली क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ अहिले कैलालीमै छिन्।उनी एक साता अझै कैलालीमै बस्ने छन्। अध्यक्ष श्रेष्ठ कैलालीमै रहेका बेला सत्तारूढ दलका शीर्ष नेताले भने काठमाडौंमा सरकार बनाउनेबारे उनको दलका नेतासँग कुरा गरिरहेका छन्।

जेलमा रहेका पूर्वसांसद रेशम चौधरीलाई विभिन्न दलका नेताहरूले छुट्टाछुट्टै भेटेका समाचार सार्वजनिक भएका छन्।उन्मुक्ति पार्टीकी अध्यक्ष श्रेष्ठले आफूले नै नेताहरूलाई रेशमसँग भेट्न भनेको बताइन्। रञ्जिता र रेशम श्रीमान्-श्रीमती हुन्।

‘म पार्टीको अध्यक्ष भए पनि रेशमजी पार्टीको संस्थापक हो। कोही नेताहरूले मसँग कुरा गर्न खोजे म रेशमजीसँगै कुरा गर्नुस् भनिदिन्छु,’ रञ्जिताले भनिन्,‘उहाँहरूले भेटघाट गरेको कुरा मैले पनि मिडियाबाट सुनिरहेकी छु।’

आफ्नो दल कुनै पनि गठबन्धनको सरकारमा सहभागी हुन पहिला आफूहरूका माग सम्बोधन हुनुपर्ने उनले बताइन्। ‘रेशमजी लगायत राजबन्दीहरूलाई रिहाइ गर्नुपर्ने हाम्रो प्रमुख माग हो। त्यो माग पूरा गर्न कुन दलसँग सहज हुन्छ, हामी उसैलाई समर्थन गर्छौं,’ रञ्जिताले भनिन्,‘अहिलेसम्म कुन दललाई सघाउने भन्नेबारे निर्णय भइसकेको छैन।’

२०७२ भदौको टीकापुर घटनामा रेशम चौधरी दोषी थिएनन् भन्ने सन्देश जनताले तीन पटकका चुनावबाट दिइसकेको उनको भनाइ छ।

‘२०७४ को चुनावमा यहाँ जनताले रेशमजीलाई अत्याधिक मत दिए। २०७९ वैशाखको चुनावमा हाम्रो दलले कैलालीका ४ पालिकामा जित हात पार्‍यो,’ रञ्जिताले भनिन्,‘अहिले हामीले ४ सांसद जितेका छौं। जनताले मतका माध्यमबाट बारम्बार रेशमजी निर्दोष हुन् भन्ने सन्देश दिइसके। जनताको यो सन्देश राज्यले सुन्छ भन्ने हाम्रो अपेक्षा छ।’

-सेतोपाटीबाट

 


सम्बन्धित शीर्षकहरु

संयुक्त अरब इमिरेट्स (यूएई) ले वरिष्ठ कूटनीतिज्ञ लाना नुसैबेहलाई संयुक्त राष्ट्रसंघ (यूएन) को आगामी महासचिव पदका लागि उम्मेदवार बनाएको छ।…

कुवेतको अहमदी गभर्नरेट अन्तर्गत वाफ्रा क्षेत्रमा सञ्चालन भइरहेको अवैध मदिरा उत्पादन केन्द्रमा प्रहरीले छापा मारेर तीन नेपालीसहित सात जनालाई पक्राउ…

अक्सफोर्ड विश्वविद्यालयका वैज्ञानिकहरूले भाइरसजस्ता कणहरू (Virus-like Particles) एक–एक अणु जोडिँदै कसरी निर्माण हुन्छन् भन्ने प्रक्रिया पहिलो पटक प्रत्यक्ष रूपमा अवलोकन…

प्रतिकृयाहरू
...