Tuesday 19th March 2024

चित्रपट पञ्चाङ्ग, भाग: ३९


चित्रमा पञ्चाङ्ग
===========
पञ्चाङ्ग सङ्ख्या : १
मिति : २०७९/०८/०१

प्रशिक्षक :
———–
रामराजा के.सी.
नारायण प्रसाद निरौला

भाषा शुद्धीकरण
————————-
चन्द्रवती अधिकारी

चित्र सङ्कलक
———————–
प्रेम थापा “मन”

समायोजक
—————–
👉️ सविता के.सी.

आदरणीय पञ्चाङ्गका अनुरागी एवम् पञ्चाङ्ग स्रष्टाज्यूहरू हार्दिक नमस्कार ।

नोट : संयोजन गर्न सहज हुने भएकोले कमेन्ट बक्समा नाम र ठेगाना सहित लेखिएका पञ्चाङ्ग मात्र समायोजन गरिने जानकारी गराइन्छ ।

चित्रमा पञ्चाङ्ग
===========
पञ्चाङ्ग १

मानिस बस्ने चराचर सिङ्गो भूपालमा बुझ
दया, माया, ममता थियो भन्थे गोपालमा बुझ
लोटामा गंगा, पिपलको पातमा चित्र देशको
आफ्नै संसार आफ्नै रक्षा गर्थे कपालमा बुझ
गर्मी जाडो हावापानी पाइने नेपालमा बुझ ।

सविता के.सी., काठमाडौँ ।

पञ्चाङ्ग २

अब पनि भ्रष्टको खेलौना जस्तै जनाउने होइन नेपाल
मनोमानी रहरले क्रिडास्थल बनाउने होइन नेपाल
सोच्नै पर्ने खाँचो छ सेवाभाव , सद्भावको र जनदवावको
अनावश्यक रगत र पसिना खनाउने होइन नेपाल
अस्थिरताको बीउ रोपेर होली मनाउने होइन नेपाल ।

✍️प्रेम थापा “मन”बागलुङ

पञ्चाङ्ग ३

पूर्वको लाली पहिलो झुल्को झल्किन्छ हिमालमा
शीतको थोपा चाँदी झैँ लाग्ने टल्किन्छ हिमालमा
पिपलु पात बुद्धको ज्ञान शान्तिभूमि नेपाल
शुत्रुका आँखा जहिले पनि पल्किन्छ हिमालमा
देवको बास उज्यालो रूप बल्किन्छ हिमालमा ।

पूर्णबहादुर श्रेष्ठ “हृदयङकृत”
पनौती-३,काभ्रे

पञ्चाङ्ग ४

माया देखाउन नक्सा पातमा छाप्दै छ
चुनावै हो विकासको अपना राख्दै छ
हामी जहाँ छौँ त्यही हुने न हो हजुर
अब विकास गर्छु भन्दै भोट माग्दै छ
जित्यो देश बेच्ने सल्लाह गर्न दाक्दै छ ।

हेमराज महरा क्षेत्री
रोल्पा नगरपालिका ५ रोल्पा हाल केरला

पञ्चाङ्ग ५

सानो भएपनि प्रकृतिको धनी हाम्रो देश नेपाल
राजनीतिक कारण नबनाऊ चाम्रो देश नेपाल
विश्वमा नाम चिनाउनमा सफल सम्पदा यहीँ छन्
कच्चापदार्थ सम्पूर्ण दिनसक्छ काम्रो देश नेपाल
पर्यटक लोभ्याउने शृङ्खलामा राम्रो देश नेपाल ।

जमुना आचार्य ,सिन्धुपाल्चोक

पञ्चाङ्ग ६

माटोप्रतिको माया र मन बोकेर
फूलबारीको विश्वास झन बोकेर
संस्कारमा भित्र छ हाम्रो पहिचान
शान्त सुन्दर हरियो वन बोकेर
म त हिँड्दैछु नेपाली पन बोकेर ।

– आर्त अकुलीन, कैलाली

पञ्चाङ्ग ७

पिपलको पातको सिमा बनाएर आए
देशको नक्सा झुसिल्किरो जनाएर आए
रुप फेरिदिँदा आँखा छल्न सजिलो भयो
एक्लै खान सबको मन मनाएर आए
चुक्लीले भोट आफुतिर खनाएर आए ।

✍️ अच्युत घिमिरे-भुटान

पञ्चाङ्ग ८

छोरा ! छोरा! नेपाल आमा, बोलाउनु हुन्छ
काखमा नदेख्दा एकछिन् टोलाउनु हुन्छ
कोख बैरी हो कि म अभागी हूँ हे!भगवान्
सन्तानको मायामा आमा लोलाउनु हुन्छ
दुःख पीडा मनका सबै खोलाउनु हुन्छ ।

होम प्रसाद नेउपाने
धरान,सुनसरी ।

पञ्चाङ्ग ९

सानो भनी हेप्यो सिमानामा वीर खटाउनु पर्यो
मिचिएको भुमिबाट बैरी सेना हटाउनु पर्यो
खिया लागि सक्यो है वीर गोर्खालीको यो खुकुरीमा
अब यै खुकुरी नचाएर धुलो चटाउनु पर्यो
अझ नटेरेमा गनि गनि शिरै कटाउनु पर्यो ।

पशपती राई खोटाङ ।

पञ्चाङ्ग १०

चुनावको लहरले हेर खुशीयाली छाउँछ
गाउँघरको नि चित्र फेर खुशीयाली छाउँछ
समाज राष्ट्र मिलेर देशको सेवा गर्नुपर्छ
शिर ठाडो देश नक्शा केर खुशीयाली छाउँछ
भ्रष्ट छेउ लागे उतिखेर खुशीयाली छाउँछ ।।

अम्विका अधिकारी
झापा विर्तामोड

पञ्चाङ्ग ११

विश्वमा एक नेपाल प्रकृति पातमा छ
जे जसाे गर्ने उनै जननीकाे हातमा छ
हामीले चाहेर मात्र केही पनि हुँदैन
नेपाल अहिले घुस्याहाकाे नै घातमा छ
मनपरे पछि नि प्रेम भाजाे जातमा छ ।
म प्र घि

पञ्चाङ्ग १२

नेपालको माया भएर नक्सा पातमा देख्छु
मुटु भित्र,बाहिर,शीर पाउ हातमा देख्छु
बहु जाति भाषा धर्म सस्कृती छ्न अनेक
सिङो माला उनिएका सबै जातमा देख्छु
नेपालीको माया ममता मिठो बातमा देख्छु ।

तारा घिमिरे सङ्खुवासभा

पञ्चाङ्ग १३

नेपाल आमालाई अब रुवाउनु हुन्न हेर
लैनो गाई जस्तो सधैँ फुवाउनु हुन्न हेर
सकेसम्म आफ्नै देशमा केही गर्नु पर्छ
अर्काको देशमा खुन चुवाउँनु हुन्न हेर
सधैं अर्कालाई मात्र खुवाउनु हुन्न हेर ।

सरस्वती श्रेष्ठ इटहरी

पञ्चाङ्ग १४

मनमा भए वनमा भेटिन्छ नेपाल
हरेक पात पातमा लेखिन्छ नेपाल
नेपाली हुनु यसैमा गौरव लाग्छ नि
बिहानी उषा कालमा हेरिन्छ नेपाल
पहिलो पाइलासङ्गै टेकिन्छ नेपाल ।

घनश्याम पौडेल, पोखरा

पञ्चाङ्ग १५

स्वदेशी मातले लगायो माया हेर
पिपलु पातले भगायो छाया हेर
पिपलु पातमा शान्तिको देश मेरो
दिनानुदिन यो डगायो काया हेर
सम्झेर अति नै जगायो जाया हेर ॥

गुणनिधि घिमिरे अमेरिका

पञ्चाङ्ग १६

चानचुने होइन सगरमाथा शिर छ हजुर
आफ्नो भन्दा बढी अझ यो देशको पीर छ हजुर
पूर्व मेची पश्चिम महाकाली सुन्दर कति कति
कतै समथर भू-भाग कतै त भीर छ हजुर
सावधान हुनुपर्छ छिमेकी माहिर छ हजुर ।

निर्मला सुवेदी, बागलुङ ।

पञ्चाङ्ग १७

नचाहादै पनि देशको मन बोकेर
गएका छन् युवा भेषको छाया बोकेर
बुढाबुढि बा आमा छोडेर खाडीमा
आँखामा सुन्दर हरियो वन बोकेर
नक्सा पातमा हिड्दै छु आफ्नै पन बोकेर ।

आस्था भए पछि आफ्नो पनमा छ नेपाल
सबै नेपालीहरुको मनमा छ नेपाल
त्यसैले त नेपाली हुनुमा गौरव लाग्छ ,
प्रकृतिको सुन्दरता वनमा छ नेपाल
नमेटिने छाप भने तनमा छ नेपाल ।

दुर्गा भट्टराई, मोरङ ।

पञ्चाङ्ग १८

भुजङ्गप्रयात
————–
हियाको कुनामा रहेको म भित्र
र मेरो शिरामा बहेको म भित्र
नटुट्ने नफुट्ने नमिट्ने नडग्ने
सयौँ चोट झेली सहेको म भित्र
सदा देश मेरो कहेको म भित्र ।

नारायणप्रसाद निरौला

पञ्चाङ्ग १९

कर्मशिल यी हातमा हुनुपर्छ नेपाल
हाम्रो प्रत्येक बातमा हुनुपर्छ नेपाल
नेपालीको छातीमा र हरेक धड्कनमा
भित्र्याँस अनि आँतमा हुनुपर्छ नेपाल
रुखका पात-पातमा हुनुपर्छ नेपाल ।
✍️
वसन्त अनुभव
घोराही, दाङ

पञ्चाङ्ग २०

हृदय जसरि साथमा छ मेरो देश
युवा अब तिम्रो हातमा छ मेरो देश
कति सम्म दुखाउनु मेरो देशलाई
खुम्च्याएर राख्यौ पातमा छ मेरो देश
अब आफै बोक्छु आँतमा छ मेरो देश ।

रतन बिष्ट
आलिताल डडेल्धुरा

पञ्चाङ्ग २१

कहिले बाहिर अनि कहिले मभित्र भेटियो
जहाँ जहाँ भए पनि यो देश पवित्र भेटियो
पारि जाँदा पनि मन वारि छोडेर जानुपर्छ
भन्न नपरोस् माटोसँग मुट अमित्र भेटियो
पात–पातमा नेपाले तस्बिर सचित्र भेटियो ।
श्रीकृष्ण शर्मा पोखरा

पञ्चाङ्ग २२

पीपलको पातमा अडिएको छ देशको मान चित्र
नेपाली छातीमा रहिरहोस् राष्ट्रको मूल्य ठान चित्र
धार्मिक आस्था बोक्छ पीपल वृक्ष बुझेर देश हामी
नेपाल धार्मिक सहिष्णुताको देश खोल कान चित्र
अरु कुरा त त्यस्तै हुन् छान्नै परे देशकै छान चित्र ।

तेजप्रसाद खनाल
लमही दाङ ।

पञ्चाङ्ग २३

पिपलको पातमा नेपाल
नेपालीको बातमा नेपाल
सबैको मन र मस्तिष्कमा
बिरताको जातमा नेपाल
पौरखीको हातमा नेपाल।।

धनमाया चौधरी कैलाली दुर्गौली

पञ्चाङ्ग २४

हावामा छ मेराे देश पात पातमा छ
कलेजी अनि मुटुभित्र खात खातमा छ
तीन कराेड नेपालीकाे नसानसाभित्र
हरेक भाषा संस्कृति र जातजातमा छ
शीरदेखि पाउसम्म नै आँत आँतमा छ

चन्द्रावती अधिकारी
काेहलपुर बाँके


सम्बन्धित शीर्षकहरु

"पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार"भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग…

मध्यपहाडी लोकमार्गअर्न्तगत् बागलुङको निसीखोला गाउँपालिका-६ को जाउलेपानी भन्ने स्थानमा यात्रुबाहक बस पल्टिँदा ८ जनाको मृत्यु भएको छ । घटनास्थलबाट ७…

सुन तस्करी प्रकरणमा मुछिएका नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ परेका छन् । रुपन्देहीमा पक्राउ परेका महरालाई काठमाडौं ल्याइँदै…

प्रतिकृयाहरू
...