Sunday 11th October 2026

कवितामा नयाँ आयाम ‘साइनो’


छायादत्त न्यौपाने ‘बगर’ – भर्खरै हाे कवितामा नयाँ आयाम सुरु भएकाे । याे हाे, नवीनतम शैलीको कविता साइनो । सुरु भएको छाेटाे समयमा यसले व्यापक भूगोलमा फैलिएर स्रष्टाहरूकाे स्नेह पाइरहेको छ । नेपाली, अवधी, संस्कृत, हिन्दी,अङ्ग्रेजी, मलेसियन भाषाका स्रष्टाप्रिय साइनो कविता विश्वव्यापी लघुकविताका रुपमा प्रयाेग हुँदै आएको छ । यसले हजारौं स्रष्टाका रचना पाएकाे छ । यसमा पन्ध्र देशका सय्यौ स्रष्टाको हातेमालो चलिरहेको छ । यसकाे अनुयायी बनेका कतिपय स्रष्टा अरु अरु शैली प्रयोगमा पनि रमाइरहेका छन् । जुन साइनो कविताको आकर्षण र लाेकप्रियता पनि हाे।
साइनो जम्मा चौबिस अक्षरी पूर्ण संरचना भएको कविता हाे । यसका सात,आठ र नौ अक्षरका स्वतन्त्र अर्थ दिने तीन पङ्क्ति हुन्छन् र तीनवटै पङ्क्तिकाे एकमुष्ट अर्थगहनता रहन्छ । यसमा नेपाली भाषाकाे मौलिक संरचना र सामाजिक संस्कार संस्कृति पनि जाेडिएकाे छ ।
साइनो कविताको अक्षर गणना नेपाली व्याकरणकाे लेखन परम्परा अनुसार गरिन्छ र लेखन अनुसारकै उच्चारण गरी स्रष्टाद्वारा स्वतन्त्र लय निर्माण गरिन्छ । याे नेपाली कवितामा २०७६/४/१६ देखि सुरु भएर निरन्तर अघि बढेको कविता विधाकाे नौलाे आयाम हाे ।
नेपाली वाङमयले प्राप्त गरेको अनुपम उपहार साइनो कविताले ऐतिहासिक महत्त्व पाएको छ । यसका विभिन्न भाषाका संयुक्त र नेपाली तथा अङ्ग्रेजी भाषाका दर्जनौं कृति प्रकाशित भइसकेका छन् । अनेक पत्रपत्रिकाले प्रकाशन गरिदिएर यसकाे विकास र विस्तारमा याेगदान गरिरहेका छन् । याे विशेष महत्त्वका साथ प्राज्ञिक जगतमा पनि चर्चाकाे विषय बनिरहेको छ । याे नेपालीको साझा सम्पदा हाे ।

साेह्र रचनाहरू :
१.
हिँड्ने जिन्दगी राम्रो
भूगोल नेपाली राम्रो
विवेकशील मान्छे राम्रो !

२.
फक्रन प्रिय फूल
चिन जीवन सङ्ग्राम
डुलाऊ न सँगै वसन्त !

३.
बिउँझ समयमा
चढ्नु छ जीवनरथ
समेलिऊन् निज कर्तव्य !

४.
सम्झना दिन्छ स्वाद
बिर्से सकिन्छ सम्बन्ध
बाँचे पाे फक्रिन्छ जीवन !

५.
फराकिलाे छ मन
वैज्ञानिक छ विचार
सहृदयी छ व्यवहार ।

६.
जिताऊ न जीवन
कति थिचिनु हारले ?
गिज्याइरह्याे संसारले !

७.
कर्तव्य धान्छ धर्म
कर्ममा फुल्छ जीवन
संवेदनामा बाँच्छ मान्छे ।

८.
जिउनु छ जीवन
स्वाद दिँदैन सहारा
सङ्घर्ष हाे शिर उचाल्ने !

९.
आफ्नै घाउ गहिराे
स्वार्थलिप्त छ कर्तव्य
घाइते भयाे संवेदना !

१०.
फुल्नुपर्छ जीवन
उठ्नुपर्छ नि सखारै
उज्यालो देख्दैन निद्रा !

११.
नसुन्ने जनादेश ?
सकुनि-सकुनि भीड
बहुलठ्ठी भँडुवा खेल !

१२.
बाेल्छ, बाेलिरहन्छ
श्रम इज्जत इमान
देश बनाउने रहर !

१३.
साइनोमा छ सान
नेपाली हाे जनमन
याे सांस्कृतिक पहिचान !

१४.
मलीन भयाे माटाे
पल्के विदेशी हुँडार
विवेक शून्य हाम्रा मान्छे !

१५.
खै बनाएको देश ?
भुँडी भर्नुमै हाे व्यस्त ?
अविवेकी खन्चुवा माेरा !

१६.
थिचे बेइमानले
उठेन खै स्वाभिमान
फेरि झेलीहरूकै खेल ?


सम्बन्धित शीर्षकहरु

लगातारको वर्षापछि आएको भीषण बाढीले बूढीगण्डकी क्षेत्रमा ठूलो क्षति पुर्‍याएको छ। बाढीका कारण दुईवटा मोटरेबल पुल र चारवटा झोलुङ्गे पुल…

युक्रेनको दक्षिणी सहर जापोरिझ्झिया (Zaporizhzhia) मा रूसले शनिबार पाँचवटा ग्लाइड बम प्रहार गर्दा कम्तीमा २० जनाको मृत्यु भएको छ। मृतकमध्ये…

सुडानको ब्लु नाइल (Blue Nile) क्षेत्रमा भएको ड्रोन आक्रमणमा कम्तीमा ४१ जनाको मृत्यु भएको छ। मानवअधिकार समूह इमर्जेन्सी लयर्स (Emergency…

प्रतिकृयाहरू
...