Thursday 16th May 2024

प्रेम थापाका द्वयपाञ्चायन पञ्चाङ्गहरू


#पञ्चायन

दिमागी बोटमा मीठो सुवास नै छरेर जाने हो
लेख्दा राम्रो लेखे पनि त्यो दम्भ त झरेर जाने हो
बुझ्नु पर्छ अरुको मर्म , नगरौं हजुर कुकर्म
चाहिएन भो धन छालाको पेट भरेर जाने हो
नाम होस् नहोस् कर्मको फल लिई मरेर जाने हो ।

✍️

आँसुपनि स्वार्थी रहेछ अनायास झरेर जान्छ
भुल्नै नसक्ने गरि घात आफूलाई गरेर जान्छ
किन्चित मान्नु हुन्न एक्लै, जीवन हुनुपर्छ बेग्लै
अक्सर विश्वास लुटिन्छ प्राय खुसी हरेर जान्छ
ख्याल गर्दैन मानिस अधुरो भइ मरेर जान्छ ।

✍️

घात गरेपछि , हात जोडी जप गरेर के गर्छौ
आफैं मपाइत्वमा भ्रम जाल नै छरेर के गर्छौ
त्यो बञ्जर रहेछ दिमाग,खोसेको अर्कैको भाग
फाटेको ठाउँमा सयौं फूलहरू भरेर के गर्छौ
हाम्रो पसिनाको मोल बिर्सी आँखा तरेर के गर्छौ ?

✍️

सक्छौ भने प्याला भरी अमृत भरेर सोच अब
सुध्रिन आफ्नै मनले नै वाचा गरेर सोच अब
अझ असाध्यै खाँचो छ भने ,कुरा नि साँचो छ भने
छोडिदेऊ दम्भ आऊ है यतै सरेर सोच अब
“प्रेम ” म स्वागत गर्छु , दोमनबाट झरेर सोच अब ।

✍️

कुन लोभले लत्याएर गयौ छल गरेर गयौ
किन किन यो समाजबाट बसाइ सरेर गयौ
बर्षौं सजाइयो,सोही समीपता पनि रजाइ भो
मद्दतको बदलामा मुटुमा चोट भरेर गयौ
अरुलाई झार्छु भन्दाभन्दै आफै नै झरेर गयौ।

✍️पञ्चाङ्ग १

मित्रको असहयोग नै गरेर गयौ के भयो र
हिजो के के सोचेर आँखा तरेर गयौ के भयो र
मलजल गरि जोगाएको , थाहा छ है सोघाएको
आँखै अघि लोभको झोली भरेर गयौ के भयो र
अटुट नातामा नै भ्रम छरेर गयौ के भयो र ।

✍️पञ्चाङ्ग २

कल्पित विगतका ती बात कसले पत्याउला
नसोध अझ पीडाका खात कसले पत्याउला
भोगेकोछु मेल,अनि बुझेकोछु स्वार्थको खेल
बिताएका तिनै चिसा रात कसले पत्याउला
सम्पत्तिले दाँज्ने हर घात कसले पत्याउला ?

✍️पञ्चाङ्ग ३

देखिएका ती सपनाहरू घाँटी थिचिएर मर्न सक्छन्
धमिलोमा माछा मार्नेले सुखहरूको घैला भर्न सक्छन्
तिमी पत्थर बन्यौ चौफेरो, मन दुखेको छ अझ मेरो
होस् गरेर हेर फूलले फूल गलत्याएर झर्न सक्छन्
यसै बेला तिम्रा बानी कैंदमा पर्न र मन हर्न सक्छन् ।

✍️पञ्चाङ्ग ४

बाजी तिमीले जित्ने भए हारिदिउँला बरु
मेरो हृदयको बाटो नै बारिदिउँला बरु
मन नबहने , अनि होइन म नसहने ;
बैगुनी समयले घोंचे टारिदिउँला बरु
आँसु बनाइ आँखाबाट झारिदिउँला बरु ।

✍️पञ्चाङ्ग ५

भनिदिन पर्‍यो मनको भावना रहर भित्र के खोजौं
साहित्य बहर हो या नपिएको जहर भित्र के खोजौं
हाम्रो नाम थियो केतुकीको बोटमा,फालियो के खोटमा
मेटिसक्यो होला हाम्रो नाम कुनै कहर भित्र के खोजौं
अरु सबथोक पाइन्छ रे तिम्रो शहर भित्र के खोजौं ?

✍️पञ्चाङ्ग ६

साेच्दै गर अरुको मन मरेपछि के हुन्छु भनेर
बेनियमको सञ्जालमा सरेपछि के हुन्छु भनेर
हरियो रुखले घमण्ड गर्छ रे, र सुवास छर्छ रे
खडेरी साेच्दैन त्यो पात झरेपछि के हुन्छु भनेर
प्रतिबिम्ब ऐनाले घात गरेपछि के हुन्छु भनेर ?

✍️पञ्चाङ्ग ७

देश बन्धक राखेर नै सम्झौता गरेको देखिन्छ
सरकारी ढुकुटी अनावश्यक छरेको देखिन्छ
आएन सुख समृद्धि , अब कसरी हुन्छ प्रगति
जनताको विश्वास तोडी उतै नै सरेको देखिन्छ
पैसाको लोभमा पो लावालस्कर झरेको देखिन्छ ।

✍️पञ्चाङ्ग ८

अचानक तिम्रो अतितको बाेलीको याद अायाे
सम्झनाले ताजा जस्तै लाग्ने टाेलीको याद अायाे
मिति सम्झना गर्दै गर्दा , र सबैको भर पर्दा
पाेकाे पारेको माछा राखेको झाेलीको याद अायाे
हात समाई तरेकाे मौन खाेलीको याद अायाे ।

✍️पञ्चाङ्ग ९

कागलाई पाकेछ अरे बेल , आखिर के न के
उतै अचम्मको चलेछ खेल, आखिर के न के
हाम्रो मद्दत बेअर्थ भो,उनको आफ्नै स्वार्थ भो
परीश्रमीब जनताब भने तेल आखिर के न के
यहाँ जाले पिँजडा जस्तो जेल आखिर के न के ।

✍️पञ्चाङ्ग १०

छेउ न टुप्पोका कुरा मिलाई एक साथ ताली मिलाउन उद्दत छन्
अपवित्र जुठो केही नठानी भोजनको थाली मिलाउन उद्दत छन्
मिलोमोतो गरेर भन्छन् केही हैन , र लाज,सरम ,घिन केही छैन
ती बाहिरी मुखियाले जे सुकै भनुन् सबै पाली मिलाउन उद्दत छन्
नाटक गर्छन् भ्रम छर्छन् कपोलकल्पित गाली मिलाउन उद्दत छन् ।

प्रेम थापा
बागलुङ


सम्बन्धित शीर्षकहरु

सुस्तरी मनमा पसेर गयो मायाको डोरी कसेर गयो । चोखो माया दिएकी थिए निष्ठुरी बनी डसेर गयो । दिलभित्र लुकाइ…

कर्नाटकको बिजापुरमा एउटा मञ्चमा सातवटा पङ्क्तिहरू छन्। पहिलो चार लाइनमा एघार, पाँचौं पङ्क्तिमा पाँच र छैठौं र सातौं लाइनमा सात।…

राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक वर्ष २०८१/०८२ को वार्षिक नीति तथा कार्यक्रम संघीय संसद्को दुवै सदनमा पेश गरिरहेका छन् । राष्ट्पति…

प्रतिकृयाहरू
...