नेकपा एमाले र जनता समाजवादी पार्टी (जसपा)बीच १४ जिल्लामा चुनावी तालमेलको सहमति भएको छ । मधेस प्रदेशका ८ जिल्ला, प्रदेश १ को मोरङ र सुनसरी तथा लुम्बिनी प्रदेशको नवलपरासी पश्चिम, रुपन्देही र कपिलवस्तु तथा सुदूरपश्चिमको कैलालीमा तालमेलको सहमति भएको हो ।
यसअनुसार यी जिल्लामा प्रतिनिधिसभाका ३५ सिट एमालेले लिनेछ भने जसपाले १७ सिट लिने भएको छ । प्रतिनिधिसभाको ५ क्षेत्र भने कुन दलले लिने टुंगिएको छैन । धनुषा २, महोत्तरी २, रौतहट १, बारा ३ र रुपन्देही ५ दुबै दलको भागमा परेको छैन । एक नेताका अनुसार यस क्षेत्रमा मित्रबत प्रतिस्पर्धा हुनेछ ।
प्रदेशसभातर्फ एमालेले ७० सिट पाउने छ भने जसपाले ४२ सिट लिएको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओली र जसपा अध्यक्ष उपेन्द्र यादवले हस्ताक्षर गरेको सहमति पत्रमा भनिएको छ, ‘तालमेल भएका उपरोक्त निर्वाचन क्षेत्रहरु बाहेक अन्य निर्वाचन क्षेत्रहरुमा दुबै पार्टीले उम्मेदवार दिन सक्ने र यो सहकार्य निर्वाचनपछि पनि निरन्तर रहने सहमति गरियो ।’
जसपाले संगठनको आधार बलियो बनाउन आवश्यकताका आधारमा एमालेसँग तालमेल गरेको जनाएको छ । एमालेले लोकतान्त्रिक गणतन्त्रलाई कहिल्यै नस्वीकारेको आरोप लगाएको जसपाले सत्ता गठबन्धनमा बस्दा साँघुरिने भएपछि एमालेसँग सहकार्य गरेको हो ।
नागरिकता विधेयक राष्ट्रपतिले प्रमाणीकरण नगरेको विषयमा समेत एमालेलाई मुछ्दै आएको जसपाले आगामी प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा पनि एमालेलाई प्रतिगमनकारी करार गरेकोमा पार्टीलाइ फाइदा हुने देखेर मात्रै एमालेसँग सहकार्य गरेको हो भने एमालेले पनि सत्ता गठबन्धन फुटाउन र प्रतिगमनकारीको अारोप केहि मात्रमा भए पनि कम गर्नको लागि जसपा सँग तालमेल गरेको हो ।