Friday 19th April 2024

चित्रपट पञ्चाङ्ग भाग: ३२


चित्रपट पञ्चाङ्ग
===========
चित्रपट पञ्चाङ्ग भाग: ३२
पञ्चाङ्ग सङ्ख्या : १

प्रशिक्षक :
———–
रामराजा के.सी.
नारायण प्रसाद निरौला

भाषा शुद्धीकरण
————————-
चन्द्रवती अधिकारी

चित्र सङ्कलक
———————–
सविता के.सी.

समायोजक
—————–
👉️ सविता के.सी.

आदरणीय पञ्चाङ्गका अनुरागी एवम् पञ्चाङ्ग स्रष्टाज्यूहरू हार्दिक नमस्कार ।

हामी साप्ताहिक चित्रपट पञ्चाङ्ग लेखनको बत्तिसौँ शृङ्खलामा छौँ । यस शृङ्खलामा दिइएको चित्र अनुसारको बिम्बात्मक तथा गहन र मौलिक भाव झल्किने आफ्नो मनले देखेको पञ्चाङ्ग आफ्नो नाम र ठेगाना सहित कमेन्ट बक्समा लेख्नु हुन हार्दिक अनुरोध छ ।

नोट : संयोजन गर्न सहज हुने भएकोले कमेन्ट बक्समा नाम र ठेगाना सहित लेखिएका पञ्चाङ्ग मात्र समायोजन गरिने जानकारी गराइन्छ ।

चित्रमा पञ्चाङ्ग
===========
पञ्चाङ्ग १

शान्तिका प्रतिक परेवाका जोडी हजुर
सपार्छु भनेर धेरै पल्ट गोडी हजुर
मूर्खदेखि दैव डराउँछ भन्थे हो मानेँ
तेरो मेरो भन्दै भागबण्डा फोडी हजुर
एकताका बल भन्थे त्यो नि छोडी हजुर ।

सविता के.सी., काठमाडौँ ।

पञ्चाङ्ग २

परेवालाई शान्तिकाे दूत भन्ने चलन चलेकाे छ
अरु पक्षीहरूलाई याे कुरा साह्रै नै खलेकाे छ
राष्ट्रिय पक्षी डाँफे सुन्दर छ पालेनन् कसैले
आजभाेलि देशमा परेवाक‌ै दिन फलेकाे छ
चील याे सबै नजारा देखेर यहाँ जलेकाे छ

नवराज भट्ट
महेन्द्रनगर, कञ्चनपुर

पञ्चाङ्ग ३

विश्वमा शान्ति छरौँ, हातेमालो नै गरेर सबै
विश्वबन्धुत्व,एकता र भातृत्व छरेर सबै
उडाऊँ शान्तिका श्ववेत परेवाहरु चौतर्फी नै
पक्कै हुँदैन् ,मानवताबाट तल झरेर सबै
अशान्ति र कलह किन ? जानुछ मरेर सबै।

तेजप्रसाद खनाल
लमही दाङ ।

पञ्चाङ्ग ४

दु:ख पिरमा गाउँ सहर छ
हवा पानीमा पनि जहर छ
कसैले बुझेनन् मनको कुरा
खुट्टा तान्नेको मात्र लहर छ
परेवा जस्तै उड्ने रहर छ ।

– आर्त अकुलीन, कैलाली

पञ्चाङ्ग ५

अशान्तिले विश्वमा असर पारी रहेको बेला
साना राष्ट्रले ठुला राष्ट्रको दबाव सहेको बेला
शान्तिको प्रतिक परेवालाई सन्देश पठाउन
आवश्यक छ अब युद्धको बतास बहेको बेला
ऐतिहासिक कहानीहरु सबैले कहेको बेला ।

-पूर्णबहादुर श्रेष्ठ “हृदयङकृत”
पनौती न.पा.-३,काभ्रे

पञ्चाङ्ग ६

दुईचार भ्रष्टले गाडी, गुडाएर शान्ति हुन्छ र
करोडौं जनताको मन, कुँडाएर शान्ति हुन्छ र
देशलाई समाजवादको, बाटोमा लानु चैँ छैन
समानताको मालदाम्लो,चुडाएर शान्ति हुन्छ र
एकजोर सेता परेवा, उडाएर शान्ति हुन्छ र ?
**
चिरञ्जीवी ढकाल
नेपालगन्ज -२०
राँझा एयरपोर्ट बाँके

पञचाङ्ग ७

पृथ्वी अाकाश ढाकेर चरी उडेको हेर्न पाऊँ,
सुख र शान्ति ढुक्कमा परि यो सास फेर्न पाऊँ।
सेता परेवा प्रतीक प्रेम संसारमा मानियोस्,
मेल मिलाप कायम राखि मायाले बेर्न पाऊँ,
अशान्ति छिर्ने बाटा ती सबै काँडाले घेर्न पाऊँ।

होम प्रसाद नेउपाने
धरान, सुनसरी ।

पञ्चाङ्ग ८

परेवा उडाइ सबै मनमा दिलाउँ शान्ति
नेपाल आमालाई नरुवाई सिलाउँ शान्ति
एकताले जित सुनिश्चित गराउँछ बुझि
भाइचाराको भावनामा खेली मिलाउँ शान्ति
भोको पेट र नाङ्गो जीवनका खिलाउँ शान्ति ।

जमुना आचार्य
सिन्धुपाल्चोक

पञ्चाङ्ग ९

बिलाप गर्दैछ ढुकुर परेवा उडाएका छन्
देखावटी शान्तिलाई भित्रभित्रै कुँडाएका छन्
शान्ति चाहनेले धैर्य, एकाग्रता लिनुपर्ने हो
धैर्यता बिहिन मन त्यो,रथ झैँ गुडाएका छन्
घाँस नपुगेको राँगोले झै दाम्लो चुडाएका छन् !
पशपति राई, खोटाङ ।

पञ्चाङ्ग १०

टुटेको फुटेको सन्देश जोड्न परेवा जुटेको
शान्तिको सौगात धर्तीमा छोड्न परेवा जुटेको
ज्ञान गुणले भरिपूर्ण छ, केहीमा छैन कमी
अहिंसाको बिरुवालाई गोड्न परेवा जुटेको
जिन्दगीको हरपहल मोड्न परेवा जुटेको ।

✍️ अच्युत घिमिरे-भुटान

पञ्चाङ्ग ११

देशको सिमाना राम्रोसँग मिलाउनु पर्छ
शत्रुले आँखा गाडेमा गोता खिलाउनु पर्छ
पुर्खाले पाखुरीका बलले आर्जेको देश हो
देशमा परेवा जस्तो शान्ति दिलाउनु पर्छ
आमालाई अमृतको प्याला पिलाउनु पर्छ ।

सरस्वती श्रेष्ठ इटहरी

पञ्चाङ्ग १२

शान्तिको बहाव नै बनोस् पल्लवित पात पौरखी
स्वर्ग झैँ लाग्छ , नेपाल देशमा साथै हात पौरखी
डाँफे राष्ट्रिय पङ्क्षी अनि परेवा शान्तिको प्रतीक
सत्यता मीठो बचन राम्रो नेपाली बात पौरखी
विभेद नहोस् नेपाली हामी हरेक जात पौरखी ।

✍️प्रेम थापा “मन”बागलुङ

पञ्चाङ्ग १३

शान्ति दिने परेवा उड्न छोडे आजभोलि
चोचोमोचो अन्तैतिर पो जोडे आजभोलि
विश्वलाई शान्ति गीत सिकाउनेहरू नै
शान्तिसँग अटुट नाता तोडे आजभोलि
खै किन हो पछाडि मुख मोडे आजभोलि ।

श्रीकृष्ण शर्मा पोखरा


सम्बन्धित शीर्षकहरु

विश्वको सबैभन्दा ठुलो लोकतान्त्रिक देश भारतमा नयाँ सरकार चुन्न आज शुक्रबारबाट आम चुनाव हुँदैछ । लोकसभाको ५ सय ४३ सिटका…

स्वीडेनले लिङ्ग परिवर्तन गर्ने कानुन पारित गरेकत्र छ। स्वीडेनको संसदले बुधवार लिङ्ग परिवर्तन गर्न पाउने सम्बन्धी कानून पारित गरेको हो।…

रुसी सेनामा आबद्ध नेपालीको जीवनरक्षार्थ अभियानका तर्फबाट पीडितलाई क्षतिपूर्तिलगायतको माग राख्दै सिंहदरबारको दक्षिण गेटमा प्रदर्शनका क्रममा १२ जना पक्राउ परेका…

प्रतिकृयाहरू
...