Saturday 20th April 2024

पञ्चाङ्ग साहित्य समाज पाठशालाको अभ्यास शृङ्खला :- सत्चालिसौँ भाग (४७)


“पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार”
विधा :- पञ्चाङ्ग
अभ्यास गर्ने थलो :- पञ्चाङ्ग साहित्य समाज वर्ष २
मिति:- २०७९/०५/२८
………………………………..
प्रशिक्षक:-
रामराजा के.सी.
नारायण प्रसाद निरौला

भाषा शुद्धीकरण सुझाव :-
चन्द्रावती अधिकारी

सङ्कलक :- सविता के.सी.

सहजकर्ता :-
(महासचिव)
रामराजा के. सी.

======================

अनुप्रास:- छानेर, जानेर, झानेर, तानेर, ठानेर, धानेर, बानेर, मानेर, हानेर ।

स्थायी :- मिल्ने खालको ।

अक्षर संख्या :-

=======
पञ्चाङ्ग सङ्कलन गर्न सजिलो हुने भएकाले कमेन्ट बक्समा नाम ठेगाना सहित राख्नुहुन अनुरोध छ ।

समपञ्चाङ्ग

सङ्गत भन्ने कुरो पनि छानेर गर्नुपर्ने रहेछ
मन चिन्न कठिन भन्थे जानेर गर्नुपर्ने रहेछ
नचुँडिनु चुँडिएपछि गाँसेर गाँठो मात्र ठुलो हो
परेपछि घात प्रहार हानेर गर्नुपर्ने रहेछ
एक्लै रमाउनु परेमा मानेर गर्नुपर्ने रहेछ ।

साथ सहयोग छ र त छानेर आएका छौँ हामी
सकिनसकि मिलिजुली तानेर आएका छौँ हामी
साक्षी छन् देख्ने सुन्ने र भोग्नेहरू होइन नभन्नु है
होइन भने पनि आफ्नै ठानेर आएका छौँ हामी
विथोले कतिले हृदय बानेर आएका छौँ हामी ।

सविता के.सी., काठमाडौँ ।

पञ्चाङ्ग २

मलाई आज गरिब ठानेर गयौ तिमी
जिन्दगी चल्दैन भन्ने जानेर गयौ तिमी
तिमीसँग माया गाँस्नु मेरो भुल रहेछ
मेरै गल्ती थियो भन्ने मानेर गयौ तिमी
तीखो मुटु भित्र तिर हानेर गयौ तिमी ।

बुद्धिमान दनुवार
सुरुङ्गा ४ झापा

पञ्चाङ्ग ३

बगैँचाको फूल छानेर गयौ
मेरो घर ढुङ्गा हानेर गयौ
के सोचेर आज रुवायौ फेरि
किन आफै दु:ख मानेर गयौ
सबैभन्दा आर्त ठानेर गयौ ।

– आर्त अकुलीन, कैलाली

पञ्चाङ्ग ४

सिंदूर हाले पछितानेर पनि लान सकिन्छ
फकाएर खुसीपारी मानेर नि लान सकिन्छ
जे हाेस जाेडा मिल्ने मन मिल्ने त चाहिन्छ हैन
दुवैले खुसी भए हासेर जानेर लान सकिन्छ
थाहा छ ? माेहनीले हानेर पनि लान सकिन्छ ।
मधुसूदन प्रसाद घिमिरे

पञ्चाङ्ग ५

तिखो बचन रूपी बाण हानेर गयौं तिमी
मलाई भन्दा अर्कैलाई छानेर गयौ तिमी
सोचेको थिएँ ऐस आराम मै राखौला भन्ने
तर म भन्दा ऊ विद्वान ठानेर गयौं तिमी
मलाई भन्दा अरुलाई मानेर गयौ तिमी ।

सरस्वती श्रेष्ठ इटहरी

पञ्चाङ्ग ६

भात भए हुन्छ तिहुन त चौलानी झानेर खान्छु
खुर्सानी भए त अझ भैसीको मोही ठानेर खान्छु
भगवान! यो गरीबको जिब्रो किन बनाइ दियौ
दुखको स्वाद नमिठो छ तर मीठो मानेर खान्छु
दुखीको जीवन कहिल्यै फेरिदैन जानेर खान्छु!
-पशपति राई खोटाङ

पञ्चाङ्ग ७

ईर्श्याले भुतुक्क भै, आँखा तानेर राम्रो होला?
साथीको प्रगतिमा, डाहा मानेर राम्रो होला?
देखासिखी गर्दा बरु, फाइदा हुन्न र साथी?
त्यसो गर्दा तल परेको, ठानेर राम्रो होला?
आफ्नै घुँडामाथि बन्चरो, हानेर राम्रो होला?
**
चिरञ्जीवी ढकाल
नेपालगन्ज -२०
राँझा एयरपोर्ट बाँके

पञ्चाङ्ग ७

आउने भए आफै आउ नभए लान्छु तानेर म
तितो मिठो जे जे हुन्छ त्यही खुवाउँछु झानेर म
खुशी हुन सिकौं पहिले आत्मैदेखि हामी दुबैले
जीवन भर बाँच्छु सर्वस्व तिमीलाई ठानेर म
कदम चाल्छु अब धनसारको देवी मानेर म!

-पूर्णबहादुर श्रेष्ठ
पनौती न.पा-३,काभ्रे ।

पञ्चाङ्ग ८

मनले स्वीकार्न नपाई बाण हानेर भाग्यौ
मुटुलाई प्वालै प्वाल पारी झानेर भाग्यौ
न यताको न उताको अलपत्र भएको छु
आज गरिब भएको भनी जानेर भाग्यौ
जे सोचेर आयौ त्यो नपाउने ठानेर भाग्यौ ।

अम्विका अधिकारी
झापा विर्तामोड ।

पञ्चाङ्ग ९

घुँडाले बिस्तारै बामे सर्‍यो,आफै सधैंलाई तन छानेर हो कि
पाइलाले यात्रा सुरु गर्‍यो,आफूतिरै आफ्नै मन तानेर हो कि
लगातार नसक्ने रहरमा ठोकिन्छ , वा त अर्को मन रोकिन्छ
घाउमा थुप्रै नै चुक पर्‍यो , धेरै जतनका कुरा जानेर हो कि
उसले अझ भ्रम छर्‍यो , हाम्रो मद्दतलाई धेरै मानेर हो कि !!

प्रेम थापा “मन”, बागलुङ ।

पञ्चाङ्ग १०

~~~~~~~~~~~~~~~
राम्री र असल जानेर ले न हौ छोरा
यत्तिकि ठिक छे ठानेर ले न हौ छोरा
ह्या कत्ति कुरा ता आफैँले पनि गर्न हौ
धेरैमा एउटी छानेर ले न हौ छोरा
मानिन भने नी तानेर ले न हौ छोरा ॥
~~~~~~~~~~~~~~~

~~~~~~~~~~~~~~
आमाले बिउ छानेर राखिन्
शरीर स्वस्थ जानेर राखिन्
संघर्षका हरेक पाईला
उनले सबै धानेर राखिन्
संस्कारहरू मानेर राखिन् ॥
~~~~~~~~~~~~~~~

~~~~~~~~~~~~~~
परम्परा मानेर बसेको छु
स्वकर्तव्य धानेर बसेको छु
किन फुर्ती लडाउँछस् मसँग
आफ्नै कर्म ठानेर बसेको छु
तँ जति ता जानेर बसेको छु ॥
~~~~~~~~~~~~~~~

~~~~~~~~~~~~~~~~~~~~
नत्र आँखा फुट्या छानेर ल्याउलास् मोरा
लाटीलाई बाठी ठानेर ल्याउलास् मोरा
तेरो बुद्धि नै छैन है छैन अकबरे
फेरि जबर्जस्ती तानेर ल्याउलास् मोरा
हाँडीघोप्टे नाठी बानेर ल्याउलास् मोरा ॥
~~~~~~~~~~~~~~~~~~~~~

गुणनिधि घिमिरे दमक झापा ।

पञ्चाङ्ग११

मन्द हावा चलि चलि तानेर चुम्छ फूल,
वरिपरि घुमि घुमि छानेर चुम्छ फूल
प्रकृतिको भाव जानि सहेको हो फुलले
सिरेटोले मरि मरि हानेर चुम्छ फूल
चिसो वायु गडि गडि बानेर चुम्छ फूल ।

✍️ अच्युत घिमिरे-भुटान 🇧🇹

पञ्चाङ्ग १२

कलम पनि जानेर चलाउनु पर्छ
सबको कुरा मानेर चलाउनु पर्छ
विधाको विधि पुर्याएर लौ महोदय
निति चरित्र छानेर चलाउनु पर्छ
आफु सिकारु ठानेर चलाउनु पर्छ ।

रतन बिष्ट डडेल्धुरा

पञ्चाङ्ग १३

भाेट हाल्न जानेर के गर्नु
नेता राम्रो ठानेर के गर्नु
नाेटकाे बिटाेले राज गर्छ
मान्य मत धानेर के गर्नु
झाेले गीत गाएर के गर्नु ।

स्त्रीरत्न नै हाे भनी जानेर ल्याऊ
रानीसरी नै तिनी ठानेर ल्याऊ
स्वामी असुरकाे म स्वर्ग विजेता
जाँदिन भनेपछि तानेर ल्याऊ
छली रहेछ भने मारेर ल्याऊ ।

अगाडि सर्दै बाण हानेर गर्ज्याे
बुरुक्क उफ्री आङ तानेर गर्ज्याे
दुर्गा भवानीकाे राैद्र रुप देख्दा
काल नै आयाे भनी ठानेर गर्ज्याे
शक्तिकाे सामु शीर झारेर गर्ज्याे ।

टीकाराम जोशी ।

पञ्चाङ्ग १४

कपडा किन्दा खेरि छानेर लिनु पर्छ
बलियाे कत्तिकाे छ जानेर लिनु पर्छ
काेही काेही कडाकाे रङ्ग धाेएर जाने
विचार गर्दै ठिक ठानेर लिनु पर्छ
अझ बलियाे हेर्न तानेर लिनु पर्छ

दाल मीठाे जिम्बुले झानेर हुने हाे
कविता राम्राे लेख्न जानेर हुने हाे
याे सबै देखिन त्यस्तै गुण चाहिन्छ
गाेरू जाेत्ने बेलामा हानेर हुने हाे
पीठाे सफा चाल्लाेमा छानेर हुने हाे

नवराज भट्ट
महेन्द्रनगर, कञ्चनपुर


सम्बन्धित शीर्षकहरु

बतास आइ सक्यो मनमा कुन्नि के भयो संसार कै राम्री हजुरको सम्झना आयो भेट हुन्छ हाम्रो आशा मनमा छ यी…

बालकृष्ण घिमिरे , काभ्रे - बा र बाका बा (हजुरबा)हरु गरिव थिए । बिहान खाए बेलुका के खाउँ भन्ने चिन्ता…

विश्वको सबैभन्दा ठुलो लोकतान्त्रिक देश भारतमा नयाँ सरकार चुन्न आज शुक्रबारबाट आम चुनाव हुँदैछ । लोकसभाको ५ सय ४३ सिटका…

प्रतिकृयाहरू
...