Friday 19th April 2024

पञ्चाङ्ग चित्रपट, भाग – २६


पञ्चाङ्ग चित्रपट
=========
पञ्चाङ्ग चित्रपट : भाग: २६
पञ्चाङ्ग सङ्ख्या : कम्तिमा एउटा
मिति: २०७९/०४/२६

प्रशिक्षक :
———–
रामराजा के.सी.
नारायण प्रसाद निरौला

चित्र सङ्कलक
———————–
सविता के.सी.

समायोजक
—————–
👉️ सविता के.सी.

आदरणीय पञ्चाङ्गका अनुरागी एवम् पञ्चाङ्ग स्रष्टाज्यूहरू हार्दिक नमस्कार ।

हामी साप्ताहिक चित्रपट पञ्चाङ्ग लेखनको छब्बीससौँ शृङ्खलामा छौँ । यस शृङ्खलामा दिइएको चित्र अनुसारको बिम्बात्मक तथा गहन र मौलिक भाव झल्किने आफ्नो मनले देखेको पञ्चाङ्ग आफ्नो नाम र ठेगाना सहित कमेन्ट बक्समा लेख्नु हुन अनुरोध गरिएकोमा व्यस्त समयको वावजुद पनि सञ्चाङ्ग लेखि पठाउनु हुने सर्जक/स्रष्टा सबैमा हार्दिक धन्यवाद व्यक्त गर्दछाैं ।

नोट : संयोजन गर्न सहज हुने भएकोले कमेन्ट बक्समा नाम र ठेगाना सहित लेखिएका पञ्चाङ्ग मात्र समायोजन गरिने जानकारी गराइन्छ ।

पञ्चाङ्ग चित्रपट
=========

पञ्चाङ्ग १

मन जित्न राति दिउँसो साथीहरू कुरा चलाउँछन्
फकाउन धागो सिन्दुर पोते टीका चुरा चलाउँछन्
कसरी पुगिन्छ यस्ता मान्छेको सङ्गतले गन्तव्यमा
निडर मान्छे लाज हुन्न शक्ति बुद्धि पूरा चलाउँछन्
स्वार्थ पूरा गरेर पछिल्तिरबाट छुरा चलाउँछन् ।

सविता के.सी, काठमाडौँ ।

पञ्चाङ्ग २

मनमा अनेकौँ कुरा चलाउँछौ तिमी
प्रिय फूल दिई सुरा चलाउँछौ तिमी
भूल भुलैया कहानी सुनाउँदै हेर
अनेक षड्यन्त्र पुरा चलाउँछौ तिमी
स्वार्थ पूरा भए छुरा चलाउँछौ तिमी ।

सरस्वती श्रेष्ठ इटहरी

पञ्चाङ्ग ३
~~~~~~~~~~~~~~
अघिल्तिर गुलाबको फूल पछिल्तिर छुरा बोक्छन्
मुखेञ्जेली चिप्लो घस्दै वारी पारी खुबै कुरा बोक्छन्
देख्दा सुन्दर हृदय दुष्ट मान्छे चिन्न गाह्रो भयो
झुक्याएर माया गरे झैँ एकअर्कामा पुरा बोक्छन्
साँचो सत्य माया गरे भने भविष्यमा भुरा बोक्छन्
~~~~~~~~~~~~~~~
गुणनिधि घिमिरे दमक झापा

पञ्चाङ्ग ४

तिमीलाई मन पराएर आएँ
सपनामा आफै कराएर आएँ
फूल उपहार दिनलाई आज
अचानक फेरि डराएर आएँ ‌
प्रेम सागरमा हराएर आएँ ।

– आर्त अकुलीन, कैलाली

पञ्चाङ्ग ५

यता पठाउने त आखिर, सुरा न हो
त्यो फूल त मात्रै देखाउने, कुरा न हो
स्वार्थ सिद्ध हुनुपर्छ, केही बेर मा नै
नारी निमोठेर फुटाउने, यो चुरा न हो
मायाको बदलामा दिने त, छुरा न हो ?
**
चिरञ्जीवी ढकाल
नेपालगन्ज -२०
राँझा एयरपोर्ट बाँके

पञ्चाङ्ग ६

हेर्दामा जे देखिन्छ वास्तवमा त्यो असत्य कुरा हुनसक्छ
पानीजस्तो सङ्लो देखिए पनि गिलासमा सुरा हुनसक्छ
सजिलै कसैको पनि विश्वास गरिहाल्नु हुँदैन कहिल्यै,
गरेमा उसको मनोबल बढ्छ अभिष्ट पूरा हुनसक्छ
अक्सर मधुर बोली बोल्नेकै बगलीमा छुरा हुनसक्छ ।
✍️
वसन्त अनुभव
घोराही, दाङ

पञ्चाङ्ग ७

चोखो माया भित्र हुन्छ बाहिर देखाउने कुरा हुन्छ
देखाएर फसाउनलाई माकुरा जस्तै सुरा हुन्छ
तिमीलाई नै चोखो माया गर्छु, मन मुटु दिन्छु भन्दै
गुलाफ दिन्छ एक हातले अर्को हातमा छुरा हुन्छ
स्वार्थ लुट्छ अनि छाडि पो दिन्छ जब स्वार्थ पूरा हुन्छ !

पशपती राई – खोटाङ

पञ्चाङ्ग ८

थाहै न दिई दिल भित्र सुटुक्क पसेर गयौ
तिम्रै हूँ म भन्दै दुई चार दिन बसेर गयौ
तिमीविना बाँच्दिन भनी बाचा कसम खाएर
मुटु पोल्ने मन्द बीस पिलायौ र डसेर गयौ
देखायौ झुट्टो माया पिठमा छुरा धसेर गयौ

चेतना पोखरेल, मोरङ ।

पञ्चाङ्ग ९

स्वच्छ मन भित्रको मैलो नुहाएर फाल्न खोजेर हुँदैन
चरित्र फाटेको छ भने वचनले टाल्न खोजेर हुँदैन
फूल दिन अघि सर्दिने, बिडम्बना छुराले काट्न तम्सिने
हितैषी भन्ने नबुझिकन जीवन थाल्न खोजेर हुँदैन
जीवनका लागि अविश्वासी पद नै चाल्न खोजेर हुँदैन ।

प्रेम थापा “मन ”

पञ्चाङ्ग १०

माया गर्छु तिमीलाई भनी कुरा अघि गर्छन्
मेरै त हौ तिमी भनी पोते चुरा अघि नार्छन्
देखावटी माया दिई अस्मीताको स्वार्थ लुटी
सङ्गै जिउने मर्ने वाचामा सुरा अघि सार्छन्
फूल देखाएर घाॅटीमानै छुरा अघि पार्छन् ।

सरस्वती श्रेष्ठ रूपन्देही बुट्वल ।

पञ्चाङ्ग ११

फूल जस्तै काेमल, मुलायम कुरा थियाे
थाहै थे`न पछाडि लुकाएको छुरा थियाे
सहजै कति विश्वासमा पग्लियाे मन याे
दिन्छु भन्ने सधैँ सिन्दुर, पाेते ,चुरा थियाे
पापीकाे दाउ मुटु बनाउने झुरा थियाे ।

रामराजा के. सी., दक्षिणकाली-३

पञ्चाङ्ग १२

पाउनलाई सबै थोक पाइन्छ यहाँ
बिग्रेको बेला पनि घर छाइन्छ यहाँ
अफसोस देखाउटी भ्रमजाल मात्रै
त्यो छुरा लुकाउँदै मन भइन्छ यहाँ
लोभले मानवता द्वार ताइन्छ यहाँ ।

Singer bishal
Kohalpur, banke

पञ्चाङ्ग १३

कसरी मप्रतिको त्यो माया मर्यो, छुरा लेर आको छु
बलपूर्वक फूल स्विकार्नु पर्यो, छुरा लेर आको छु
माया प्रितीको डोरो पनि रबर जस्तो तन्किदो रछ
अचानक दिल पनि अन्तै सर्यो, छुरा लेर आको छु
स्वच्छ वाचाबन्धन भुइँमा झर्यो, छुरा लेर आको छु।

अच्युत घिमिरे-भुटान

पञ्चाङ्ग १४

धन दिएर यो मन किन् नखोज है
विश्वास गर्छौ भने अर्को नरोज है
तिमीलाई पनि त होला नि उसलाई
जस्तै त्यसै बीच बाटोमा नछोड है
बरु मिलेर सम्बन्धमा खुसी जोड है

हेमराज महरा, रोल्पा नगरपालिका ५ रोल्पा, हाल केरला

पञ्चाङ्ग १५

मैले जस्तो विश्वास गरेको कुरा देखियो
नदेखिने गरी विश्वासमा छुरा देखियो
घात गर्नेहरूसित के लाग्दो रहेछ र
सम्पन्न सम्झन्थेँ नातामा टुहुरा निस्कियो
बिचल्लीको जीवन भयो बबुरा निस्कियो ।

निर्मला सुवेदी ।


सम्बन्धित शीर्षकहरु

रुसी सेनामा आबद्ध नेपालीको जीवनरक्षार्थ अभियानका तर्फबाट पीडितलाई क्षतिपूर्तिलगायतको माग राख्दै सिंहदरबारको दक्षिण गेटमा प्रदर्शनका क्रममा १२ जना पक्राउ परेका…

काठमाडौं महानगरपालिकाले महिलाहरुमा हुने स्तन क्यान्सर,पाठेघरको मुखको क्यान्सर तथा प्रजनन् अवस्थाको परीक्षण सुरु गरेको छ । पाठेघरको मुखको क्यान्सर तथा…

एसिसी प्रिमियर कप ट्वान्टी–२० क्रिकेटको सेमिफाइनल खेल नेपालले संयुक्त अरब इमिरेट्स (युएई)सँग खेल्ने भएको छ। ओमानमा जारी प्रिमियर कपमा नेपाल…

प्रतिकृयाहरू
...