Thursday 10th September 2026

अमेरिकाको टेक्सासमा एउटा लरीभित्र ५० जना आप्रवासीहरू मृत अबस्थामा भेटिए


अमेरिकाको टेक्सस राज्यमा बेवारिसे अवस्थामा रहेको एउटा लरीमा कम्तीमा ५० जनाको शव फेला परेको छ । टेक्सस राज्यस्थित सान एन्टोनियोको बाह्य भेगमा बेवारिसे अवस्थामा भेटिएको एउटा लरीमा ती शवहरू भेटिएका हुन् ।यसलाइ अमेरिकामा हुने मानव तस्करीसँग जोडिएको अनुमान गरिएको यो पछिल्लो सबैभन्दा खराब घटनाको रूपमा लिइएको छ । मर्नेहरू पानी पिउन नपाएर वा गर्मीले निसास्सिएर मरेका हुन यकिन भइसकेको छैन ।

सान एन्टोनियो अमेरिका-मेक्सिको सीमाभन्दा २५० किलोमिटर टाढा छ। मानवतस्करहरूले उक्त सहरलाई बाटोका रूपमा प्रयोग गर्दै आएका छन्। वैधानिक कागजपत्रबिनै अमेरिका प्रवेश गरिसकेका आप्रवासीहरूलाई तस्करहरूले दुर्गम भेगमा भेटेर उनीहरूलाई अन्यत्र लैजान लरी प्रयोग गर्छन्।

ह्वाइट हाउसले उक्त घटनालाई “भयानक र हृदयविदारक” भनेको छ।

टेक्ससका गभर्नर ग्रेग एबोटले सोमबार ट्विटरमार्फत् जो बाइडेनको सरकारले ल्याएको घातक खुला सीमा नीतिका कारण यो घटना घटेको आरोप लगाएका छन् ।

मेक्सिकोका राष्ट्रपति आन्द्रेस म्यानुअल लोपेज् अब्राडोरले उक्त घटना “तस्करी र त्यसको नियन्त्रणको कमीका कारण” भएको बताएका छन्। राष्ट्रपतिले “गरिबीको दुष्चक्रबाट निस्कने तीव्र चाहना”को परिणाम भनेका छन्। शव भेटिएकामध्ये २२ जना मेक्सिकोका नागरिक भएको पुष्टि गरिएसँगै राष्ट्रपतिको यस्तो प्रतिक्रिया आएको हो।

मृत्यु हुनेमा सातजना ग्वाटेमाला र दुईजना होन्डुरसका नागरिक भएको पुष्टि भएको छ। थप पीडितहरू कुन देशका थिए भनेर पत्ता लगाउने काम भइरहेको अधिकारीहरूले बताएका छन्।

उद्धारकार्यमा संलग्न एक अधिकारीका अनुसार चार बालबालिकासहित १६ जनालाई अस्पताल लगिएको छ। लरीमा जीवित फेला परेका व्यक्तिहरूको शरीर छुँदा तातो थियो। गर्मीका कारण उनीहरूलाई थकान र ‘हीट स्ट्रोक’ भएको थियो।

गैरकानुनी रूपमा अमेरिका छिर्ने आप्रवासीहरू मेक्सिकोको बाटो रोज्ने गरेका छन् । उनीहरू एजेन्टको सहारामा जोखिम मोल्दै अमेरिका छिर्ने गरेका छन् । यही विषयले अमेरिका र मेक्सिकोबीचको सम्बन्धसमेत चिसिने गरेको छ । यसअघि पनि सन् २०१७ मा पनि सान एन्टोनियोको वालमार्टमा एउटा ट्रकमा १० जनाको शव भेटिएको र सन् २००३ मा पनि सान एन्टोनियोकै दक्षिणी क्षेत्र स्वेल्टरिङमा १९ जना मृत फेला परेका थिए ।
-बीबीसीबाट


सम्बन्धित शीर्षकहरु

लगातार वर्षापछि आएको बाढी तथा पहिरोका कारण देशका विभिन्न राजमार्ग र सडकखण्ड प्रभावित भएका छन्। काठमाडौँको चन्द्रागिरि नगरपालिका–२ विस्पानी क्षेत्रमा…

बङ्गलादेशमा फैलिएको दादुराको (मिजल्स) प्रकोपका कारण हालसम्म १,००२ बालबालिकाको मृत्यु भएको छ। मार्चदेखि सुरु भएको यो प्रकोपमा १ लाख ८७…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध नोभेम्बरमा हुने मध्यावधि निर्वाचनपछि मात्र अन्त्य हुने बताएका छन्। उनले इरानले लामो समयसम्म युद्ध…

प्रतिकृयाहरू
...