Wednesday 14th October 2026

फिलिपिन्समा ‘मेघी’ आँधी पछिको बाढी पहिरोमा परि मर्नेको संख्या १६७ पुग्यो


फिलिपिन्समा गत आइतवार आएको समुद्री आँधी ‘मेघी’ले निम्त्याएको बाढी र पहिरोका कारण मृत्यु हुनेको सङ्ख्या १६७ पुगेको छ भने थप ११० जना अझै हराइरहेको र १९ लाख मानिसहरू आँधीबाट प्रभावित भएको राष्ट्रिय विपद् एजेन्सीले जनाएको छ। लेत्ते प्रदेशको बेबे सहर र वरपरका गाउँहरू बाढी र पहिरोका कारण सबैभन्दा बढी प्रभावित भएका छन्।

पिलार गाउँमा ८० प्रतिशत घरहरू बगेर समुद्रमा पुगेका छन्। दक्षिणी डाभाओ क्षेत्र, मिन्डानाओ र मध्य क्षेत्रको नेग्रोस ओरिएन्टल्स् प्रदेशमा पनि मानिसहरूको मृत्यु भएको एजेन्सीले जनाएको छ। स्थानीय भाषामा आगातो नामकरण गरिएको आँधी ६५ किलोमिटर प्रतिघण्टाको वेगमा आएको बताइएको छ। आँधीपछि टापु क्षेत्रमा रहेका मानिसहरू घर छोडेर केही उच्च भूभागमा बनाइएका आश्रयस्थलहरूमा पुगेका थिए।

फिलिपिन्सको कोस्ट गार्डले प्रकाशित गरेका तस्बिरहरूमा उद्धारकर्मीहरूले छातीसम्म डुबाउने पानी जमेका स्थानबाट स्ट्रेचरमा घाइतेहरूको उद्धार गरिरहेको छ भने पानीले भरिएका सडकमा उद्धारकर्मीहरूले डुङ्गाको सहारामा मानिसहरूको उद्धार गरेका छन् ।

फिलिपिन्सले वर्षमा औसत २० वटा आँधीहरू सामना गर्ने गरेको छ। आइतवारको आँधी यो वर्षको अहिलेसम्मकै ठूलो हो। गत वर्षको डिसेम्बरमा सुपर टाइफून राईले देशको दक्षिण पूर्वी द्विप क्षेत्रमा क्षति पुर्‍याएको थिए। उक्त आँधीका कारण ३७५ जनाको मृत्यु हुनुका साथै पाँच लाख जना प्रभावित भएका थिए।

-बीबीसी नेपालीबाट


सम्बन्धित शीर्षकहरु

श्रीलङ्काली आप्रवासी कामदार अनोजन सिवारासाको मृत्युदण्ड खारेज, रिहाइबारे भने अझै स्पष्टता छैन रियाद/कोलम्बो, १४ अक्टोबर। साउदी अरबको सर्वोच्च अदालतले फेसबुकमा…

भारतीय गृहमन्त्री अमित शाह र नेपाली गृहमन्त्री सुधन गुरुङबीच नयाँदिल्लीमा भेटवार्ता बिम्स्टेकको पहिलो गृहमन्त्रीस्तरीय बैठकमा नेपालको प्रतिनिधित्व गर्दै गुरुङको सहभागिता,…

नेपाल संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सन् २०२७–२०२९ कार्यकालका लागि सदस्यमा निर्वाचित भएको छ। न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा भएको निर्वाचनमा नेपालले…

प्रतिकृयाहरू
...