Wednesday 17th June 2026

पाकिस्तानमा प्रधानमन्त्री विरूद्धको अविश्वास प्रस्ताव पारित, खान पदमुक्त


पाकिस्तानी प्रधानमन्त्री इमरान खानविरुद्धको अविश्वास प्रस्ताव पारित भएसँगै प्रधानमन्त्री खान पदमुक्त भएका छन् । सर्वोच्च अदालतले सदर गरेको विपक्षीहरूद्वारा ल्याइएको अविश्वासको प्रस्तावमाथि आइतवार मध्यरातपछि मतदान गरिएको थियो। पाकिस्तानको संसद्ले सोमवार नयाँ प्रधानमन्त्री चयन गर्नेछ।

पाकिस्तानको संसद्‌मा भएको मतदानमा कुल ३४२ मध्ये १७४ मत प्रधानमन्त्री खानविरुद्ध संसदमा पेस भएको अविश्वास प्रस्तावको पक्षमा खसेपछि अविश्वासको प्रस्ताव पारित भएको हो भने पाकिस्तानको इतिहासमै पहिलोपटक प्रधानमन्त्री खान अविश्वासको प्रस्ताव पारित भएर पदमुक्त भएका हुन् । यसअघि सन् २००६ मा सौकात अजिज र १९८९ मा बेनेजर भुट्टोले प्रस्तावको सामना गरेका थिए । उनीहरूविरुद्ध परेको अविश्वासको प्रस्तावको विपक्षमा बढी मत खसेपछि दुवैको पद बँचेको थियो ।

मतदान सुरु हुनुभन्दा केही मिनेटअघि प्रधानमन्त्री खानका समर्थक रहेका संसद्को तल्लो सदनका सभामुखले पदबाट राजीनामा दिएका थिए भने खानको दल पीटीआईका सदस्यहरूले प्रधानमन्त्रीलाई अन्तर्राष्ट्रिय षडयन्त्रको सिकार बनाइएको भन्दै संसद् भवन छाडेका थिए। खानले आफूले विपक्षीहरूको सरकारलाई मान्यता नदिने बताउँदै प्रमाण नदेखाई आफूलाई पदबाट हटाउन अमेरिकाको नेतृत्वमा षडयन्त्र भएको दाबी गरेका छन्। पाकिस्तानी राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान भ्रष्टाचारविरुद्ध लड्ने र अर्थतन्त्रका समस्या सम्बोधन गर्ने सहितका प्रतिबद्धता जनाउँदै सन् २०१८ मा प्रधानमन्त्री चुनिएका थिए।

मार्चको अन्त्यमा पार्टी परित्यागका शृङ्खला सुरु भएपछि उनले बहुमत गुमाएका थिए र आफ्नो राजनीतिक भविष्य जोगाउन सङ्घर्षरत थिए। प्रधानमन्त्री खानले बारम्बार विपक्षी दलहरूले विदेशी शक्तिसँग मिलेर काम गरिरहेको बताएका छन्। उनले रुस र चीनविरुद्ध वासिङ्टनसँग नउभिएका कारण आफू अमेरिकी नेतृत्वको षडयन्त्रको सिकार बनाइएको दाबी गर्दै आएका छन्।

उनीहरूले उक्त निर्णय खारेजीको माग गर्दै सर्वोच्च अदालतमा निवेदन दिएका थिए। बिहीबार पाकिस्तानको सर्वोच्च अदालतले मतदान प्रक्रिया रोक्ने खानको निर्णय असंवैधानिक रहेको ठहर गर्दै अविश्वासको प्रस्तावमाथिको मतदान अघि बढाइनुपर्ने फैसला गरेपछि अविश्वासको प्रस्तावलाइ बाटो खुलेको थियो ।


सम्बन्धित शीर्षकहरु

इरानी अधिकारीहरूले अमेरिका–इरान शान्ति सम्झौतालाई अमेरिका र इजरायलमाथिको रणनीतिक तथा राजनीतिक विजयका रूपमा चित्रण गरेका छन्। तेहरानको दाबी अनुसार महिनौंसम्म…

विगत साढे तीन महिनाभन्दा बढी समयदेखि मध्यपूर्वलाई अशान्त बनाउँदै आएको अमेरिका र इरानबीचको युद्ध अन्त्यका लागि दुवै देश एक ‘शान्ति…

बेरुत। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र रक्षामन्त्री इजरायल काट्जले लेबनानको राजधानी बेरुतको दक्षिणी उपनगरस्थित दहियाह जिल्लाभित्र रहेको हिजबुल्लाहको नयाँ पहिचान…

प्रतिकृयाहरू
...