Wednesday 13th May 2026

नेपाल टी-२० विश्वकपमा छनोट हुन असफल


तीतोपाटी डटकम-आइसीसी टि-२० विश्वकप छनोट हुनबाट नेपाल चुकेको छ । मंगलबार भएको विश्वकप छनोट ‘ए’को सेमिफाइनल खेलमा युएईसँग ६८ रनले पराजित भएसँगै नेपाल विश्वकप छनोटबाट बाहिरिएको हो ।

युएईले प्रस्तुत गरेको १७६ रनको विशाल विजयी लक्ष्य पछ्याउनेक्रममा निकै खराब सुरुवात गरेको नेपाल १८.४ ओभरमा अलआउट हुँदै १०७ रनमै समेटिएको हो । युएईका बलिङसामू नेपाली खेलाडी क्रिजमा जम्न सकेनन् । नेपालका दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ३८ रन बनाउँदा ज्ञानेन्द्र मल्ल २० रनमा पेभेलियन फर्किए ।

नेपालले तेस्रो ओभरमै तीन विकेट गुमाउँदै संकटमा पुगेको थियो । पहिलो ओभरको चौथो बलमा आसिफ शेख शून्यमा एलबीडब्लूमा आउट हुँदा अर्को बलमा लोकेश बम ठूलो सट खेल्ने धुनमा गोल्डेन डक आउट क्याच भए । नेपाली टिमको आश बोकेका ओपनर कुश भुर्तेसमेत ७ रनमा आउट भए । युएईका कप्तान अहमद राजा एक्लैले ५ विकेट लिए । त्यस्तै, जुनैद सिद्दिकले ३ विकेट लिँदा जाहुर खान र रोहन मुस्तफाले समान १/१ विकेट लिए ।

त्यसअघि ओमान क्रिकेट एकेडेमी ग्राउन्ड–१ मा मंगलबार भएको पहिलो सेमिफाइनल खेलमा टस जितेर पहिला ब्याटिङ रोजेको युएईले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १७५ रन बनाएको थियाे । युएईका लागि ओपनर मुहम्मद वासिमले सर्वाधिक ७० रन जोडे । त्यस्तै, विष्फोटक ब्याटिङ गरेका १९ वर्षिय युवा विकेटकिपर वृत्य अरविन्द २३ बलमा ४६ रन बनाउँदै आउट भए ।

मुहम्मद उष्मानले १७ तथा जवार फरिदले ११ रन जोडे । खेलको सुरुवातमा उच्च लयमा रहेका ओपनर चिराग सुरीलाई ४ रनमा बोल्ड आउट गर्दै नेपालले महत्वपूर्ण सफलता लिएपनि त्यसपछि भने खासै राम्रो प्रदर्शन गर्न सकेको थिएन । नेपालका जितेन्द्र मुखिया र अविनाश बोहराले समान ३-३ विकेट लिँदा कप्तान सन्दीप लामिछानेले १ विकेट लिए ।

योसँगै नेपालले दोस्रो पटक विश्वकपमा पुग्ने अवसर गुमाएको छ । यसअघि नेपाल पहिलो पटक सन् २०१४ मा बंगलादेशमा भएको विश्वकपमा छनोट भएको खबर काठमान्डु पाटीले लेखेको छ ।


सम्बन्धित शीर्षकहरु

नेपाल पत्रकार महासंघ कुवेतले रक्तदान कार्यक्रम गरी १७औँ स्थापना दिवस मनाउने भएको छ । महासंघ वैदेशिक शाखा कुवेतले आफ्नो १७औँ…

कुवेतमा विगत एक दशकदेखि परोपकारी पत्रकारितासँगै स्वदेश तथा विदेशमा विभिन्न सामाजिक कार्य गर्दै आएको Nirem Group ले Metro Medical Group…

इजरायलको संसद (Knesset) ले सन् २०२३ अक्टोबर ७ मा भएको हमास नेतृत्वको आक्रमणमा संलग्न पक्राउ परेका व्यक्तिहरूलाई विशेष सैन्य अदालतमार्फत…

प्रतिकृयाहरू
...